close

मस्कले आफूहरूको फाइट एक्समा देखाउने भनेपछि जुकरबर्गले भने- ‘त्योभन्दा गतिलो प्लेटफर्म छैन र ?’

टेकपाना टेकपाना

साउन २२, २०८० ९:३०

मस्कले आफूहरूको फाइट एक्समा देखाउने भनेपछि जुकरबर्गले भने- ‘त्योभन्दा गतिलो प्लेटफर्म छैन र ?’

काठमाडौं । एलन मस्कले मार्क जुकरबर्ग र आफ्नो लडाइँ एक्समा प्रत्यक्ष प्रसारण हुने भनेपछि जुकरबर्गले जवाफमा त्योभन्दा गतिलो प्लेटफर्म छैन र भनी प्रश्न गरेका छन् ।

मस्कले एक्समा गरेकाे पाेस्टकाे स्क्रिनशट थ्रेड्समा शेयर गर्दै जुकरबर्गले परोपकारी कामका लागि लाइभमार्फत रकम सङ्कलन गर्न एक्सभन्दा उपयुक्त प्लेटफर्म अन्य भएको आशय व्यक्त गरेका हुन् ।

आइतबार मस्कले एक्समार्फत आफ्नो र मार्क जुकरबर्गको भिडन्त एक्समा लाइभ स्ट्रिम हुने घोषणा गरेका थिए । र, त्यसबाट सङ्कलन भएको रकम दिग्गज व्यक्तिहरूका लागि परोपकारी काममा लगाउने उनले बताएका थिए ।

त्यसो त ट्वीटरका रूपमा परिचित एक्सको लाइभ स्ट्रिमिङ सेवा विश्वभर पूर्ण रूपमा रोलआउट हुने क्रममै छ । परीक्षणकै चरणमा भएको यो फिचरको चर्चाका लागि मस्कले त्यसो भनेको हुनसक्ने धेरैको आशंका छ । यसअघि ट्वीटरमा थर्ड पार्टी लाइभ स्ट्रिमिङको सुविधा मात्र थियो ।*

तर, रकम सङ्कलन नै गर्ने हो भने एक्सभन्दा भरपर्दो कैयौं प्लेटफर्म भएको जुकरबर्गको भनाइ छ । “हामीले वास्तवमा परोपकारका लागि पैसा उठाउन सक्ने त्योभन्दा भरपर्दो प्लेटफर्म प्रयोग गर्न सक्दैनौं र ?” उनले थ्रेड्समा मस्कलाई कटाक्ष गर्दै लेखेका छन् । 

यसको आशय जुकरबर्गले आफ्ना प्लेटफर्म फेसबुक इन्स्टाग्राम, फेसबुक वा थ्रेड्समा लाइभ गर्न चाहेको भन्दै एक्समा पोस्ट आइरहेका छन् । मस्कले भने डेलीमेलले मेटाका प्लेटफर्म डाउन भए भन्दै राखेको समाचारको लिङ्क शेयर गर्दै यी प्लेटफर्ममा गर्ने उपयुक्त हुन् त भन्ने प्रश्न गरेका छन् ।

* स्पष्टताका लागि समाचार अपडेट गरिएको छ । -स.

पछिल्लो अध्यावधिक: साउन २३, २०८० ११:८