close

भागवत गीताबाट यसरी प्रभावित भएका थिए परमाणु बमका पिता ओपनहाइमर

टेकपाना टेकपाना

साउन १४, २०८० २१:४३

भागवत गीताबाट यसरी प्रभावित भएका थिए परमाणु बमका पिता ओपनहाइमर

काठमाडौं । ओपनहाइमर नामक अङ्ग्रेजी फिल्मले अहिले काठमाडौं लगायत विश्व सिने जगतमै हलचल ल्याइरहेको छ । परमाणु बमका पिता मानिने रोबर्ट ओपनहाइमरको जीवनी माथि लेखिएको पुस्तक ‘अमेरिकन प्रोमिथस’ लाई आधार बनाएर यो फिल्म बनेको हो । 

सन् २००६ मा उक्त पुस्तकले प्रतिष्ठित पुलित्जर पुरस्कार पनि पाएको थियो । परमाणु बमका आविष्कारक रोबोर्ट ओपनहाइमर गीताका अध्येयता रहेको र बम परीक्षणपछि एउटा भयानक श्लोक स्मरण गरेको सन्दर्भ उक्त पुस्तकमा छ । 

 

भागवत गीताको अध्याय ११ को श्लोक ३२ मा भनिएको छ;  

कालोSस्मि लोकक्षयकृत्प्रवृद्धो, 

लोकान्समाहर्तुमिह प्रवृत्तः |

ऋतेSपि त्वां न भविष्यन्ति सर्वे

येSवस्थिताः प्रत्यनीकेषु योधाः ||

अर्थात समस्त जगतको बिनास गर्ने काल म हुँ, र म यहाँ समस्त जातीको बिनास गर्नकै लागि आएको हुँ ।

“Now I am become death, The destroyer of the world” । 

 

यो त्यही श्लोक हो, जसलाई परमाणु बमका पिता भनेर चिनिने अमेरिकी भौतिकशास्त्री जुलियस रोबर्ट ओपनहाइमरले १६ जुलाई १९४५ को दुई दिनअघि अर्थात १४ जुलाई १९४५ मा उच्चारण गरेका थिए ।

१६ जुलाई त्यो दिन हो, जुन दिन अमेरिकाले न्यु मेक्सिको राज्यको मरुभूमिमा ओपन हाइमरले बनाएको पहिलो परमाणु बम, परीक्षण गरेको थियो । बम विस्फोट हुनुअघि त्यसको परिणामबारे ओपनहाइमर आफै अनभिज्ञ थिए ।

त्यसैले उनले भनेका थिए, “Now I am become death, The destroyer of the world.”

त्यो समयकै खतरनाक हतियारको परीक्षण गर्नुअघि आखिर ओपनहाइमरले भागवत गीताको विशेष श्लोक सन्दर्भ किन दिए ? त्यसबाहेक पनि भौतिक र रसायन शास्त्रका ज्ञाता उनलाई भागवत गीताका बारेमा त्यतिका कुराको जानकारी कसरी भयो ? त्यही श्लोकबाट ओपनहाइमर कसरी प्रभावित भए ? आज हामी यसै विषयमा चर्चा गर्दैछौं । 

जुलियस रोबर्ट ओपनहाइमरको जन्म २२ अप्रिल १९०४ मा अमेरिकाको न्यूयोर्क सहरमा भएको थियो । वहुप्रतिभाशाली ओपनहाइमर विभिन्न नयाँ कुराहरूलाई लिएर बढी जिज्ञासा राख्थे ।

काइ बर्ड र मार्टिन जे शेर्विनले लेखेको ओपनहाइमरको जीवनी ‘अमेरिकन प्रोमेथसः ट्रायुम्फ एन्ड ट्राजेडी अफ जे. रोबर्ट ओपनहाइमर’मा उनी सानै उमेरमा हदभन्दा बढी जिज्ञासु भएको कुरा उल्लेख छ । उनलाई हदभन्दा बढी जिज्ञासु थिए किन भनियो भन्ने कुराको एउटा उदाहरण दिनुपर्दा उनले ३ र ४ कक्षाको पढाइ एकै वर्षमा पूरा गरेका थिए भनिन्छ ।

त्यसबाहेक पनि ८ कक्षा उनले छ महिनामै पूरा गरेका थिए । १२ वर्षको उमेरमा ओपनहाइमरमा मिनिरोली अर्थात खनिज पदार्थको यति ज्ञान थियो कि उनलाई न्युयोर्क मिनरोलोजिकल क्लबमा लेक्चरका रूपमा बोलाइएको थियो । 

ओपनहाइमर पुस्तक पढ्नमा बढी नै समय दिन्थे । उनी हरेक समय कुनै न कुनै नयाँ विषय अध्ययन गरिरहेका हुन्थे । उनको त्यस्तो स्वभावका पछाडिको कारण हो, उनका साथीहरू नहुनु ।

स्कुलका साथीहरू पनि उनलाई जिस्काउँथे । उनी १४ वर्षको हुँदा स्कुलबाट साथीहरूसँग घुम्न गएका थिए । त्यही बेला उनका साथीहरूले ओपनहाइमका सबै लुगा खोले र उनलाई नाङ्गो बनाएर चिसो घरभित्र थुनि दिए ।

तर, उनले आफूलाई साथीहरूले त्यसरी दुःख दिएको कुरा कहीं कतै कसैलाई सुनाएनन् । त्यस विपरीत उनले घरमा आफू साथीहरूसँग रमाइरहेको भन्दै चिठ्ठी पठाए ।

उनले चिठ्ठीमा आफ्ना साथीहरूले दिनहुँ आफूलाई जीवनबारे नयाँ शिक्षा दिएको उल्लेख गरेका थिए । यसरी उनी सानै उमेरमा परिपक्व स्वभावका थिए भन्ने कुरा उनको जीवनीमा उल्लेख गरिएको छ । 

दिनहरू नयाँ ढङ्गले बितिरहेका थिए । पछि उनले सेप्टेम्बर १९२२ मा हार्वर्ड विश्वविद्यालयमा पढ्न सुरु गरे ।

तीन वर्षको अवधिमा ओपनहाइमनरले दर्शनशास्त्र, फ्रान्सेली साहित्य, अङ्ग्रेजी, इन्ट्रोडक्टरी  क्याल्कुलस, रसायशास्त्र, इतिहास, भौतिकशास्त्र जस्ता विषय अध्ययन गरे । तर, यति धेरै विषय पढिसक्दा पनि ओपनहाइमरलाई केही छुटिरहेको महसुस हुन्थ्यो ।

उनलाई कताकता आफूले पढेका कुरा अपूर्ण वा अपुग हो कि भन्ने लाग्थ्यो । यही अपूर्ण अध्ययनलाई पूरा गर्न उनी विश्व चर्चित क्याम्ब्रिज विश्वविद्यालयमा भर्ना भए । 

क्याम्ब्रिज युनिभर्सिटीमा अध्ययन गर्ने क्रममा रिसर्च पेपरका लागि उनले न्युक्लियर फिजिक्सका पिता अर्नेस्ट रुदरफोर्डसँग काम गर्नुपर्ने भयो । तर, रुदरफोर्डको नजरमा ओपनहाइमर भौतिकशास्त्रमा पूर्ण थिएनन् । 

त्यसैले उनले ओपनहाइमरलाई अस्वीकार गरे । त्यही बेला मन नलगाई नलगाई ओपनहाइमर वैज्ञानिक जेजे थम्सनसँग जोडिन पुगे । थम्सनसँग काम गर्दा ओपनहाइमर त्यति खुशी थिएनन् । 

किनभने जेजे थम्सन ल्याबमा उनले इलेक्ट्रोनको अध्ययन गर्न बेरिलियमको गतिविधी अवलोकन गर्नुपर्ने हुन्थ्यो । तर, ओपनहाइमर इलेक्ट्रोनको गतिविधि भन्दा पनि त्यसको वस्तुस्थितिको बारेमा अध्ययन गर्न चाहन्थे ।

आफूलाई रुचि नहुँदा पनि ओपनहाइमरले आफ्नो काम इमानदारीपूर्वक गरे । त्यसपछि उनी इलेक्ट्रोल वेभ बुझ्दै गए ।

यसरी त्यही विषय अध्ययन गर्दै जाँदा उनको रुचि क्वान्टम मेकानिक्समा पनि बढ्दै गयो । उनी आफू भौतिकशास्त्र र रसायन शास्त्रमा विज्ञ भए पनि आफ्नो तर्फबाट विभिन्न क्षेत्रमा योगदान दिँदै गइरहेका थिए ।

त्यसबाहेक उनी ब्ल्याक होलमा पनि अध्ययन गरिरहेका थिए । त्यही बेला शताब्दीकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको जनरल रिलेटिभिटी थ्यौरी (सामान्य सापेक्षताको सिद्धान्त) कैयौं पटक अस्वीकृत भइरहेको थियो ।

ओपनहाइमरले त्यही सिद्धान्तको अध्ययन गरेर ब्रह्माण्डमा 'ब्ल्याक होल' हुन्छ भन्ने प्रमाणित गरिदिए । उनले यही विषयमा गरेको खोजले गर्दा सबै वैज्ञानिकले ब्रह्माण्डलाई हेर्ने नजर नै फरक भयो ।

सानै उमेरमा उनले त्यतिको सफलता पाउँदा धेरैलाई ओपनहाइमरको जीवन सही ढङ्गले चलिरहेको छ भन्ने लागेको थियो । तर, वास्तविकता त्यस्तो थिएन । 

सानोमा आफूले साथीहरूबाट पाएको तिरस्कार, ठूलो भइसकेपछि महान वैज्ञानिक तथा भौतिक शास्त्री रुदरफोर्डले गरेको अस्वीकार, आफूले चाहेका काम गर्न नपाउँदाको दुःखले उनलाई मानसिक रूपमा सताइरहेको थियो ।

त्यसैको असर ओपनहाइमरको व्यावसायिक जीवनमा पनि परिरहेको थियो । एक दिन ओपनहाइमर एउटा क्लासको लेक्चर लिरहेका थिए । त्यही बेला उनी पढाउन छोडी एकोहोरो  बोर्डमा घुरेर हेरिरहेका थिए ।

बारम्बार उनको मुखबाट एउटै शब्द  “द पोइन्ट इज” निस्किरहेको थियो । जसले गर्दा त्यहाँ भएका सबै विद्यार्थीहरू उनको अस्वाभाविक व्यवहारबाट दिक्क भएका थिए ।

यसबाट धेरैले उनको मानसिक अवस्था बिग्रिँदै गइरहेको चाल पाइरहेका थिए । यतिसम्म कि उनले आफ्नै साथीलाई समेत मार्ने प्रयास गरेका थिए ।

उनको त्यस्तो बानीका पछाडि डिमेन्सिया प्रेकक्स (Dementia Praecox) नामक मानसिक रोग रहेको पत्ता लाग्यो । यो त्यस्तो मानसिक रोग हो, जहाँ बिरामीमा आफ्नो नजिकका मान्छेले आफूलाई मार्न खोजिरहेका छन् भन्ने त्रास पैदा हुन्छ ।

यस्तो अवस्था हुँदा पनि ओपनहाइमर आफ्नो काममा निरन्तर लागिरहेका थिए । डिप्रेसन हुँदा पनि ओपनहाइमरले हाइजनबर्ग, इयुजिन विग्नर, उल्फग्याङ्ग पौली र एनरिको फर्मी जस्ता ठूला वैज्ञानिकसँग मिलेर काम गरे ।

त्यही बेला उनले ‘ओपनहाइमर फ्लिप्स प्रोसेस’ पत्ता लगाए । यो त्यस्तो प्रक्रिया हो, जहाँ न्युट्रोनलाई लक्षित गरिएको एटमको न्युक्लियसमा पठाइन्छ । जतिबेला न्युट्रोन एटमको न्युक्लिसभित्र प्रवेश गर्छ, त्यतिबेला न्युट्रोनले न्युक्लियसमा हुने प्रोटोनलाई बाहिर पठाउँछ ।

त्यसपछि लक्षित गरिएको न्युक्लियस गरुङ्गो आइसोटोप बन्छ । ओपनहाइमरले पत्ता लगाएको यो प्रक्रिया न्युक्लियर फिजिक्सको क्षेत्रमा निकै महत्त्वपूर्ण साबित भयो । तर, यता ओपनहाइमरलाई सबै कुरा सामान्य लाग्न थालिसकेको थियो ।

उनी यस्ता सबै कुराबाट वाक्क भइसकेका थिए । यी कुराहरूबाट मुक्त हुन उनले विज्ञानको विपरीतका कुरा अध्ययन गर्न चाहे । त्यसपछि उनले पौराणिक तथा धार्मिक जगतका कुरामा जोडिने योजना बनाए । यसका लागि उनलाई हिन्दू पुराण उपयुक्त लाग्यो । 

त्यसैले हिन्दू धर्ममा प्रयोग हुने संस्कृत शब्द बुझ्नका लागि उनी सन् १९३३ मा  बर्कली (Berkeley) गए । त्यही बेला उनको भेट भारतीय मूलका संस्कृत प्राध्यापक अर्थर राइडर (Arthur Ryder) सँग भयो ।

उनैले ओपनहाइमरलाई भागवत गीता पढ्ने सल्लाह दिए । प्रोफेसरको यही सल्लाहले पछि ओपनहाइमरलाई नयाँ परिचय दियो ।

ओपनहाइमरले न्युक्लियरको क्षेत्रमा पाइरहेको सफलतालाई लिएर लेफ्टिनेन्ट जनरल लेस्ली ग्रोभ्सले दोस्रो विश्व युद्धको म्यानह्याटन परियोजनाको नेतृत्व गर्न उनलाई छनौट गरे । ओपनहाइमर आफ्नो कामलाई निकै प्राथमिकता दिएर सम्पन्न गर्छन् भन्ने कुरामा ग्रोभ्स निर्धक्क थिए । 

यता म्यानह्याटन परियोजना सुरु गर्न वा भनौं खतरनाक हतियार बनाउन अमेरिकी सरकारलाई सुझाव दिने व्यक्ति थिए, अल्बर्ट आइन्स्टाइन । अमेरिकी सरकारले आइन्स्टाइनको सल्लाहलाई गम्भीरतापूर्वक लिए पनि उनैलाई परियोजनामा आबद्ध गराएन ।

किनभने आइन्स्टाइन जर्मनीका नागरिक थिए । त्यसैले आइन्स्टाइनले जर्मनीलाई गोप्य परियोजनाको जानकारी दिन्छन् कि भन्ने डर अमेरिकालाई थियो । त्यसकारण म्यानह्याटन परियोजनाका लागि ओपनहाइमर उपयुक्त व्यक्ति ठहरिए । 

ओपनहाइमरले आफ्नो सीप र दक्षता प्रयोग गरी यस्तो बम बनाए, जो सेकेन्डभरमा एउटा ठूलो सहरलाई ध्वस्त बनाइदिन सक्थ्यो । उनको यही सफलताले नै उनलाई “आणविक बमका पिता”को उपनाम दियो । उनकै आविष्कारले संसार नै बदलिन पुग्यो ।

उनले निर्माण गरेको बम त तयार थियो । तर परीक्षण गर्न बाँकी थियो ।  १६ जुलाई १९४५ न्यु मेक्सिको राज्यको मरुभूमिमा ५ः४५ को समयमा बम परीक्षण गर्ने समय तालिका तय गरिएको थियो । त्यही बेला संसारकै पहिलो पारमाणविक बम परीक्षण गरियो ।

यो विस्फोट यति भयानक थियो कि ११ किलोमिटर माथिसम्म मस्रुम क्लाउड (च्याउको आकारमा निस्किने धुँवा) निर्माण भयो । जसबाट ११ किलो टन टीएनटी (Trinitrotoluene) ले जति ऊर्जा उत्पादन गर्छ, त्यति नै ऊर्जा उत्पन्न भयो ।

त्यही समयबाट पृथ्वीमा नयाँ युगको सुरुवात भएको मानिन्छ । यो सबै दृश्य देखेर ओपनहाइमरलाई भागवत गीताको अध्याय ११ को श्लोक १२ याद आयो । त्यो हो;

“दिवि सूर्यसहस्रस्य भवेद्युगपदुत्थिला |

यदि भाः सदृशी सा स्याद्धासस्तस्य महात्मनः ||”

अर्थात आकाशमा यदि हजारौं सूर्य एकै पटक पट्किँदा जति उज्यालो देखिन्छ, त्यति नै उज्यालो भगवान विष्णुको रूपमा देखिन्छ । परीक्षण सफल भइसकेको थियो । अब पालो थियो, त्यसलाई अमेरिकाले चाहेको ठाउँमा खसाल्ने ।

त्यसै अनुरूप अमेरिकाले ६ अगस्ट १९४५ मा जापानको हिरोसिमा सहरमा ‘लिटल ब्वाई’ नामको परमाणु बम खसाल्यो । त्यसको तीन दिनपछि अर्थात ९ अगस्ट १९४५ मा जापानको अर्को सहर नागासाकीमा “फ्याट म्यान” नामको अर्को परमाणु बम विस्फोट भयो ।

यी दुई घटनाबाट साढे दुई लाख बढी मानिस मारिए । त्यसपछि हार मानेर जापानले अमेरिकासामु आत्मसमर्पण गर्‍यो । त्यससँँगै दोस्रो विश्व युद्द अन्त्य भयो । 

त्यसपछि ओपनहाइमरले पुनः भागवत गीताको अर्को श्‍लोक सम्झिए । 

कालोSस्मि लोकक्षयकृत्प्रवृद्धो, 

लोकान्समाहर्तुमिह प्रवृत्तः |

ऋतेSपि त्वां न भविष्यन्ति सर्वे

येSवस्थिताः प्रत्यनीकेषु योधाः ||

“अर्थात समस्त जगतको विनाश गर्ने काल म हुँ, र म यहाँ समस्त जातीको विनाश गर्नका लागि आएको हुँ ।”

उनले बोलेको श्लोकलाई पहिले त मानिसहरूले बुझेनन् । उनले अङ्ग्रेजीमा सुनाएको श्लोकको अनुवादित अंशलाई लिएर मानिसहरूले उनी आफैले भनेका हुन् भन्ने अर्थ लगाए । तर, त्यही कुराको अर्थ वर्षौंपछि उनले अन्तर्वार्ताबाट खुलाए । 

उनका अनुसार अमेरिकी सरकारले सबैभन्दा पहिले हाइड्रोजन बनाउने प्रस्ताव ओपनहाइमरलाई दिएको थियो । त्यसको परिणाम निकै भयानक हुने भन्दै उनले हाइड्रोजन बम बनाउने प्रस्ताव अस्वीकार गरिदिएका थिए ।

तर, उनलाई विश्वस्त बनाउन अमेरिकी सरकारले आफूले परमाणु बम नबनाए जापानले त्यस्तो बम बनाएर अमेरिका ध्वस्त बनाउने कुरा सुनायो । किनभने अमेरिकाबाट युद्ध लड्न गएका मध्ये दिनहुँ औसतमा हजार बढी अमेरिकी सैनिक जापानमा मारिइरहेका थिए ।

सरकारले यस्तो कुरा भनेपछि ओपनहाइमरलाई भागवत गीताको अर्को श्लोक याद आयो । भागवत गीताको एउटा श्लोकमा अर्जुनले कुरुक्षेत्रमा आफ्नै भाइको विरुद्धमा लड्नुपर्ने युद्ध अस्वीकार गरेको कुरा उल्लेख छ ।

त्यही बेला कृष्णले अर्जुनलाई उनको इच्छा नभए पनि धर्म निभाउन लड्नै पर्छ भनेर सुझाव दिएका थिए । किनभने कृष्णका अनुसार संसारमा कति बेला कसको अन्त्य कसरी हुने हो भन्ने कुरा भगवानको हातमा हुन्छ । उनले यही अर्ती अर्जुनलाई दिएका थिए ।

यदि अर्जुनले युद्ध नलडेको भए पनि उनलाई भीष्म, द्रोणाचार्य, कर्ण वा अश्वत्थामा जस्ता योद्धाले मार्ने थिए । यसरी कृष्णको वचनबाट प्रभावित अर्जुन आफ्नै भाइ कर्णसँग युद्ध लड्न बाध्य भएका थिए । 

यही श्लोकबाट प्रभावित ओपनहाइमरले परमाणु बमको परिणाम थाहा हुँदाहुँदै पनि बम बनाउन तयार भए । आफूले बनाएको बमका कारण उनी बाँचुन्जेल पश्चतापमा डुबिरहे । तर, अर्को तर्फ उनैले बनाएको परमाणु बमका कारण दोस्रो विश्व युद्धको अन्त्य भएको थियो ।

एक पटक द क्रिश्चियन सेन्चुरीका सम्पादकले उनलाई सबैभन्दा बढी प्रभाव पार्ने पुस्तक कुन हो भनी सोधेका थिए । जवाफमा ओपनहाइमरले फ्रेन्च पुस्तक ले फ्लोरो डु माल  (Les Fleurs du Mal) र भागवत गीताको नाम लिएका थिए । 

 

पछिल्लो अध्यावधिक: साउन १५, २०८० ८:२