close

नेपालमा फेसबुक, गुगल, टिकटक लगायत कम्पनीले पहिलो पटक तिरे कर, ९ करोड रुपैयाँ सङ्कलन

टेकपाना टेकपाना

असार २८, २०८० १९:२०

नेपालमा फेसबुक, गुगल, टिकटक लगायत कम्पनीले पहिलो पटक तिरे कर, ९ करोड रुपैयाँ सङ्कलन

 

काठमाडौं । गुगल, लिङ्क्डइन, फेसबुक, टिकटकसहित नौ ओटा डिजिटल सेवाप्रदायक कम्पनीले नेपालमा पहिलो पटक कर तिरेका छन् । नेपालमा कार्यालय नभएका, तर डिजिटल माध्यमबाट सेवा दिँदै आएका यी कम्पनीबाट नौ करोड रूपैयाँ बढी राजश्व सङ्कलन भएको आन्तरिक राजस्व विभागले जनाएकाे छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार यी कम्पनीले नेपाली उपभाेक्ताबाट उठाएको शुल्कवापत १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) र दुई प्रतिशत डिजिटल सेवा कर (डीएसटी) बुझाएका हुन् । नेपालमा सेवा दिएका विदेशी कम्पनीलाई करको दायरामा ल्याउने कानूनी व्यवस्थाले पहिलाे पटक राजस्व संकलन भएकाे उनले बताए ।

“पहिलो कुरा हामीले कानूनी व्यवस्था गर्‍यौं । त्यो अनुसारको कार्यविधि निर्धारण गर्‍यौं,” महानिर्देशक मैनालीले टेकपानासँग भने, “नेपालमा सञ्चालन हुँदै आएका विदेशी कम्पनीसँग अन्तर्क्रिया र छलफल गर्दै आयौं । त्यसबाहेक छुट्टै डलर अकाउन्ट पनि खोल्यौं । उनीहरूलाई मेलबाट पत्राचार गर्‍यौं । कर नबुझाएको खण्डमा जरिवाना तिराउने भनेपछि उनीहरू तयार भए  ।”

नेपालमा कार्यालय दर्ता नभएपनि अनलाइन प्यानबाटै कर तिर्ने प्रणालीले यी कम्पनीहरू कर कार्यालयमा दर्ता भएकाे र भविष्यमा थप राजस्व उठ्ने उनले बताए ।

आर्थिक वर्ष २०७९/८० काे आर्थिक ऐनमा सरकारले नेपालमा कारोबार गर्ने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । यसअन्तर्गत २०८० असार २५ सम्म नाै कराेड बढी रकम यस्ता कम्पनीबाट संकलन भएकाे हाे ।

पछिल्लो अध्यावधिक: असार २८, २०८० १९:२०