close

सामूहिक बलात्कार गरी गाउँ डुलाएको भिडिओ भाइरल, हटाउन सामाजिक सञ्जालमाथि भारतको दबाब

टेकपाना टेकपाना

साउन ४, २०८० १८:५

सामूहिक बलात्कार गरी गाउँ डुलाएको भिडिओ भाइरल, हटाउन सामाजिक सञ्जालमाथि भारतको दबाब

काठमाडौं । भारतको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाइरहेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी आलोचना भएको छ । साढे दुई महिनाअघि महिलालाई यातना दिएर निर्वस्त्र बनाई सडकमा डुलाएको तथा दुर्व्यवहार गरेको भिडिओ हिजाे बुधबारदेखि ट्वीटर तथा विभिन्न सामाजिक सञ्जालमा फैलिएको छ ।

जातीय हिंसाको चपेटामा परेको मणिपुरको यो भिडिओ बाहिरिएसँगै सडकदेखि सामाजिक सञ्जालमा मानिसहरूले आक्रोश पोखिरहेका छन् । भारतका केन्द्र र प्रदेश सांसदहरूले पनि यो क्रुर घटनाको निन्दा गर्दै तत्काल छानबिन गरी पीडक समूहलाई सजाय दिन माग गरेका छन् ।

यसैबीच केन्द्र सरकारले बिहीबार ट्वीटर र अन्य सामाजिक सञ्जालहरूलाई महिलालाई नाङ्गै डुलाएकाे भिडिओ हटाउन निर्देशन दिएको छ । यो घटनाबारे अनुसन्धान भइरहेकाले भारतीय कानून पालना गरी सामाजिक सञ्जालबाट त्यस्ता सामग्री हटाउन सरकारले ती प्लेटफर्महरूलाई निर्देशन दिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना मे ४ मा मणिपुरको थौबल जिल्लामा भएको थियो, जहाँ इसाई धर्म मान्ने कुकी समुदायका तीन महिलालाई नाङ्गै पारी भीडमा हिँडाइएको थियो । भिडिओमा भने अर्की पीडित महिला देखिएकी छैनन् ।

तीनमध्ये अन्दाजी २० वर्षीया महिलालाई भीडमै सामूहिक बलात्कार भएको बताइएकाे छ । दिदीमाथि बलात्कार हुँदा बचाउन गएका उनका भाइलाई भीडले मारेको थियो ।

घटनापछि पीडित महिलाहरूले प्रहरीकहाँ जाहेरी दिएपनि अझै पीडकहरु पनि पक्राउ परेका छैनन् ।

गत अप्रिल १९ मा मणिपुरको उच्च अदालतले बहुसंख्यक मेइती समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्ने विषयमा विचार गर्न राज्य सरकारलाई आदेश दिएको थियो । तर त्यहाँका आदिवासीहरूले हिन्दुबहुल मेइती समुदायलाई अनुसूचित जनजातिको श्रेणीमा राख्न नहुने माग गर्दै आएका छन् । 

मणिपुरमा चलेकाे जातीय दंगामा अहिलेसम्म १२० भन्दा बढीकाे ज्यान गइसकेकाे छ भने अपहरण, सामूहिक बलात्कारजस्ता घटना बढेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ४, २०८० १८:४०