close

चन्द्रमामा पहिलो मानव पाइला, कसरी भयो सम्भव ?

टेकपाना टेकपाना

साउन ५, २०८० ८:५२

चन्द्रमामा पहिलो मानव पाइला, कसरी भयो सम्भव ?

 

काठमाडौं । आज ५४ वर्ष अगाडि पुगौं । सन् १९६१ तिर । त्यसबेला संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोन एफ केनेडी थिए । उनको एउटा सपना चन्द्रमामा मानिसलाई पठाउनु थियो । तर त्यतिबेलाकाे समय शीत युद्धको थियो । अमेरिका र सोभियत युनियनबीच अन्तरिक्ष यात्रामा एक खालको प्रतिस्पर्धा नै थियो । दुवैले विभिन्न परियोजनामा काम गरिरहेका थिए । 

राष्ट्रपति केनेडी र अन्तरिक्ष गतिविधि गर्ने अमेरिकी संस्था नासालाई भने ‘त्यो काम सम्भव छ, गर्न सकिन्छ’ भन्ने विश्वास थियो । त्यहीकारण अमेरिकाले चन्द्रमामा मानिसहरूलाई पठाउन तीव्र गतिमा काम गरिरहेको थियो ।

मानिसको चन्द्रमा यात्रा

चन्द्रमाको सतहमा अवतरण गर्ने पहिलो मानव निर्मित यान ‘लुना २’ हो । यसलाई सोभियत युनियनले १९५९ मा पठाएको थियो । अमेरिकाले पठाएको यानमध्ये चन्द्रमा पुगेको पहिलो भने रेन्जर सेभेन हो । उसले सन् १९६४ मा यसलाई प्रक्षेपण गरेको थियो । त्यसको दुई वर्षपछि अमेरिकाले मानवरहित सर्भेयर १ (surveyor 1) यान चन्द्रमामा पठायो । त्यसले अर्को मिसनका लागि चाहिने पर्याप्त डेटा सङ्कलन गरेको थियो । 

चन्द्रमामा जीवित प्राणी सहितको यान भने सन् १९६८ मा सोभियत युनियनले पहिलो पटक पठायो । जोन्ड ५ नामक उक्त चन्द्रयानमा दुई जीवित कछुवा, केही मौरी (flies) र बिरुवा पठाएको थियो । ती जनवारलाई पृथ्वीमा फर्काउन अगाडि उक्त यानले चन्द्रमालाई दुई पटक परिक्रमा गरेको थियो ।

एपोलो ११ को प्रक्षेपण, तस्वीर क्रेडिट: नासा

त्यस्तै अन्तरिक्षमा पहिलो पटक जीवित प्राणी पठाउने सफलता पनि सोभियत युनियनले नै पाएको थियो । उसले शीत युद्धका बेला सन् १९५७ नोभेम्बर ३ मा स्पुतनिक २ बाट लाइका नाम गरेको कुकुरलाई अन्तरिक्षमा पठाएको थियो ।

मानव इतिहासका लागि एपोलो ११ निकै महत्त्वपूर्ण मिसन बन्न पुग्यो । किनकी यसबाट नै मान्छे चन्द्रमा पुग्न सफल भयो ।

एपोलो ११

यो एक मानव सहितको चन्द्रयान थियो । नासाले यसलाई जुलाई १५, १९६९ मा (१३:३२ युटीसी) मेरिट आइल्याण्ड, फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट उडाएको थियो । यस यानलाई स्याटर्न भी नामक रकेटद्वारा प्रक्षेपण गरिएको थियो । 

यो नासाको एपोलो कार्यक्रम अन्तर्गतको पाँचौं मानव सहितको मिसन थियो । एपोलो अन्तरिक्ष यानमा कमाण्ड मोड्युल (सीएम), सर्भिस मोड्युल (एसएम) र लुनार मोड्युल (एलएम) गरी तीन ओटा भागहरू थिए । कमाण्ड मोड्युलमा तीन ओटा अन्तरिक्ष यात्रीहरूका लागि एउटा केबिन राखिएको थियो । 

चन्द्रमा राखेको मान्छेको पहिलो पाइला, तस्वीर क्रेडिट: नासा

सर्भिस मोड्युलमा अन्तरिक्ष यात्रीलाई चाहिने बिजुली शक्ति, अक्सिजन र पानी राखिएको थियो । अन्तरिक्ष यात्रीहरू यसै भागबाट पृथ्वीमा फर्किएका थिए । त्यस्तै चन्द्रमामा अवतरण गर्न लुनार मोड्युल प्रयोग गरिएको थियो । यसमा पनि चन्द्रमामा अन्तरिक्ष यात्रीहरूलाई ओराल्ने र चढाउने गरी थप दुई भाग थिए ।

यस मिसनमा तीन अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ, एडविन ‘बज’ एल्ड्रिन र माइकल कोलिन्स थिए । पृथ्वीबाट उडेको चार दिनपछि अर्थात् २० जुलाईमा आर्मस्ट्रङ र एल्ड्रिन चन्द्रमामा अवतरण गर्न सफल भए । उनीहरूले लुनार मोड्युलबाट चन्द्रमामा अवतरण गरेका हुन् ।

त्यस मोड्युललाई ‘ईगल’ (Eagle) भनिन्थ्यो । अर्का अन्तरिक्ष यात्री कोलिन्सले भने अवतरण गरेनन् । उनले एपोलो क्याप्सुलभित्र बसेर नै चन्द्रमा परिक्रमा गरे । उनले विभिन्न प्रयोग गर्नुका साथै तस्वीरहरू लिएका थिए ।

आर्मस्ट्रङ र एल्ड्रिनले त्यहाँ तीन घण्टा जति बिताए । त्यहाँ उनीहरूले विभिन्न वैज्ञानिक प्रयोगहरू गरे । आफ्नो हातले चन्द्रमाको धुलो र चट्टानका टुक्राहरू उठाए । चिन्ह वा पदचापका रुपमा उनीहरूले अमेरिकी झण्डा राखे । त्यसपछि यी दुई अन्तरिक्ष यात्री कोलिन्स रहेको चन्द्र कक्षमा फर्किए ।

सन् १९६९ जुलाई २४ मा तीनै जना अन्तरिक्ष यात्री सकुशल पृथ्वीमा फर्किएका थिए । यसरी राष्ट्रपति केनेडीको इच्छा पूरा भयो । उनको यो सपना पूरा हुन १० वर्षभन्दा कम समय लागेको थियो । त्यसै दिनलाई सम्झँदै २० जुलाई अन्तर्राष्ट्रिय चन्द्रमा दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले यो पारित गरेको थियो । 

एपोलो ११ सफल भएपछि पनि विभिन्न मिसन मार्फत अमेरिकाले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमा पठाएको छ । १९६९ को नोभेम्बरमा नै अमेरिकाले ओपोलो १२  पठाइयो । जसमा चार्ल्स कोनराड र एलन बीन गएका थिए । सन् १९७० मा लुना १७ यानबाट सोभियत युनियनले पहिलो पटक रोबोटिक रोभर चन्द्रमामा पठायो । अमेरिकाले एपोलो १५ मार्फत लुनार रोभर भेहिकल  पठायो । एपोलो १६ मार्फत गएका अन्तरिक्ष यात्रीले करिब तीन दिन चन्द्रमाको सतहमा बिताएका थिए । एपोलो १७ जीन सेर्नान लगायतका अन्य अन्तरिक्ष यात्री चन्द्रमा गएका थिए । 

अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ, माइक कोलिन्स र बज एल्ड्रिन, तस्वीर क्रेडिट: नासा

 

नासाका अनुसार हालसम्म २४ जना अमेरिकी अन्तरिक्ष यात्री चन्द्रमा गएका छन् भने १२ जनाले त्यहाँ पाइला टेकेका छन् । ८० को दशकमा कुनै पनि चन्द्र मिसन भएन । तर फेरि ९० को दशकपछि भने यो यात्रा सुरु भयो । त्यसपछि जापान, चीन, भारत लगायत अन्य देशहरू पनि यो यात्रामा आए । 

को हुन् निल आर्मस्ट्रङ ?

अन्तरिक्ष यात्रीका रुपमा उनी एक ऐतिहासिक व्यक्ति हुन् । चन्द्रमामा पाइला टेक्ने पहिलो व्यक्तिका रुपमा उनले आफ्नो नाम लेखे । उनी एक अन्तरिक्ष यात्री थिए । इन्जिनियर, पाइलट र कलेज प्रोफेसर पनि थिए उनी । जीवनकालमा उनले दुई अन्तरिक्ष मिसनमा उडान भरे । एपोलो ११ त्यही मिसन हो, जुन चन्द्रमामा अवतरण भयो । 

उनको जन्म अमेरिकाको ओहियो (Ohio) मा अगस्ट ५, १९३० मा भएको थियो । उनका एक भाइ र एक बहिनी थिए । आर्मस्ट्रङ ६ वर्षको हुँदा नै हवाईजहाजमा उडेका थिए । त्यो उडानले उनलाई हवाईजहाज प्रति आकर्षित गरेको थियो । ओहियो (Ohio)कै ब्लुम हाई स्कुलमा उनले अध्ययन गरेका थिए । उच्च शिक्षा भने पर्ड्यू विश्वविद्यालयबाट लिएका थिए । त्यहाँ हुँदा नै उनी अमेरिकी नौसेनामा काम गर्न गएका थिए । त्यसैताका कोरियाली युद्धका लागि उनले विमान उडाउन भ्याए । त्यसपछि उनी कलेजमा फर्किए । आफ्नो पढाइ पूरा गरे । पछि स्नातकोत्तर पनि गरे ।

अन्तरिक्ष यात्री हुनुअघि आर्मस्ट्रङले हवाईजहाजको अध्ययन गर्ने समूहका लागि काम गरेका थिए । त्यो समूह पछि नासाको एक हिस्सा बन्यो । आर्मस्ट्रङले त्यस समूहका लागि धेरै विमानहरू उडाए । उनले विमानको डिजाइनमा पनि सहयोग गरे । त्यस समूहका लागि उनले उडाएको एउटा विमान एक्स–१५ रकेट थियो । त्यो धेरै अग्लो र छिटो उड्ने थियो । त्यस विमानले विभिन्न कीर्तिमान समेत राखेको थियो । 

अन्तरिक्ष यात्री निल आर्मस्ट्रङ, तस्वीर क्रेडिट: नासा

सन् १९६२ मा आर्मस्ट्राङ अन्तरिक्ष यात्री बने । नासाले छानेको अन्तरिक्ष यात्रीहरूको समूहमा उनी परेका थिए । सन् १९६६ मा अन्तरिक्ष मिसन जेमिनी ८ का लागि उनलाई कमान्डर बनाइएको थियो । यस मिसनका लागि उनी अर्का अन्तरिक्ष यात्री डेभिड स्कटसँगै उडेका थिए । 

त्यो मिसन उनको पहिलो अन्तरिक्ष उडान थियो । त्यसक्रममा दुई ओटा यानलाई अन्तरिक्षमा जोडेर उनीहरूले कीर्तिमान कायम गरेका थिए । उनको दोस्रो अन्तरिक्ष उडान भने एपोलो ११ हो । उनी त्यस मिसनका पनि कमाण्डर थिए । उनको मृत्यु ८२ वर्षको उमेरमा २५ अगस्ट, २०१२ मा भएको थियो ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८० ८:५८