close

मेड् आईक्यूको नयाँ सफ्टवेयर, अब अस्पतालैपिच्छे एउटै स्वास्थ्य परीक्षण दोहोर्‍याउनु नपर्ने

टेकपाना टेकपाना

जेठ २०, २०८२ २३:१६

मेड् आईक्यूको नयाँ सफ्टवेयर, अब अस्पतालैपिच्छे एउटै स्वास्थ्य परीक्षण दोहोर्‍याउनु नपर्ने

काठमाडौँ । मेड् आईक्यू प्रालिले हस्पिटल अपरेटिङ सिस्टम (एचओएस) नामक नयाँ सफ्टवेयर सञ्चालनमा ल्याएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा यो प्रणाली सार्वजनिक गरिएको हो ।

नेपाल सरकारले माघ २०८१ मा जारी गरेको एकीकृत विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका अनुसार यो प्रणाली तयार पारिएको कम्पनीले जनाएको छ । सफ्टवेयरमा बिरामी अस्पतालमा भर्ना भएको समयदेखि डिस्चार्ज नभएसम्मका सम्पूर्ण विवरण वेब प्रणालीमार्फत राख्न सकिने सुविधा रहेको छ ।

एचओएस प्रणाली भएका अस्पतालमा भर्ना हुने बिरामीलाई पेसेन्ट आईडी र पासवर्ड प्रदान गरिन्छ । बिरामीले उक्त आईडी प्रयोग गरी पेसेन्ट पोर्टलमा आफूले गराएका स्वास्थ्य परीक्षण, ल्याब रिपोर्टलगायतका सम्पूर्ण विवरण हेर्न सक्छन् । आफ्नो रेकर्ड अन्य चिकित्सकलाई देखाउन पनि सकिने यो प्रणालीले अस्पतालबिचको सूचनाको पहुँचलाई सहज बनाएको कम्पनीको दाबी छ ।

यस अनुसार एचओएस प्रणाली भएका फरक-फरक अस्पतालमा उपचार गरेपनि बिरामीको सम्पूर्ण विवरण हेर्न मिल्ने र दोहोर्‍याएर जाँच गर्न नपर्ने सुविधा सफ्टवेयरले उपलब्ध गराउँछ ।  उदाहरणका लागि, यदि वीर अस्पतालमा उपचाररत बिरामी सिफारिस भएर सिभिल अस्पतालमा ल्याइयो र सिभिलमा पनि यो प्रणाली लागु भएको छ भने बिरामीको अघिल्लो सम्पूर्ण रेकर्ड त्यहाँ पनि सहज रूपमा हेर्न सकिन्छ । नयाँ उपचार विवरण पनि सोही पोर्टलमा थप्न सकिनेछ ।

साथै, अस्पतालमा बिरामी दर्ता गर्न अनलाइनमार्फत फारम भरेर नाम लेखाउन सकिन्छ भने आवश्यक भुक्तानी पनि अनलाइनबाटै गर्न सकिन्छ । यसले अस्पतालमा लामो लाइन बस्नुपर्ने झन्झट कम गर्ने दर्ता प्रक्रिया सकिएपछि बिरामी सिधै डाक्टरको डेक्समा जान सक्ने बताइएको छ ।

चिकित्सकहरूका लागि पनि यो सफ्टवेयर उपयोगी छ । ओपीडी रेकर्ड भर्नका लागि आवश्यक कोडहरू सफ्टवेयरले स्वचालित रूपमा जेनरेट गर्ने भएकाले १० मिनेट लाग्ने काम दुई मिनेटमै सकिने कम्पनीले जनाएको छ । साथै, चिकित्सकहरूले यस प्रणालीमार्फत आफ्ना स्ट्यान्डर्डाइज्ड ट्रिटमेन्ट प्रोटोकल पनि तयार गर्न सक्छन् ।

अस्पतालले आवश्यक परेमा यो सफ्टवेयरमा बीमा सेवा पनि समावेश गर्न सक्ने कम्पनीको भनाइ छ । यसले स्वास्थ्य बीमा गरेका बिरामीको शुल्क भुक्तानी प्रक्रिया पनि सहज बनाउने बताइएको छ ।

मेड् आईक्यूले यो प्रणाली सानो क्षमताका नगरस्तरीय अस्पतालदेखि सयौं शैय्या भएका ठुला अस्पतालसम्म विस्तार गर्ने योजना बनाएको छ । अस्पतालको आवश्यकता अनुसार सफ्टवेयरलाई कस्टमाइज गर्न सकिनेछ । कम्पनीका अनुसार अहिले यो प्रणाली क्लिनिक र पोलिक्लिनिकहरूमा सहज रूपमा प्रयोग गर्न सकिने अवस्थामा पुगेको छ भने बाँकी रहेका केही फिचरहरू आगामी दुई महिनाभित्र पूर्ण रूपमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ २३:१६