close

फेसबुकमा अचम्मकाे बग, बाबुराम भट्टराईको ८ वर्ष अघिको पोस्टमा सबै कमेन्ट उनकै !

टेकपाना टेकपाना

साउन २२, २०८० १३:४०

फेसबुकमा अचम्मकाे बग, बाबुराम भट्टराईको ८ वर्ष अघिको पोस्टमा सबै कमेन्ट उनकै !

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईको आठ वर्ष पुरानो पोस्ट भाइरल भएको छ ।

“जबसम्म भारत-पाक सम्बन्ध सामान्य बन्दैन तबसम्म सार्क यस्तै कर्मकाण्डे नियति भोग्न बाध्य रहन्छ भन्ने मेरो पहिलेदेखिको बुझाइ पुन: पुष्टि भएको छ,” लेखिएको स्ट्याटसमा आएका कमेन्टका कारण उक्त पोस्ट अहिले भाइरल छ ।

याे पोस्टमा आएका पुराना सबै कमेन्टहरू डा. भट्टराईकै पेजबाट आएको छ । कतिपय कमेन्टमा उनैलाई अश्लील गालीसमेत गरिएको छ भने कुनैमा अन्य नेताहरूलाई गाली तथा आलोचना गरिएको छ । 

अनौठो कुरा के भने आठ वर्षअघि गरिएको पोस्टमा मात्रै उनकाे नामबाट कमेन्ट गरिएकाे देखिन्छ, तर अहिले उक्त पाेस्टमा कमेन्ट गर्दा वास्तविक प्रयाेगकर्ताकै नाम आउँछ ।

यसका पछाडि दुई ओटा कारण हुनसक्ने विश्लेषकले बताएका छन् । एउटा फेसबुक बग । यस्तो फेसबुक कमजोरी, जसले अन्य व्यक्तिले गरेका कमेन्ट पनि डा. भट्टराईकै नामबाट गरिएको जस्तो बनाइदियो ।

गत वर्ष सेलिब्रेटीको अकाउन्टबाट विभिन्न व्यक्तिको अकाउन्टमा कमेन्ट हुने अचम्मको बग फेसबुकमा देखिएको थियो । डा. भट्टराईको सन्दर्भमा पनि त्यही बगका कारण अरूको कमेन्ट उनको अकाउन्टबाट भएको देखिएको हो कि भन्ने आशंका छ ।

त्यसबाहेक भट्टराईको पेजको एक्सेस अरू कसैले लगेको र त्यसैबाट पोस्टमा कमेन्ट गरेको हुनसक्ने आशंका गरिएको छ । तर, आठ वर्षअघि गरिएका त्यस्ता कमेन्ट किन आजसम्म सतहमा आएनन् भन्ने आशंका उब्जाएको छ ।

यसको वास्तविक कारण भने बाहिर आइसकेको छैन ।  

 

 


 

अपडेटः डा. भट्टराईले आठ वर्षअघिको उक्त पोस्ट हटाएका छन् । 

पछिल्लो अध्यावधिक: साउन २२, २०८० १४:४१