बीबीएस दोस्रो वर्ष पढ्दै म मेडिकल सप्लायरको काम पनि गर्छु । कामको सिलसिलामा दैनिक ५०/६० किलोमिटर यात्रा गरिरहनु पर्छ ।
मेरो रुचि विद्युतीय सवारी साधन (ईभी) मा थियो । काममा त्यत्रो हिँडिरहनु पर्ने भएकाले मैले नयाँ ईभी किन्ने सोचेको थिएँ । ईभी बारे केही अध्ययन गर्दा चिनियाँ कम्पनी टेल्जीको लायोन ब्रान्ड मन पर्यो ।
दुई महिना अगाडि त्यही विद्युतीय स्कुटर किनें । अहिलेसम्म यो स्कुटरमा साढे चार हजार किलोमिटर बढी यात्रा गरिसकेको छु ।
अहिलेसम्म स्कुटरप्रति मलाई कुनै पनि गुनासो छैन । उकालोमा पनि राम्रै पिकअप दिन्छ ।
एक पटक दुई जना साथी भएर फुल्चोकी गएका थियौं । त्यहाँ पनि हामीले सोचेभन्दा राम्रै भयो ।
यसको डिजाइन ‘क्लासिक’ छ । सेतो रङमा यो स्कुटर निकै आकर्षक देखिन्छ । खासमा मलाई यही डिजाइन मन परेर पनि किन्न पुगेको हुँ ।
यो स्कुटरलाई फिङ्गरप्रिन्ट, कि-लेस र चाबी गरी तीन तरिकाबाट ‘अन’ गर्न सकिन्छ । प्राय: म चाँबीबाट नै स्कुटर ‘अन’ गर्छु ।
कुदाउनका लागि यसमा तीन ओटा मोड छन् । यसमा ४५ एएच ७२ भोल्टको ब्याट्री राखिएको छ ।
जुन तीन हजार साइकलसहितको लिथियम आयन फोस्फेट ब्याट्री प्याक हो । प्राय: म चार्ज गर्दा शत प्रतिशत नै पुर्याउँछु ।
यसो हुँदा कम्तीमा एक साइकल पूरा हुन्छ । हुन त ८० प्रतिशतसम्म चार्ज गर्दा पनि साइकल त पूरा हुन्छ ।
तर मैले भने त्यसै गर्ने गरेको छु । यसरी एक पटकको फुल चार्जमा यो स्कुटरले ‘वान मोड’मा १६० किलोमिटर सम्मको रेञ्ज दिन्छ ।
‘सेकेन्ड मोड’मा भने १२० किलोमिटरसम्म पाउन सकिन्छ । स्कुटरको ग्राउन्ड क्लेरेन्स १६५ एमएम छ । बुट स्पेस २५ लिटरको छ ।
त्यसमा मलाई सामान राख्न त्यस्तो समस्या हुँदैन । स्कुटरमा ब्याट्री लेभल २५ प्रतिशत भएपछि म चार्ज गर्ने गर्छु ।
तर एक पटक ७/८ प्रतिशत हुँदा समेत मैले कुदाएको थिएँ । तर त्यसबेला पनि उस्तै पावर र पिकअप दिएको थियो ।
फरक भनेको कन्सोलमा ब्याट्री लेभलमा रातो बलेको थियो । स्कुटरमा फास्ट चार्जिङ भएकाले साढे तीन घण्टामा फुल चार्ज गर्न सकिन्छ ।
यसमा ‘बुस्ट’ र ‘अनबुस्ट’ फिचर छ, यसबाट तीन सेकेन्ड भित्रै ६० किलोमिटरसम्म पिकअप पाउन सकिन्छ ।
कम्पनीले यसमा सीडीएस डिस्क ब्रेक दिएको छ । यसले गर्दा मलाई यो स्कुटर कुदाइरहँदा निकै सुरक्षित महसुस हुन्छ ।
तर एक पटक म सानो दुर्घटनामा परें । त्यसबेला अर्को चालकले मेरो स्कुटरको पछाडिको भागमा आफ्नो गाडी ठोक्काइदिए ।
मानवीय क्षतिमा त भएन । तर त्यसबेला मेरो स्कुटरमा कम्पनीले गरेको ब्रान्डिङ भने बिग्रियो ।
त्यसै कारण टेल्जी (Tail G) हुनु पर्नेमा एल्जी (AIL G) मात्र छ । मैले अंग्रेजीको ‘टी’ खोजी हेरेँ, तर भेटिनँ । अहिले त्यत्तिकै कुदाइरहेको छु ।
मलाई स्कुटरमा अलि ठूलो टायर मन पर्छ । यसमा कम्पनीले अलि सानो टायर दिएको थियो ।
त्यही भएर कम्पनीको ‘टाइगर’ नामक अर्को मोडलको टायर फेरें । हुन त कम्पनीले टायर सानो हुँदा धेरै माइलेज दिन्छ र टायर ठूलो हुँदा कम माइलेज दिन्छ भनेको थियो ।
तर टायर ठूलो हुँदा स्कुटर चिप्लिँदैन भन्ने मैले सोचें । अहिले रेञ्जमा त्यस्तो समस्या भोग्नु परेको छैन ।
स्कुटर किन्दा कम्पनीले हेल्मेट, फास्ट चार्जर र टाइमर (ब्याट्री चार्ज उपयोगी) लगायत एक्सेसरिजका रुपमा दिएको थियो । मैले यो स्कुटर तीन लाख १० हजार रुपैयाँमा किनेको थिएँ ।
किनेपछि मैले एक पटक मात्र सर्भिसिङका लागि लगेको छु । खासमा ईभीलाई त्यति धेरै सर्भिसिङ पनि गर्नु पर्दैन । सर्भिसिङ गर्नै परे पनि कम्पनीले पैसा लिंदैन । यद्यपि कम्पनीले मोटरमा एक वर्ष र दुई वर्षसम्म निःशुल्क ब्याट्री मर्मत गर्ने ग्यारेन्टी दिएको छ ।
अहिलेसम्म चलाएको आधारमा मलाई यसप्रति त्यस्तो कुनै गुनासो छैन । पेट्रोलबाट चल्ने स्कुटरले भन्दा बढी पिकअप दिएको छ ।
म त्यत्रो हिड्नु पर्ने मान्छेलाई यो स्कुटरले दिनमा दुई लिटर पेट्रोलको पैसा जोगाइदिएको छ ।