close

एन्ड्रोइडको २०० मेगापिक्सेल क्यामेरा भन्दा १२ मेगापिक्सेलको आईफोनबाट किन राम्रो फोटा आउँछ ?

टेकपाना टेकपाना

साउन २६, २०८० ९:४५

एन्ड्रोइडको २०० मेगापिक्सेल क्यामेरा भन्दा १२ मेगापिक्सेलको आईफोनबाट किन राम्रो फोटा आउँछ ?

 

काठमाडौं । पछिल्लो समय स्मार्टफोन ब्रान्डहरू क्यामेरामा बढी केन्द्रित छन् । फोनमा कति मेगापिक्सेलको क्यामेरा छ भन्ने कुरा नै मुख्य विशेषताका रूपमा हेरिन्छ । के क्यामेराको मेगापिक्सेल बढी हुँदैमा फोटोको गुणस्तर पनि राम्रो हुन्छ ? फोटोको गुणस्तर राम्रो हुन अन्य कुन कुन तत्त्वले महत्त्वपूर्ण भूमिका खेल्छन् ? आज हामी यसै विषयमा जानकारी दिँदैछौं ।

नेपाली बजारमा २०० मेगापिक्सेलसम्म मुख्य क्यामेरा भएका फाेन भित्रिएका छन् । एन्ड्राेइड फाेनमा ६४, १०८ मेगापिक्सेल मुख्य क्यामेरा हुनु सामान्य कुरा भइसक्यो ।

आईफोनको सन्दर्भ अघिल्लाे वर्ष सार्वजनिक भएको आईफोन १४ प्रो र प्रो म्याक्समा हालसम्मकै सबैभन्दा बढी अर्थात् ४८ मेगापिक्सेलको क्यामेरा छ । नेपालमा भने आईफाेन १३ प्रो र १३ प्रो म्याक्सका प्रयोगकर्ता बढी भएको अपेक्षा गरिएको छ । उक्त मोडेलमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा छ । 

माथि उल्लेखित मेगापिक्सेल भएका एन्ड्रोइड फोन र १२ मेगापिक्सेल मुख्य क्यामेरा भएको आईफोन १३ प्रो म्याक्सले खिचेका फोटोको गुणस्तर हेर्ने हो भने आईफोनबाट खिचेको फोटो नै स्तरीय देखिन्छ । यसको अर्थ फोनमा स्तरीय फोटो खिच्न मेगापिक्सेल सबैथोक होइन । 

मेगापिक्सेल कम भएपनि आईफोनको क्यामेरामा प्रयोग हुने सेन्सर ठूलो हुन्छ । ठूलो सेन्सरले बढी लाइट क्याप्चर गर्छ । जसले गर्दा फोटो खिच्न लागिएको वस्तुबाट लेन्समा पर्याप्त प्रकाश आउँछ । त्यसैले आईफोनले खिच्ने फोटोको गुणस्तर राम्रो हुनुका साथै सार्पनेस पनि बढी हुन्छ । 

यति कुरा मात्र एउटा स्तरीय फोटो खिच्नका लागि पर्याप्त छैनन् । त्यसमा पनि फोटो प्रोसेस गर्न सफ्टवेयर गतिलो हुनुपर्छ । एन्ड्रोइडको तुलनामा आईफोनले राम्रो इमेज प्रोसेसिङ सफ्टवेयर प्रयोग गरेको हुन्छ । यसले गर्दा फोटोमा सटीक कलर कन्ट्रास्ट र डिटेल निस्किन्छ । 

२०० मेगापिक्सेल वा बढी मेगापिक्सेलले डिटेल फोटो खिच्न सक्छन् । त्यसमा कुनै दुई मत छैन । तर त्यसमा हुने सानो सेन्सर र लेन्सले गर्दा फोटो जस्तो हुनुपर्ने हो, त्यस्तो निस्किँदैन । 

स्तरीय फोटो खिच्न तल दिइएका कुराहरूले महत्त्वपूर्ण भूमिका खेल्छन्:

सेन्सर आकार

डिभाइसमा जति ठूलो सेन्सर भयो, फोटो त्यति नै स्तरीय खिच्न सकिन्छ । ठूलो सेन्सरले बढी लाइट क्याप्चर गर्ने भएकाले खिचिएको फोटो गुणस्तरीय हुन्छ ।

पिक्सेलको गुणस्तर

फोटोका लागि हरेक पिक्सेलको महत्त्व उत्तिकै बढी हुन्छ । ठूलो सेन्सरले फोटोका हरेक पिक्सलाई राम्रोसँग अटाएको हुन्छ । जसले गर्दा फोटो स्तरीय आउँछ । 

इमेज प्रोसेसिङ 

स्मार्टफोनमा प्रयोग हुने इमेज प्रोसेसिङ एल्गोरिदमले पनि फोटोको गुणस्तरमा धेरै ठूलो भूमिका खेल्छ । आईफोनमा प्रयोग हुने स्तरीय इमेज प्रोसेसिङ एल्गोरिदमले कलर एकुरेसी (वास्तविक जस्तो देखिन्छ त्यस्तै कलर), सार्पनेस (फोटोको डिटेल), न्वाइज रिडक्सन जस्ता कुरालाई सन्तुलन राख्छ । कतिपय स्मार्टफोनले यसैलाई विशेष प्राथमिकता नदिँदा फोटोको गुणस्तर खस्किरहेको हुन्छ । 

लेन्सको गुणस्तर

फोटो राम्रो आउनका लागि फोनको क्यामेरामा प्रयोग गरिने लेन्स पनि गुणस्तरीय हुनुपर्छ । लेन्सको डिजाइन, अपार्चर जस्ता कुराले पनि फोटोको गुणस्तर राम्रो बनाउनमा विशेष भूमिका खेलेका हुन्छन् ।

यीबाहेक पनि फोनमा त्यस्ता अन्य थुप्रै तत्व हुन्छन्, जसले फोटोको गुणस्तर निर्धारण गर्छन् । बजेट फोनहरूमा ती तत्वमा कम्पनीले खर्च गरेका हुँदैनन् । त्यसैले पनि बढी मेगापिक्सेलको सेन्सर भएका फोनमा गुणस्तरीय फोटो आउँदैन । एन्ड्रोडइका प्रिमियम फोनमा भने फोटो स्तरीय फोटो नै आउँछ ।

पछिल्लो अध्यावधिक: साउन २६, २०८० ९:४५