close

यसरी हेर्नुहोस् लिंक्डइनमा अरुसँग जोडिन पठाएको इन्भिटेसन

टेकपाना टेकपाना

असार २८, २०८० १६:५३

यसरी हेर्नुहोस् लिंक्डइनमा अरुसँग जोडिन पठाएको इन्भिटेसन

 

काठमाडौं । सामाजिक सञ्जालमध्ये लिंक्डइन अलि भिन्न छ । यसमा जागिर खोज्न, प्रोफेसनल नेटवर्क बढाउन, आलेख लेख्न, नयाँ सीप सिक्न मिल्छ । सामाजिक सञ्जाल चलाउनुको एउटा कारण, हामी अरुसँग जोडिनु पनि एक हो । फेसबुकमा साथी बनाउन ‘फ्रेन्ड रिक्वेस्ट’ पठाउनुपर्छ । लिंक्डइनको हकमा भने अरुसँग जोडिन तपाईंले इन्भिटेसन (invitation) पठाउनुपर्ने हुन्छ ।

यसरी पठाएका इन्भिटेसन अर्को व्यक्तिले स्वीकारे मात्र तपाईंहरू लिंक्डइनमा जोडिनु हुन्छ । तर इन्भिटेसन पठाउनु भएपनि अरुले स्वीकार (एसेप्ट) नगर्न सक्छन् । कुनै बेला झुक्किएर पनि इन्भिटेसन गएको हुनसक्छ । यसरी तपाईंको अकाउन्टबाट अन्य लिंक्डइन प्रयोगकर्तालाई गएको इन्भिटेसनको सूची लामै हुन सक्छ, जुन तपाईंलाई यादै नहुन सक्छ । आज तपाईंको अकाउन्टबाट गएका, तर एसेप्ट नभएका इन्भिटेसनहरू कसरी हेर्ने भन्ने बारे जानकारी दिँदै छौं:

-लिंक्डइनमा लगइन गर्नुहोस् । विभिन्न अप्सन हुने माथिको मध्य भागमा ‘माई नेटवर्क’ हुन्छ । त्यसमा क्लिक गर्नुहोस् ।

 

-यस नयाँ पेजमा तपाईंलाई आएका विभिन्न इन्भिटेसनहरूको सूचि देखिन्छ । ती इन्भिटेसन पठाउनेहरूसँग जोडिन ‘एसेप्ट’मा क्लिक गर्नुहोस् । आफूले पठाएको इन्भिटेसन हेर्न भने ‘म्यानेज’मा क्लिक गर्नुहोस् ।

 

 

 

-त्यहाँ ‘म्यानेज इन्भिटेसन्स’ सेक्सनभित्र सेन्ट (sent) भन्ने विकल्प छ । त्यसमा क्लिक गर्नुहोस् ।

-त्यहाँ तपाईंले अहिलेसम्म पठाउनु भएको सबै इन्भिटेसनहरू देखिन्छन् । यदि तीमध्ये कुनै झुक्किएर गएका छन्, अथवा पठाइसकेर मन परेन भने त्यसलाई ‘रद्द’ गर्न सक्नुहुन्छ । यसका लागि बायाँ भागको ‘विथड्र’ (withdraw) छ, त्यसमा क्लिक गर्नुहोस् । यति गर्नु भएपछि पठाइसकेको जुनै इन्भिटेसन पनि रद्द हुन्छ ।

 

माथिको प्रक्रियाबाट लिंक्डइनमा विभिन्न व्यक्तिसँग जोडिन तपाईंले पठाउनु भएको इन्भिटेसनको सूचि देखिन्छ । कुनै अर्को लिंक्डइन प्रयोगकर्तासँग जोडिन तपाईंले उक्त व्यक्तको प्रोफाइल तस्वीरको ठीकमुनि हुने ‘कनेक्सन’ (connection) मा क्लिक गर्नुपर्ने हुन्छ ।

तर यस सामाजिक सञ्जालमा यसरी इन्भिटेसन पठाउन प्रति हप्ता १०० सीमा तोकिएको छ । अर्थात् तपाईंले एक हप्तामा १०० प्रयोगकर्तासँग मात्र जोडिन आग्रह गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असार २८, २०८० १६:५३