काठमाडौं । केही समयदेखि इन्टरनेटमा एलन मस्क र मार्क जुकरबर्गको केज फाइटको विषयले निकै चर्चा पाएको छ । दुवै युवा धनाढ्यहरूले एक-अर्कासँग भिड्न तयार भएको बताए पनि अन्ततः यो लडाइँ लगभग नहुने भएको छ ।
आइतबार जुकरबर्गले आफ्नो सामाजिक सञ्जालको प्लेटफर्म थ्रेड्समा एक पोस्ट राख्दै यो विषय बन्द गर्नुपर्ने बताएका छन् । “एलन यो विषयमा गम्भीर छैनन् भन्ने कुरामा मलाई लाग्छ हामी सबै सहमत छौं,” उनले पोस्ट राख्दै भनेका छन्, “अब यो लडाइँको विषयबाट अघि बढ्नुपर्ने समय आएको छ ।”
आफूले वास्तविक समय दिएको र उक्त प्रतिस्पर्धाबाट उठेको रकम दिग्गज व्यक्तिका लागि परोपकारी काममा लगाउने निर्णय भइसकेको अवस्थामा मस्कले आलेटाले गरेर पन्छिन खोजेको जुकरबर्गको आरोप छ ।
“एलनले मिति कन्फर्म नै गरेनन्,” जुकरबर्ग अगाडि लेख्छन्, “त्यसपछि उनले आफ्नो शल्यक्रिया गर्नुपर्ने बताए । अनि अहिले आएर एक पटक प्राक्टिस राउन्ड गर्नुपर्ने भन्दैछन् ।”
यदि मस्क प्रतिस्पर्धाको मिति र आधिकारिक इभेन्टको बारेमा गम्भीर भएको भए उनले जसरी पनि आफूलाई भेटेर कुरा राख्न सक्ने जुकरबर्गको भनाइ छ । “अन्यथा अब अगाडि बढ्ने समय आएको छ । यो प्रतिस्पर्धालाई गम्भीरतापूर्वक लिने व्यक्तिसँग प्रतिस्पर्धा गर्नमा केन्द्रित हुँदैछु म,” उनले लेखे ।
जुकरबर्गले मस्कलाई २८ अगस्टमा प्रतिस्पर्धा गर्ने भनेको भए पनि उनले उक्त मितिलाई लिएर कुनै स्वीकारोक्ति देखाएनन् । यता मस्क भने उक्त प्रतिस्पर्धा एक्सबाट प्रत्यक्ष प्रसारण हुने बताउँदै आएका थिए । तर, पछिल्लो समय आफ्नो घाँटीको शल्यक्रिया गर्नुपर्ने भन्दै केज फाइटको मिति सर्न सक्ने मस्कले बताएका थिए ।
पछिल्लो समय मस्कले एक्समा जुकरबर्ग र आफूबीच भएको कुराकानीको स्क्रिनशट पोस्ट गरेका थिए । उनले मेसेज मार्फत जुकरबर्गलाई आधुनिक ब्रुसलीको संज्ञा दिँदै जसरी पनि जुकरबर्गले जित्ने बताएका थिए ।
जुकरबर्गले थ्रेड्समा राखेको पोस्टको स्क्रिनशट केही प्रयोगकर्ताले एक्समा शेयर गरेका छन् । त्यसमध्ये एश्ली सेन्ट क्लेयर नाम भएकी प्रयोगकर्ताले शेयर गरेको स्क्रिनशटको रिप्लाइमा मस्कले लेखेका छन्, “जुक चिकेन हो ।”