close

च्याटजीपीटी निर्माता ओपनएआई र समाचार संस्था एपीबीच सम्झौता

टेकपाना टेकपाना

असार ३०, २०८० २१:१६

च्याटजीपीटी निर्माता ओपनएआई र समाचार संस्था एपीबीच सम्झौता

काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी)सँग ओपनएआईले एक सम्झौता गरेको छ । ओपनएआईले एपीका समाचारहरूमा आफ्नो एआई मोडेललाई प्रशिक्षित (ट्रेन) गर्न उक्त सम्झौता गरेको हो ।

योसँगै ओपनएआईले सन् १९८५ देखि हालसम्म एपीले तयार पारेका समाचारहरूमा पहुँच पाउने भएको छ । कम्पनीले ती समाचारहरूलाई लिएर आगामी दुई वर्ष ट्रेन गर्ने भएको हो । समाचार संस्था एपीले भने ओपनएआईको प्रविधि र उत्पादनमा प्रयोग गर्ने बताइएको छ ।

विभिन्न प्रयोजनका लागि एपीले धेरै पहिलेदेखि नै एआई प्रयोग गर्न सुरु गरेको थियो । कम्पनीले आफ्नो आम्दानीको रिपोर्ट बनाउन सन् २०१४ मा नै एआईको सहयोग लिएको थियो ।

साथै स्पेनिश भाषामा प्रकाशित हुने समाचारबारे जानकारी दिन र सार्वजनिक सुरक्षा सम्बन्धी घटनाहरूको तथ्याङ्क राख्न एआई प्रयोग गर्ने घोषणासमेत एपीले यस वर्षको सुरुमा गरेको थियो । तर यो सम्झौतापछि समाचार तयार पार्न भने एआई प्रयोग नगर्ने एपीले स्पष्ट पारेको छ ।

यता ओपनएआईले भने आफ्नो मोडलहरूलाई ट्रेन गर्न सटरस्टक, बजफीड, माइक्रोसफ्ट लगायत अन्य कम्पनीहरूसँग सहकार्य गर्नेबारे सम्झौता गरिसकेको छ । यी दुई कम्पनीबीचको सम्झौताबारे थप जानकारी भने बाहिरिएको छैन ।

पछिल्लो अध्यावधिक: असार ३०, २०८० २१:१६