close

ट्वीटरको लोगो मात्र हो कि नाम नै परिवर्तन हो ?

टेकपाना टेकपाना

साउन ८, २०८० १८:३३

ट्वीटरको लोगो मात्र हो कि नाम नै परिवर्तन हो ?

काठमाडौं । अहिले ट्वीटरको नयाँ लोगो इन्टरनेटमा चर्चाको विषय बनेको छ । ट्वीटरमा चराको लोगो देखिने अधिकांश ठाउँबाट सो लोगो हटिसकेको छ । विशेषगरी ट्वीटरको हाेम बटन, आधिकारिक ह्यान्डल, भेरिफिकेसन ब्याजको पछाडि आउने लोगो सबैबाट चरा हटेको छ । उक्त लोगोको ठाउँमा एक्सको अस्थायी लोगो देखिन थालेको छ ।

यससँगै ट्वीटरबारे थुप्रै जिज्ञासा उठेका छन् । त्यसमध्येको एक हो, लोगोपछि के ट्वीटरको नामै परिवर्तन हुन्छ ? यस विषयमा धारणा राख्नुअघि ट्वीटरमा यसअघि भएको विशेष परिवर्तनको चर्चा गरौं ।

गत अक्टोबरमा ४४ अर्ब डलर तिरेर ट्वीटर खरिद गरेपछि मस्कले ट्वीटरमा थुप्रै परिवर्तन ल्याएका छन् । त्यसमध्ये सबैभन्दा प्रमुख परिवर्तन हो, ट्वीटरको कम्पनीको नाम । ४ अप्रिल २०२३ मा एलन मस्कले ट्वीटरको कम्पनीको नाम ट्वीटर इन्कबाट परिवर्तन गरी एक्स कर्पोरेसन राखे । त्यसपछि लगातार ट्वीटरलाई नयाँ किसिमको प्लेटफर्म बनाउनेमा एलन मस्क केन्द्रित छन् ।

उनले ट्वीटरको आधिकारिक ट्वीटर ह्यान्डलमा नाम परिवर्तन गरेर एक्स राखिसकेका छन् । यसको अर्थ ट्वीटरलाई कम्पनीले ‘एक्स’मा रिब्रान्डिङ गरिरहेको छ । अब ट्वीटरलाई ‘एक्स, द एभ्रिथिङ एप’ भनिने भनिएको छ । 

सन् २००९ मा ट्वीटमा जोडिएका युट्युबर मर्किस ब्राउनलीले आफू झअै पनि ट्वीटर भन्ने भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीटको रिप्लाई दिँदै मस्कले धेरै लामाे समयसम्म ट्वीटर भन्न नपाउने बताएका छन् । 

मस्क आवद्ध भएका प्रायः कम्पनीमा एक्स जोडिएको हुन्छ । सन् १९९९ मा उनले अनलाइन बैंकका रूपमा एक्स डटकमको सुरुवार गरेका थिए । तर, पछि एक्स डटकम पेपालमा रिब्रान्ड भयो ।

उनको कम्पनी स्पेस एक्समा पनि एक्स अक्षर जोडिएको छ । मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्लाको एउटा मोडेलको नाममा पनि एक्स अक्षर जोडिएको छ ।

अहिले भने उनले सन् २०१७ मा पेपालबाट खरिद गरेको एक्स डटकमको डोमेनलाई ट्वीटर बनाएका छन् ।

मस्कले ट्वीटरलाई एक्स प्लेटफर्म बनाउन खोजेको कुरालाई समर्थन गर्दै ट्वीटरकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा एक्स अबको भविष्य हुने दाबी गरेकी छिन् ।

यसको अर्थ ट्वीटर सामाजिक सञ्जालमा मात्र सीमित नरहेर अडियो, भिडिओ, इन्स्ट्यान्ट मेसेजिङ र भुक्तानी गर्ने प्लेटफर्मका रूपमा विकास गर्न लागिएको छ । त्यसबाहेक पनि ट्वीटर विचार, सेवा वा सामग्री बिक्री तथा खरिद गर्नेहरूका लागि मार्केटप्लेस समेत हुनेछ ।

अहिले परिवर्तन भएका कुरालाई हेर्ने हो भने ट्वीटरको आधिकारिक डोमेन नेम, ट्वीटरको आधिकारिक युजरनेम, गुगल प्ले तथा एपस्टोरमा नाम ट्वीटर नै छ ।

तर कम्पनीको लोगो हुनुपर्ने अधिकांश ठाउँमा एक्सको लोगो देखिन थालेको छ । यसबाट विश्लेषकले ट्वीटरका सबै प्रयोगकर्ता एक्स प्लेटफर्ममा ल्याउने रणनीतिका साथ मस्कले यस्तो गरिरहेको बताएका छन् ।

यसरी अन्तिममा ट्वीटर पूर्ण रूपमा एक्समा परिणत हुने विश्लेषकको अपेक्षा छ । रिब्रान्ड भएसँगै ट्वीटर सामाजिक सञ्जाल रहने छैन, जस्तो मस्कले उक्त प्लेटफर्म खरिद गर्नुअघि थियो ।  

 

पछिल्लो अध्यावधिक: साउन ८, २०८० १८:३३