close

एआई च्याटबटले काम चल्ने भएपछि ई-कमर्स कम्पनीबाट निकालिए ९० प्रतिशत कर्मचारी

टेकपाना टेकपाना

असार ३०, २०८० १०:५९

एआई च्याटबटले काम चल्ने भएपछि ई-कमर्स कम्पनीबाट निकालिए ९० प्रतिशत कर्मचारी

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सले नै राम्रो कस्टमर केयर सपोर्ट दिने भएपछि एक भारतीय स्टार्टअपले ९० प्रतिशत कर्मचारी निकालेको छ । भारतको ब्याङ्लोरस्थित 'दुकान' नामको ई-कमर्स कम्पनीले आफ्नो सिस्टममा एआई च्याटबट इन्ट्रिगेट गरेपछि कस्टमर केयर सपोर्ट टिमका लागि राखिएका कर्मचारी निकालेको हो ।

एक ट्वीट गर्दै कम्पनीका सीईओ सुमित शाहले च्याटबटले गर्दा कस्टमर सपोर्टको काम पनि प्रभावकारी भएको र खर्च पनि ८५ प्रतिशतले घटेको भन्दै कर्मचारी कटौती गरेको जानकारी दिएका छन् । शाहका अनुसार यसअघि कस्टमर सपोर्टमा कर्मचारी राख्दा औसतमा एक मिनेट ४४ सेकेन्डमा ग्राहकले रेस्पोन्स पाउँथे ।

तर, एआई च्याटबटका कारण क्षणभरमै रेस्पोस पाइरहेका छन् । सो कम्पनीमा यसअघि ग्राहकले कुनै पनि जिज्ञासा राख्दा त्यसको समाधान गर्न औसतमा दुई घण्टा १३ मिनेट लाग्थ्यो । एआई च्याटबटका कारण ग्राहकको जिज्ञासा र समस्याको समाधान औसतमा तीन मिनेट १२ सेकेन्डमै हुने गरेको शाहको भनाइ छ ।

“जागिरबाट निकाल्ने काम त्यति सजिलो होइन, तर आवश्यक थियो,” ट्वीटमा शाहले लेखेका छन् । सीएनएनसँग कुरा गर्दै शाहले कस्टमर सपोर्टमा राखिएका २३ जना कर्मचारी निकालेकाे पुष्टि गरेका छन् । कस्टमर सपोर्टमा कर्मचारीको सङ्ख्या घटाए पनि उनले कम्पनीमा सेल्स, मार्केटिङ, इन्जिनियरिङ लगायतका पदका लागि जागिर खुलाएका छन् । 

“भविष्यमा मानिस र एआई सँगसँगै आफू उत्कृष्ट भएका कुरामा काम गर्छन्,” सीएनएनसँग कुरा गर्दै शाहले भने, “म आफैं पनि ग्राफिक्स डिजाइनिङ, इलुस्ट्रेसन र डेटा साइनसमा एआईका अवसरहरू के के छन् भन्ने कुराको अन्वेषण गरिरहेको छु ।”

एआईका कारण लाखौंको जागिर धरापमा परेको भन्दै पछिल्लो समय विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन् ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८० १०:५९