close

गुगलले हरेक वर्ष एप्पललाई किन तिर्छ नेपालको बजेटभन्दा झण्डै दोब्बर बढी रकम ?

टेकपाना टेकपाना

साउन २८, २०८० १८:४४

गुगलले हरेक वर्ष एप्पललाई किन तिर्छ नेपालको बजेटभन्दा झण्डै दोब्बर बढी रकम ?

काठमाडौं । गुगल र एप्पल एक अर्काका कडा प्रतिद्वन्द्वी हुन्, यसमा कसैको दुईमत छैन । एउटा कम्पनीले जे जस्ता प्रोडक्ट ल्याएको छ, अर्को कम्पनीले पनि त्यस्तै प्रोडक्ट तथा सेवाहरू ल्याइरहेको हुन्छ । 

यता एप्पल संसारकै सबैभन्दा मूल्यवान ब्रान्ड हो भने अर्को तर्फ गुगलले संसारमा सबैभन्दा बढी प्रयोग हुने एन्ड्रोइड अपरेटिङ सिस्टमलाई नियन्त्रण गरेको छ । 

गुगलका कैयौं एपहरू जस्तै गुगल सर्च, म्याप्स, जिमेल र युट्युब आधुनिक जीवनका लागि अत्यावश्यक बनेका छन् । यस्तो कम्पनी गुगलले आफ्नो निकटतम् प्रतिद्वन्द्वी एप्पललाई वर्षेनी अर्बौं डलर रकम तिर्छ । 

गुगल र एप्पल एकअर्कामा के कुरामा भर पर्छन् ?

इन्टरनेटमा कुनै पनि कुरा खोज्नुपर्‍यो भने हामी गुगल सर्च नै प्रयोग गर्न रुचाउँछौं । आफूसँग सफारी, ब्रेभ, क्रोम, बिङ वा अन्य जुनसुकै ब्राउजर भए पनि हाम्रो डिफल्ट सर्च इन्जिन गुगल नै हुन्छ । यदि अन्य सर्च इन्जिन छानेका छौं भने हामीलाई आफूले जे कुरा सर्च गरेको हो, त्यो नभेटिएको महसुस हुन्छ । स्ट्याट काउन्टरका अनुसार गुगल सर्चले ९० प्रतिशत बजार हिस्सा ओगटेको छ । 

तपाईं आईफोनमा सफारी प्रयोग गर्दा होस् अथवा सामसङमा इन्टरनेट प्रयोग गर्दा नै किन होस्, सर्च इन्जिनका लागि प्रायः गुगल सर्च नै प्रयोग गरिरहनु भएको हुन्छ । गुगलको आम्दानीको प्रमुख स्रोतमध्ये सर्च पनि एक हो । सर्चमार्फत हुने विज्ञापनबाटै गुगलले आम्दानी गरिरहेको हुन्छ । 

जबदेखि गुगलले एन्ड्रोइड अपरेटिङ सिस्टम आफ्नो स्वामित्वमा लियो, तबदेखि एन्ड्रोइड फोनमा गुगल डिफल्ट सर्च इन्जिनका रूपमा प्रयोग हुँदै आएको छ ।

तर, आईफोन, आईप्याड, म्याकबुकमा हुने सफारीमा गुगल सर्च कसरी डिफल्ट सर्च इन्जिन बन्यो ? प्रयोगकर्तालाई गुगल मनपर्ने भएकाले एप्पलले आफ्नो ब्राउजरमा गुगल सर्चलाई डिफल्ट सर्च इन्जिन बनाएको होइन  ।

एप्पलका सबै डिभाइसमा गुगल सर्चलाई डिफल्ट सर्च इन्जिनका रूपमा राख्नकै लागि गुगलले एप्पललाई वर्षेनी अर्बौं डलर तिर्ने गरेको छ । तर, ठ्याक्कै कति त ? सन् २०२० मा द वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक रिपोर्ट अनुसार गुगलले त्यस वर्ष अनुमानित आठदेखि १२ अर्ब डलर एप्पललाई बुझाएको थियो ।

फोर्ब्स रिपोर्टका अनुसार २०२१ मा गुगलले त्यो वर्ष झन्डै १५ अर्ब डलर रकम एप्पललाई तिरेको थियो । सो रकम सन् २०२२ मा बढेर १९ देखि २० अर्ब डलर पुग्ने अपेक्षा गरिएको थियो । 

यो नै प्रविधि उद्योगमा भएको सबैभन्दा ठूलो सहकार्य मध्येको एक हो । सर्च इन्जिन बजारमा आफ्नो एकाधिकार कायम राख्नकै लागि गुगल त्यति मोटो रकम तिर्न तयार भएको हो । 

उत्तर अमेरिकामा एप्पलले समग्र स्मार्टफोन र ट्याब्लेटमा आधाभन्दा बढी बजार ओगटेको छ । यदि एप्पलले गुगल सर्चको साटो बिङलाई डिफल्ट सर्च इन्जिनका रूपमा राख्यो भने गुगलले तत्कालै लाखौं प्रयोगकर्ता गुमाउनेछ ।

जसले गुगलको विज्ञापनको व्यापार नै तहसनहस हुने देखिन्छ । 

त्यसो त मानिसहरू गुगलमा अभ्यस्त भइसकेका छन् । यस्तो अवस्थामा एप्पलले बिङलाई नै डिफल्ट सर्च इन्जिन राखे पनि प्रयोगकर्ता आफैंले परिवर्तन गर्न सक्ने प्रश्न उठ्न सक्छ ।

तर, वास्तवमा प्रायः मानिसहरू डिफल्ट सेटिङहरू नै प्रयोग गर्न रुचाउँछन् । केही प्रतिशत प्रयोगकर्ताले डिफल्ट सर्च इन्जिन गुगल राखे पनि प्रायः प्रयोगकर्ताले डिफल्ट सर्च इन्जिन नै प्रयोग गर्ने देखिन्छ । 

 

गुगल सर्च र बिङको जुधाईमा एप्पलको रजाईं

ओपन एआई नामक कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्सनमा आधारित च्याटबट सार्वजनिक गरेपछि संसारभर एआईको चर्चा चुलियो । त्यससँगै सर्च इन्जिनमा दिग्गज मानिएका माइक्रोसफ्ट र गुगल जस्ता कम्पनीले पनि आफ्नै एआई टुल सार्वजनिक गरे ।

हाल गुगलको बार्डभन्दा माइक्रोसफ्टको बिङ एआई बढी एड्भान्स छ । यदि बार्डभन्दा बिङ चर्चा बढी हुने हो भने एप्पलले त्यसको फाइदा उठाउन सक्छ ।

किनभने बिङ मानिसहरूमा बढी लोकप्रिय छ, यदि तिमीले रोयल्टी बढाएनौ भने हामी बिङ प्रयोग गर्छौं भन्दै एप्पललाई बढी रकम उठाउने अवसर मिल्छ ।

त्यस्तै यदि गुगलले उक्त माग अस्वीकार गरेको अवस्थामा एप्पलले सबै डिभाइसमा बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने सम्भावना बढ्छ । त्यसैले यी दुई कम्पनीको जुधाईमा एप्पललाई फाइदा हुने निश्चित छ ।

 

पछिल्लो अध्यावधिक: साउन २८, २०८० १८:४७