close

आईफोन १५ र १५ प्रो म्याक्सको मूल्य झनै महँगो हुने

टेकपाना टेकपाना

साउन ९, २०८० १७:३६

आईफोन १५ र १५ प्रो म्याक्सको मूल्य झनै महँगो हुने

काठमाडौं । एप्पलले आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने आईफोनको नयाँ सिरिज आईफोन १५ को मूल्य बढाउने भएको छ । ब्लुमबर्गमा प्रकाशित रिपोर्ट अनुसार आम्दानी बढाउन कम्पनीले आईफोन १५ अन्तर्गतको प्रो र प्रो म्याक्स मोडेलको मूल्य बढाउन लागेको हो ।

ब्लुमबर्गका अनुसार एप्पलले यस वर्ष आठ करोड ५० लाख आईफोन १५ उत्पादन गर्ने लक्ष्य राखेको छ । जबकि एप्पलले गत वर्ष सार्वजनिक भएको आईफोन १४ को नौ करोड युनिट उत्पादन गरेको थियो । उही सङ्ख्यामा डिभाइस उत्पादन गरे पनि कूल आम्दानी बढाउन कम्पनीले प्रो र प्रो म्याक्सको मूल्य बढाउन लागेको उल्लेख गरिएको छ ।

एप्पललाई हाल आईफोन १५ प्रो र प्रो म्याक्स मोडेलका लागि डिस्प्ले प्यानलको उत्पादनमा समस्या भइरहेको छ । यसले पनि आईफोन १५ सार्वजनिक हुँदा कति युनिट उत्पादन हुन्छन् भन्ने कुरा निर्धारण गर्ने ब्लुमबर्गले उल्लेख गरेको छ । एप्पलले गत वर्ष आईफोन १४ को उत्पादन थप ६० लाखले वृद्धि गर्ने चर्चा थियो ।

तर, भ्याकेसनमा पनि आईफोनको माग कम भएपछि कम्पनी आईफोन १४ उत्पादन गर्नबाट पछि हटेको बताइएको थियो । आईडीसीमा प्रकाशित रिपोर्ट अनुसार २०२३ मे महिनासम्म विश्वभर स्मार्टफोनको ढुवानी ३.२ प्रतिशत घटेको थियो ।

सन् २०१९ मा आईफोन ११ सार्वजनिक भएसँगै आईफोन प्रो र प्रो म्याक्स मोडेलको सुरुवाती मूल्य क्रमशः ९९९ डलर र एक हजार ९९ डलर हुँदै आएको छ । यस पटक भने मूल्य नबाहिरिएको भए पनि मूल्य बढ्ने बताइएको छ ।

पछिल्लो अध्यावधिक: साउन ९, २०८० १७:३६