close

भारतले लगायो पीसी, ल्यापटप, सर्भर लगायतका उपकरण आयातमा प्रतिबन्ध

टेकपाना टेकपाना

साउन २०, २०८० १९:५

भारतले लगायो पीसी, ल्यापटप, सर्भर लगायतका उपकरण आयातमा प्रतिबन्ध

काठमाडौं । भारतले ल्यापटप, सर्भर तथा अन्य विद्युतीय उपकरणको आयातमा प्रतिबन्ध लगाएको छ । प्रविधि क्षेत्रमा स्थानीय उत्पादनलाई प्राेत्साहन गर्ने उद्देश्यले भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले विभिन्न विद्युतीय उपकरण आयातमा प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले जारी गरेको सूचनामा ल्यापटप, ट्याब्लेट, पर्सनल कम्प्युटर र अन्य विद्युतीय उपकरण स्वदेशमा ल्याउन आयातकर्ताले अब लाइसेन्स लिनुपर्छ । यसअघि यस्ता वस्तुको आयातमा प्रतिबन्ध थिएन ।

तर, विदेश गएका भारतीय नागरिकले भने आफ्नो लगेजमा नियमअनुसार विद्युतीय उपकरण ल्याउन पाउनेछन् ।

मन्त्रालयले यस्तो नियम ल्याउनुको स्पष्ट कारण भने दिएको छैन । यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रामक रूपमा आफ्नो 'मेक ईन इन्डिया' अभियानलाई अगाडि बढाएका छन् ।

सोही अभियान अन्तर्गत प्रतिबन्ध लगाइएको विश्लेषण गरिएकाे छ । विद्युतीय उपकरण आयातमा प्रतिबन्ध गर्ने निर्णयले थप रोजगारी सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बढावा दिने विश्वास छ ।

यसअघि भारत सरकारले २०२० मा स्मार्ट टिभी आयातमा समान किसिमको प्रतिबन्ध लगाएको थियाे । रोयटर्सका अनुसार २०२३ को अप्रिलदेखि जुन महिनाको अवधिसम्म भारतले १९ अर्ब ७० करोड डलर बराबरको विद्युतीय उपकरण आयात गरेको थियो । यो रकम गत वर्षको यही अवधिको तुलनामा ६.२५ प्रतिशतले बढी हो ।

पछिल्लो अध्यावधिक: साउन २०, २०८० १९:४१