तीन दिने ईभी एक्स्पो हुँदै, १५० बढी विद्युतीय सवारी तथा सामग्री प्रदर्शनीमा राखिने
साउन २, २०८० १०:५३
काठमाडौं । आगामी महिनाको तेस्रो हप्तादेखि काठमाडौं भृकुटिमण्डपमा ईभी एक्स्पो हुने भएको छ ।
इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरर्स एन्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपाल (EVMIAN), मिडिया स्पेस सोलुसनस तथा फ्युचरएक ट्रेड फेर एन्ड इभेन्ट्स को संयुक्त आयोजना भाद्र १५ गतेदखि तीन दिनसम्म ईभी एक्सपो हुने भएको हो ।
विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले भाद्र १७ गतेसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी कम्पनी, १५० भन्दा बढी ब्रान्डका गाडी तथा विद्युतीय सामग्रीहरू प्रदर्शनीका लागि राखिने बताइएको छ ।
एक्स्पोमा विशेष गरी विद्युतीय कार, विद्युतीय स्कुटर, मोटरसाइकल, साइकल, विद्युतीय बस, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन प्रदर्शनीमा राखिनेछ ।
साथै ब्याट्री तथा अन्य विद्युतीय सामग्रीहरू, अटोकम्पोनेण्ट, टायर, ब्याट्री, ग्यारेज इक्यूपमेण्टस लगायत पनि प्रदर्शनका लागि राखिनेछन् । त्यसबाहेक पनि बैंक तथा इन्सुरेन्स कम्पनीहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ ।
ईभी एक्स्पोमा व्यापार तथा वित्तीय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता समेत सहभागी हुनेछन् । यो एक्स्पोले सबैका लागि साझा चौतारीको भूमिका खेल्ने आयोजकले बताए ।
गत आर्थिक वर्षको तथ्यांक अनुसार आयातका हिसाबले कार जिप भ्यानको शीर्षकमा विद्युतीय सवारीको हिस्सा झन्डै ४० प्रतिशत रहेको छ ।
पछिल्लो समय प्रायः ग्राहकको रोजाइ विद्युतीय सवारी भएकाले आर्थिक मन्दीको अवस्थामा पनि विद्युतीय सवारीहरू राम्रो सङ्ख्यामा बिक्री भइरकेको ईभीमियानका अध्यक्ष तथा एक्स्पोका संयोजक श्याम सुन्दर सापकोटा बताउँछन् ।
यसले गर्दा पनि यो एक्स्पोले विद्युतीय सवारी प्रबर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।
पछिल्लो अध्यावधिक: साउन २, २०८० १०:५३
