काठमाडौं । अप्रिल, मे र जुन महिनाको अवधिमा विश्व स्मार्टफोन बजारमा २५ करोड ८२ लाख स्मार्टफोन शिपमेन्ट भएका छन् । क्यानलाइज स्मार्टफोन मार्केट प्लस रिपोर्ट अनुसार यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले न्यून हो ।
रिपोर्ट अनुसार सामसङले पुनः स्मार्टफोन बजारको नेतृत्व गर्न थालेको छ । तीन महिनाको अवधिमा मात्रै कम्पनीले पाँच करोड ३० लाख युनिट स्मार्टफोन विश्व बजारमा पठाएको छ । जुन कूल स्मार्टफोन बजारको २१ प्रतिशत हो ।
चार करोड ३० लाख युनिटका साथ एप्पल दोस्रो स्थानमा रहेको छ र उक्त सङ्ख्याले १७ प्रतिशत बजार हिस्सा रहेको दर्शाउँछ ।
त्यस्तै साओमी तीन करोड ३२ लाख युनिट अर्थात् १३ प्रतिशत बजार हिस्साका साथ शीर्ष तीन वरिपरि घुमिरहेको छ । त्यसपछि १० प्रतिशत बजार हिस्सा रहेको ओप्पोले यस अवधिमा दुई करोड ५२ लाख युनिट स्मार्टफोन बजारमा पठाएको छ ।
विश्वव्यापी स्मार्टफोनको शिपमेन्ट तथा वृद्धि, क्यानलाइज स्मार्टफोन मार्केट प्लसः २०२३ को दोस्रो त्रैमास
कम्पनी
२०२३ को दोस्रो त्रैमासको शिपमेन्ट (१० लाख)
बजार हिस्सा
वार्षिक वृद्धि
सामसङ
53.0
21%
-14%
एप्पल
43.0
17%
-13%
साओमी
33.2
13%
-16%
ओप्पो
25.2
10%
-8%
ट्रान्सेन
22.7
9%
+22%
अन्य
81.1
31%
-11%
जम्मा
258.2
100%
-10%
इनफिनिक्स, टेक्नो र आईटेल ब्रान्ड समेट्ने ट्रान्सेनले यस अवधिमा दुई करोड २७ लाख स्मार्टफोनको शिपमेन्ट गरेको छ, जसको बजार हिस्सा ९ प्रतिशत रहेको छ । ट्रान्सेन नयाँ बजारमा उदाइरहेको छ र मध्य पूर्वी, अफ्रिकी र ल्याटिन अमेरिकी बजारमा बिक्री राम्रो हुँदा पाँचौ स्थानमा अटाउन सफल भएको छ ।
यो एउटा मात्र त्यस्तो ब्रान्ड हो, जसले वार्षिक २२ प्रतिशतको सकारात्मक वृद्धि हासिल गरिरहेको छ । अगाडि हेर्दा, क्यानलाइजका विश्लेषकले सन् २०२३ को दोस्रो अर्धवार्षिक अवधिसम्म स्मार्टफोनको माग घट्ने अनुमान गरेका छन् ।