काठमाडौं । जहाज डाइभर्ट गर्न लगाएपछि जर्मनीको हवाई कम्पनी लफ्थान्साका पाइलटले आकाशमै १५ माइल लामो लिङ्ग आकारको चित्र बनाइदिएका छन् । जर्मनीको हवाई कम्पनी लफ्थान्साका पाइलटको यस्तो हर्कत फ्लाइट राडारको वेबसाइटमा देखिएको हो ।
गत जुलाइ २८ मा पाइलटले फ्र्यान्कफर्टदेखि सिसिलीसम्मको उडान भरिरहेका थिए । एयर ट्राफिक वेबसाइट फ्लाइट राडार २४ का अनुसार जहाज दुई क्षेत्रको बीचमा पुगेपछि पाइलटलाई एयट ट्राफिक कन्ट्रोलबाट माल्टामा अवतरण गर्न निर्देशन दिइयो ।
उडानको मूल गन्तव्य क्याटानिया-फन्टानारोसा एयरपोर्टमा अवरोध भएपछि उनलाई माल्टामा अवतरण गर्न भनिएको थियो । जुलाई १६ तिर उक्त विमानस्थलको टर्मिनलमा आगोले क्षति पुर्याएको थियो ।
त्यसैको झोकमा पाइलटले १६ मिनेट लगाएर आकाशमै जहाजबाट १५ माइल लामो लिङ्गको आकारमा मोडेको बिजनेस इन्साइडरले जनाएको छ ।
फ्लाइट राडारले देखाएको डेटा अनुसार जहाज डाइभर्ट गर्न भनेपछि लफ्थान्साको विमानले सिसिलीको पूर्वी तटमा रहेको समुद्रमाथि १६ मिनेटसम्म एउटा आकार बनाएर उडिरह्यो । त्यसपछि उक्त विमान क्याटानियाको रुट हुँदै ३५ मिनेटपछि माल्टा पुग्यो ।
त्यतिबेला पाइलटले उक्त जहाजलाई आकाशमा लिङ्गको आकार बनाउँदै उडाएको देखिन्छ । पाइलटले जानाजानी उक्त आकारमा मोडेका हुन् वा होइनन् भन्ने चाहिँ स्पष्ट छैन ।
उक्त कम्पनीका प्रवक्ताले भने हावाको बहावका कारण क्याटानियामा अवतरण गर्न असम्भव भएको बताएका छन् । प्रवक्ताले फक्स न्युजलाई भनेका छन्, “उडानका क्रममा हावाको बहावले गर्दा पाइलले पुनः होल्डिङ उडान गर्नुपर्यो । त्यसपछि उनी माल्टा उडे, इन्धन भरे र अर्को दिशाबाट क्याटानिया पुगे ।”
पाइलटले आकाशमा यस्तो चित्र बनाएको यो पहिलो घटना भने होइन । बिजनेस इन्साइडरका अनुसार गत वर्ष पनि माल्टामा हेलिकोप्टरमा सवार सेनाले यस्तै आकृति बनाएका थिए ।
त्यस्तै बजफिड न्युजका अनुसार गत वर्ष अमेरिकी सेनाले रुसमा रहेको सिरियन सहरमाथि पनि लिङ्गको आकार बनाएका थिए ।