close

महावीर पुनले राष्ट्रदीप द्वितीय मेडल बिक्री गरे विभूषण रद्द हुने

टेकपाना टेकपाना

साउन २३, २०८० १६:१५

महावीर पुनले राष्ट्रदीप द्वितीय मेडल बिक्री गरे विभूषण रद्द हुने

 

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले पाएको ‘कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणी’ मानपदवी बिक्री गरे राज्यबाट उनले पाएको विभूषण रद्द हुने भएकाे छ । गृह मन्त्रालय अन्तर्गतको विभूषण तथा सभा समारोह शाखाले मंगलबार पुनलाई पत्र पठाएर विभूषण न्यूनतम मूल्य राखेर लिलामी गरे विभूषण रद्द हुने चेतावनी दिएको हो । 

“विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादा विपरित हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ र कानून बमोजिम कुनै विभूषण रद्द गरिएमा विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाई सर्वसाधारणको जानकारीको लागि सार्वजनिक सूचना जारी गर्ने कानूनी व्यवस्था छ,” मन्त्रालयले पठाएको पत्रमा भनिएको छ । 

करिब तीन वर्षअघि बिक्री गर्न खोजिएका विभिन्न मेडलहरू कोरोना कहरले गर्दा बिक्री नभएपछि पुनले साउन १७ गते आफूले पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका मेडल पुनः लिलामीमा राखेका थिए ।

वीरगन्ज कृषि औजार कारखानाका लागि खर्च जुटाउन पुनले मेडल बिक्री गर्न लागेको बताएका थिए । गृह मन्त्रालयबाट पत्र प्राप्त भएपछि पुनले सामाजिक सञ्जालमा एक पाेस्ट राख्दै “यो चाहिँ बिक्री गर्न नपाइने भयो,” भनेर लेखेका छन् ।

पछिल्लो अध्यावधिक: साउन २३, २०८० १६:१५