close

अब मोबाइल सेवा प्रदायकले पुरानै प्याकेज नयाँ अफरको रूपमा दोहोर्‍याउन नपाउने !

टेकपाना टेकपाना

साउन ११, २०८० १८:४१

अब मोबाइल सेवा प्रदायकले पुरानै प्याकेज नयाँ अफरको रूपमा दोहोर्‍याउन नपाउने !

काठमाडौं । अब मोबाइल सेवा प्रदायक कम्पनीहरूले पुरानै अफर दोहोर्‍याउन नपाउने भएका छन् । नियामक दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकले विभिन्न किसिमका अफर लागू गर्दा पालना गर्नुपर्ने सर्त बन्देज सम्बन्धी व्यवस्थाको मस्यौदामार्फत यस्तो प्रस्ताव अघि सारेको हो ।

सरोकारवालाहरूबाट परामर्श तथा सल्लाह सुझाव सङ्कलन गर्ने गरी सार्वजनिक उक्त मस्यौदाले चाड बाड र प्रवर्द्धनात्मक गरी अफरलाई दुई वर्गमा विभाजन गरेको छ । जसको बुँदा नम्बर ५ र ६ ले त्यस्ता अफर दोहोर्‍याउने प्रवृत्तिमाथि रोक लगाउने प्रावधान गरेको छ । 

बुँदा नम्बर ५ मा भनिएको छ, "फेस्टिभल अफर सञ्चालन गर्दा उपभोक्ताले थप सहुलियत तथा थप सुविधा नपाउने भएमा उक्त प्रोडक्ट तथा प्याकेज फेस्टिभल अफरको रूपमा पुनः सञ्चालन गर्न पाउने छैन ।" 

त्यस्तै अर्को बुँदामा प्रमोसनल अफर पुनः लागू गर्नुपर्ने भएमा सम्बन्धित सेवा प्रदायकले समयमै सम्बन्धित प्याेज तथा प्रोडक्टको शुल्क तथा महशुल दर नियमित स्थायी स्वीकृतिका लागि निवेदन दिनुपर्ने भनिएको छ ।"  

त्यस्तै सर्त तथा बन्देजका लागि तयार पारिएको मस्यौदामा वार्षभर ल्याउन पाउने अफर तथा प्याकेजमा समेत सीमा लगाउने प्रस्ताव अगाडि सारेको छ । जस अनुसार एक आर्थिक वर्षमा फेस्टिभल अफरको रूपमा एक पटकमा बढीमा १० ओटा मात्र र एक आर्थिक वर्षमा बढीमा कूल एक सय ओटा मात्र प्रोडक्ट तथा प्याकेज ल्याउन पाइनेछ ।

त्यस्तै एक वर्षमा प्रमोसनल अर्थात प्रवर्द्धनात्मक अफर समेत २५ भन्दा बढी हुन नहुने बताइएको छ । फेस्टिभल अफर अधिकतम् अवधि १५ दिनसम्म र प्रमोसनल अफर बढीमा तीन महिनासम्मका लागि हुनुपर्नेछ । 

यति मात्र होइन, सेवा प्रदायक कम्पनीले प्राधिकरणलाई सात दिन अगाडि नै पूर्व दिएर मात्रै अफर लागू गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: साउन ११, २०८० १८:४१