close

पब्जीसँग मिलेर वर्ल्डलिङ्कले ल्यायो गेमर्स प्याक, यस्तो छ मूल्य र सुविधा

टेकपाना टेकपाना

साउन १९, २०८० १९:१०

पब्जीसँग मिलेर वर्ल्डलिङ्कले ल्यायो गेमर्स प्याक, यस्तो छ मूल्य र सुविधा

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सले पब्जी मोबाइलसँग सहकार्य गरेर गेमर्स प्याक (Gamers Pack) ल्याएकाे छ । ३० अप्रिल २०२३ मा भएको सम्झौता अन्तर्गत वर्ल्डलिङ्कले बिहीबार फेसबुक लाइभमार्फत ई-सपोर्ट्सलाई लक्षित गेमर्स प्याक घोषणा गरेको हो ।

कम्पनीले दुई किसिमका प्याकेज सार्वजनिक गरेको छ; एउटा २५० एमबीपीएस र अर्को ३०० एमबीपीएस प्याकेज ।

२५० एमबीपीएस प्याकेजका लागि तीन महिनाको ३६०० रुपैयाँ र एक वर्षको १३ हजार ८०० रुपैयाँ शुल्क लाग्नेछ । एक वर्षको प्याकेज खरिद गर्ने ग्राहकले बेकन १.१ मेस राउटर निःशुल्क पाउनेछन् । डुअल ब्यान्ड यो राउटर वाई-फाई फाइभमा आधारित छ ।

यसले १५०० वर्ग फिटसम्म कम लेटेन्सी र उच्च स्पिडको इन्टरनेट उपलब्ध गराउने कम्पनीको दाबी छ । यदि उक्त राउटरको कभरेज कम भएको अनुभव भएमा प्रयोगकर्ताले बेकन १.१ मेस राउटर पनि पाउनेछन् ।

त्यस्तै कम्पनीले ल्याएको ३०० एमबीपीएस गेमर्स प्याकका लागि तीन महिनाको ४०५० रुपैयाँ र एक वर्षको १५ हजार ६०० रुपैयाँ शुल्क लाग्छ । यो प्याकेजसँगै कम्पनीले डुअल ब्यान्ड मेस वाई-फाई फाइभ राउटर पनि उपलब्ध गराउने छ । 

कम्पनीले अल्ट्रा गेमरहरूका लागि वाई-फाई सिक्स राउटर पनि ल्याएकाे छ । यो राउटर वाई-फाई फाइभ राउटरको तुलनामा ५० प्रतिशत बढी फास्ट हुने कम्पनीकाे भनाइ छ । यसका लागि प्रयोगकर्ताले पाँच हजार रुपैयाँ रेन्टल र तीन हजार रुपैयाँ डिपोजिट तिर्नुपर्ने हुन्छ ।

यदि उक्त राउटरको कभरेज पनि कम भएको महसुस भएमा प्रयोगकर्ताले बेकन २.० राउटर लिन सक्छन् । यसका लागि नौ हजार रुपैयाँ रेन्टल र तीन हजार रुपैयाँ डिपोजिट लाग्नेछ । यी दुवै राउटर चाहने ग्राहकले कूल २० हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

प्याकेजबारे थप बुझ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: साउन १९, २०८० १९:१५