काठमाडौं । घर, कोठा, फर्निचरको क्षेत्रफल होस् अथवा कुनै व्यक्तिको उचाई नै किन नहोस्, आवश्यक समयमा नाप्ने फिता साथमा नहुन सक्छ । तर अहिलेको समयमा तपाईंसँग स्मार्टफोन भने हरपल साथमै हुन्छ, जसलाई तपाईं नाप्ने फिताको रूपमा समेत प्रयोग गर्न सक्नु हुन्छ ।
कुनै पनि कुराको नापो लिनुपर्यो भने हामी फिता खोज्न थाल्छौ । यदि तपाईंसँग स्मार्टफोन छ भने तपाईंले सहजै कुनै पनि चिजबिजको नाप ९५ प्रतिशत सटीकताका साथ लिन सक्नुहुन्छ ।
आज हामी तपाईंलाई यसरी फिताको काम गर्ने एउटा निःशुल्क एपको बारेमा बताउँदै छौं, जसको नाम हो, एआर रुलर एप । पछिल्लो संस्करणका एप्पल डिभाइसमा कम्पनीले नै बिल्ट इन रुलर फिचर उपलब्ध गराउन थालेको छ ।
सोही फिचर प्रयोग गरेर कुनै पनि चिज वस्तुको नाप लिन सकिन्छ । तर यहाँ आज हामीले चर्चा गर्न खोजेको भन्ने फरक टुल हो ।
यसका लागि सबैभन्दा पहिला एन्ड्रोइडका लागि यहाँ क्लिक र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर एआर रुलर एप डाउनलोड गरी इन्स्टल गर्नुहोस् । यदि तपाईं निःशुल्क रूपमा यो एप प्रयोग गर्न चाहनु हुन्छ भने अलि बढी विज्ञापनका लागि सम्झौता गर्न तयार रहनु होस् ।
एप खोलिसकेपछि एपको प्रिमियम प्लान छान्न भनिएको हुन्छ । (मासिक छ डलर तिरेको अवस्थामा विज्ञापन देखिँदैनन्, यसमा नापको आर्काइभ राख्ने सुविधादेखि लिएर प्रिमियम टुल पाउन सकिन्छ )
उक्त प्रिमियम प्लान अस्वीकार गर्न माथि दायाँपट्टि रहेको क्रस (X) चिह्नमा ट्याप गर्नुहोस् ।
यति गरेपछि उक्त एपले के के काम कसरी गर्छ भन्ने जानकारीका लागि तयार पारेको भिडिओ राखिएको पेज खुल्छ, उक्त पेजमा रहेको कन्टिन्युको बटनमा ट्याप गर्नुहोस् ।
त्यसपछि खुल्ने विज्ञापन हटाउनुहोस् ।
यति गरेपछि तपाईंलाई नाप सेन्टिमिटर, मिटर, मिलिमिटर, ईन्च, फिट वा यार्ड कुन एकाइमा चाहिन्छ, त्यो छान्नुहोस् । हामीलाई मिटर र फिट एकाइ बढी काम लाग्न सक्छ । यद्यपि आफूलाई आवश्यक पर्दा एकाइ परिवर्तन गर्न पनि सकिन्छ ।
अनि त्यहाँ एउटा अर्को नयाँ पेज खुल्छ, जसमा कसरी नाप्ने भन्ने सिकाइएको हुन्छ । डेमो हेरेर पुनः अन्तिममा रहेको कन्टिन्यु (Continue) बटनमा ट्याप गर्नुहोस् ।
एपले डिभाइसको क्यामेरा प्रयोग गर्ने भएकाले फोटो र भिडिओ रेकर्ड गर्ने अनुमति दिनुहोस् ।
अब यो एपबाट कुनै पनि चिज वस्तुको नाप लिन सक्नु हुन्छ ।
कसरी लिने नाप ?
एप अर्को पटक खोल्दा माथि जस्तै प्रक्रिया देखिन्छ । माथिका प्रक्रिया अपनाउँदै जाँदा तलपट्टि बीचमा प्लस (+) को बटनमा ट्याप गर्नुहोस् ।
अनि टेक अ मिजरमेन्ट्स (Take measurements) को अप्सनमा थिच्नुहोस् ।
यति गरिसकेपछि फोनलाई समथर भागतर्फ तेर्साउनुहोस् । अनि गोलो घेरालाई आफूले नाप लिन चाहेको भागमा पुर्याउनु होस् र प्लसको आइकन थिच्नुहोस् ।
अब आफूले कहाँसम्मको नाप लिने हो फोन त्यहाँसम्म लगेर प्लसको आइकन फेरि थिच्नुहोस् । यति गरेपछि दुई विन्दुको दूरी कति छ भन्ने थाहा पाउन सकिन्छ । तर याद गर्नुहोस्, लाइन सिधा लग्नुपर्ने हुन्छ । अलिकति पनि छड्के भएको अवस्थामा नाप गलत देखिन्छ ।
यसरी तपाईं कुनै पनि वस्तुको नाप सहजै लिन सक्नुहुन्छ । आफूले नापेको ठाउँको फोटो नापसहित खिचेर सेभ गर्न पनि सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो एप अफलाइनमा पनि प्रयोग गर्न सकिन्छ ।
त्यसबाहेक पनि यो एपको सहायताले रुम प्लान पनि बनाउन सक्नुहुन्छ । अर्थात् कोठामा कति स्पेस के कुराका लागि छुट्टयाउने, कुन वस्तु कुन ठाउँमा राख्दा सही नाप मिल्छ भन्ने कुराहरू पनि एपबाटै थाहा पाउन सकिन्छ ।