काठमाडौं । अमेरिकास्थित क्यालिफोर्नियाका अग्निनियन्त्रकहरूले डढेलो पत्ता लगाउन एआई प्रयोग गर्ने भएका छन् । 'अर्लट क्यालिफोर्निया एआई परियाेजना' मार्फत एक हजारभन्दा बढी स्थानमा क्यामेरा जडान गरेर उनीहरूले यो कार्यक्रम गर्न लागेका हुन् ।
एआई प्रणालीले ती क्यामेराका भिडिओ फुटेजलाई विश्लेषण गरेर वास्तविक समयमा जङ्गलमा लागेको आगलागी पहिचान गर्न सक्ने जनाइएको छ ।
चौबिसै घण्टा काम गर्ने उक्त प्रणालीले आगो लागेको थाहा पाए सबैभन्दा पहिला अग्निनियन्त्रकलाई सूचना पठाउँछ । यसले गर्दा समयमा नै डढेलो नियन्त्रण हुने उनीहरूकाे विश्वास छ ।
यस कार्यक्रम लागू भएपछि दुर्गम ठाउँ क्लिभल्याण्डको जङ्गलमा बिहान ३ बजे लागेको आगो एआई प्रणालीले पत्ता लगाएको थियो । लगत्तै ६० भन्दा बढी अग्निनियन्त्रक घटना स्थलमा पुगेर ४५ मिनेट भित्रमा आगो नियन्त्रणमा लिएका थिए । यसले प्रणालीको प्रभावकारिता देखिएको उनीहरूले बताएका थिए ।
अर्लट क्यालिफोर्निया प्रणालीलाई क्यालिफोर्निया विश्वविद्यालय स्यान डिएगोका इन्जिनियरहरूले स्थानीय कम्पनी डिजिटलपाथसँग सहकार्य गरेर तयार पारेका हुन् । उनीहरूले प्रणालीलाई सफल बनाउन क्यालिफोर्नियाको विभिन्न स्थानमा १०३८ क्यामेरा राखेका छन् ।
ती क्यामेराले ३६० डिग्रीमा भिडिओ खिच्न सक्छ । त्यस्तै तिनलाई रिमोट कन्ट्रोलबाट नै चलाउन सकिन्छ । यस प्रणालीले आपतकालीन नम्बरमा कल आउनु अगावै अग्निनियन्त्रकलाई डढेलोबारे सूचना दिने दाबी गरिएको छ ।
त्यस्तै उक्त प्रणालीले क्यामेराहरू आगलागीका कारण कति बिरुवा र रूखहरू जल्न सक्छन् भनेर पत्ता लगाउने, पृथ्वीको सतहमुनि रहेको वनस्पतिको म्यापिङ गर्ने, इन्फ्रारेड र अन्य वेभलेन्थ पनि समात्ने बताइएको छ । यसका लागि क्यामेरा नेटवर्कमा ड्रोन तथा हवाईजहाज प्रयोग गरिने जनाइएको छ ।
त्यस्तै जाडोको समयमा भने उक्त प्रणालीले हावामा कति पानी छ र जमिनमा कति हिउँ छ भनेर जाँच गर्न सक्छ । यसरी सङ्कलन गरिएको डेटा निजी कम्पनी तथा शैक्षिक अनुसन्धानकर्ताहरूको लागि उपलब्ध हुने बताइएको छ । यसले आगोको व्यवहारको मोडेलिङ, वातावरणीय परिवर्तनहरू अध्ययन गर्न र वातावरणीय विश्लेषण गरी नयाँ एआई एप्लिकेसन तयार पार्न सहयोगी हुने अपेक्षा गरिएको छ ।
प्रत्येक वर्ष पृथ्वीमा प्राकृतिक प्रकोप बढिरहँदा अर्लट क्यालिफोर्निया कार्यक्रम एक नवीन कार्य भएकाे र यसले प्रकोप नियन्त्रण र वातावरणीय अनुगमनमा अर्थपूर्ण सहयाेग गर्ने प्रतिक्रियाहरू आएका छन् ।