close

नेपालमा आज डिजिटल हेल्थ दिवस मनाइँदै

टेकपाना टेकपाना

साउन ४, २०८० १५:५५

नेपालमा आज डिजिटल हेल्थ दिवस मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रम गरी आज राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७६ साउन ४ गते ई-हेल्थ मार्गचित्र जारी गरेपछि यो दिनलाई डिजिटल स्वास्थ्य दिवसका रूपमा मनाउन थालिएको हाे ।

यो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधि अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

एक शुभकामना सन्देश दिँदै उनले डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमतावृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएको उल्लेख गरे ।

स्वास्थ्य सेवामा विशेषज्ञ जनशक्तिको अभाव, स्वास्थ्य सेवा लिँदा लाग्ने समय, खर्च र श्रम न्यूनीकरण जस्ता विषयलाई समेत प्रविधिमा आधारित स्वास्थ्य सेवाले सम्बोधन गर्ने उनको विश्वास छ ।

“गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँँच पुर्‍याउने अभिभारा हामीले लिएका छौँ । र यसलाई पूरा गर्न सबै किसिमको उपाय र प्रविधिको अवलम्बन गर्ने नीतिको व्यवस्था छ”, उनले भने ।

डिजिटल हेल्थको कार्यान्वयन बहुपक्षीय सहकार्य र प्रयासबाट मात्र सम्भव हुने भएकाले यसको नियमन, विकास र विस्तारमा सूचना प्रविधिको क्षेत्रमा कार्य गर्ने सरकारी निकाय, साझेदार संस्था, विज्ञ समुदाय, शैक्षिक संस्था र पत्रकारिता क्षेत्रबीच सहकार्य हुनुपर्ने उनकाे भनाइ छ ।

स्वास्थ्य सूचना प्रणाली सुदृढीकरण, टेलिमेडिसिन र डिजिटल प्रविधियुक्त अन्य स्वास्थ्य सेवा, आम सञ्चार र स्वास्थ्य शिक्षा, आपतकालीन स्वास्थ्य, मानव स्रोत व्यवस्थापन, स्वास्थ्य बीमा जस्ता क्षेत्रलाई प्रारम्भिक रुपमा कार्य सूची बनाई क्रमश: सूचना प्रविधिको दायरा बढाउन मन्त्री बस्नेतले आग्रह गरे। 

पछिल्लो अध्यावधिक: साउन ४, २०८० १६:४