close

कर्पोरेट प्रयोगकर्तालाई नेपाल टेलिकमका एक दर्जन बढी सुविधा

टेकपाना टेकपाना

भदौ १, २०८० १७:११

कर्पोरेट प्रयोगकर्तालाई नेपाल टेलिकमका एक दर्जन बढी सुविधा

काठमाडौं । नेपाल टेलिकमले कर्पोरेट क्षेत्रका प्रयोगकर्तालाई लक्षित गरी विभिन्न सुविधा उपलब्ध गराइरहेको छ । एउटै कार्यालयमा रहेका विभिन्न कर्मचारीहरूको समूहले एकै पटक धेरै संख्यामा प्रयोग गर्न सकिने यस्ता सेवाहरू उपयोगी रहेको टेलिकमको भनाइ छ ।

टेलिकमका वायरलेस र वायरलाइन सेवाअन्तर्गत यस्ता सुविधा सञ्चालनमा छन् । वायरलेस सेवाअन्तर्गत Prepaid/Postpaid Mobile, CUG, Pay on Behalf, Consolidated Account, SMS Services, Namaste WiFi, Gift Package Portal, Corporate CRBT लगायतका सेवा प्रयोग गर्न सकिन्छ ।

त्यसैगरी वायरलाइन सेवा अन्तर्गत PSTN/FTTH, Lease Line, SIP PBX, Toll Free Phone, Audio Notice Board आदि प्रयोग गर्न सकिन्छ ।

सामान्य व्यक्तिसरह कर्पोरेट ग्राहकले पनि वायरलेसअन्तर्गत नेपाल टेलिकमका प्रिपेड र पोस्टपेड मोबाइल तथा वायरलाइनअन्तर्गत ल्यान्डलाइन र एफटीटीएच सेवा प्रयोग गर्नसक्ने कम्पनीले जनाएकाे छ । भ्वाइस र डेटा सुविधाका लागि यी सेवाको प्रयोग गरिन्छ ।

सीयूजी (कर्पोरेट युजर ग्रुप)

याे सेवाअन्तर्गत कुनै संस्था र कार्यालयमा आबद्ध न्यूनतम १० जना प्रिपेड वा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूलाई कर्पोरेट युजर ग्रुप (CUG) मा आवद्ध गराउन सकिन्छ । यसबाट निकै नै कम मूल्यमा सेवा प्रयोग गर्न पाइने भएकाले प्रयोगकर्ताहरुको संख्यामा बढोत्तरी भइरहेको टेलिकमकाे दाबी छ ।

सीयूजी सेवामा आबद्ध सदस्यहरूबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डेटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आबद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ । यसबाट ठूला दरका डेटासमेत चलाउन सकिन्छ भने प्रिपेड र पोस्टपेड दुवै सिममा प्रयोग गर्न सकिन्छ ।

कर्पोरेट गुपमा आवद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी कम्पनीले प्रिपेडका लागि रु. २००, रु. ३४९ र रु. ४८९ तथा पोस्टपेडका लागि रु. ४८९, रु. ९८०  र रु. १४७० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध गराएको छ ।

पे अन बिहाल्फ (Pay on Behalf)

यो सुविधाअन्तर्गत एउटा अकाउन्ट भएको ग्राहकले अन्य अकाउन्टका ग्राहकको महसुल तिर्न सक्नेछन् । पोस्टपेडमा मात्र उपलब्ध यो सेवा अन्तर्गतको बिल तिरेको रसिद पनि त्यही बिल तिर्ने अकाउन्टको ग्राहकको नाममा आउँछ ।

यसमा संलग्न गरिने अकाउन्टको संख्यालाई आवश्यकता अनुसार सीमित गर्न सकिन्छ । 

कन्साेलिडेटेड अकाउन्ट (Consolidated Account)

​यो सुविधा प्रयोग गरेर विभिन्न संख्यामा रहेका ग्राहकको विल सिंगल अकाउन्टबाट तिर्न सकिन्छ ।

पीएसटीएन तथा जीएसएम पोस्टपेडमा उपलब्ध हुने यो सुविधाअन्तर्गत उपलब्ध हुने बिल स्टेटमेन्टमा भने फरक-फरक ग्राहकको बिलको सारांश पनि उपलब्ध हुन्छ ।

एसएमएस सेवा (SMS Services)

कर्पोरेट क्षेत्रले बल्क एसएमएस, ग्रुप एसएमएस, एसएमएस शर्टकोड, एसएमएस अलर्ट जस्ता विभिन्न एसएमएस सुविधा प्रयोग गर्न सक्छन् । बल्क एसएमएस एक प्रकारको ब्रोडकास्ट सर्भिस हो । स्कुल, कलेज, बिजनेस हाउस र अन्य संस्थाहरुले एकै सन्देश धेरै ग्राहकलाई एकै पटक पठाउनु परेमा यसको प्रयोग गर्न सकिन्छ ।

ग्रुप एसएमएस सेवाअन्तर्गत प्रयोगकर्ताले आवश्यकता अनुसार दुई हजार, पाँच हजार र १० हजार ओटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिन्छ ।

एसएमएस शर्टकोड प्रयोग गरी दोहोरो अन्तर्क्रिया गर्न सकिन्छ । कुनै मोबाइलमा शर्टकोडमार्फत केही एसएमएस आयो भने एसएमएस पाउने ग्राहकले पनि सो जानकारीमूलक सामग्रीको बारेमा प्रतिक्रिया पठाउन वा थप जानकारीका लागि अनुरोध गर्न सक्छन् ।

विभिन्न परीक्षाका नतिजा थाहा पाउन, विभिन्न विषयवस्तु बारेमा पोलिङ गर्न, भोटिङ गर्न, क्विज सर्भिस सञ्चालन गर्न, आफ्नो व्यवसायको बजारीकरण वा प्रवर्द्धन गर्नसमेत यो सेवा उपयोगी हुने टेलिकमकाे भनाइ छ ।

विभिन्न मोबाइल नम्बरमा कुनै विषयवस्तुका बारेमा जानकारी दिनुपर्ने र अर्कोतिरबाट कुनै उत्तरको अपेक्षा नहुने अवस्थामा एसएमएस अलर्टको प्रयोग गर्न सकिन्छ ।

नमस्ते वाई​-फाई

नेपाल टेलिकमको फोरजी सेवा उपलब्ध भएका देशभरका स्थानमा सिमकार्डको प्रयोग गरी चलाउन सहज हुने गरी वायरलेस होम ब्रोडब्यान्ड सेवा उपलब्ध छ ।

नमस्ते वाई​-फाई ब्रान्ड नेममा उपलब्ध हुने उक्त सेवाका लागि आवश्यक सिमकार्ड र राउटर (CPE- Customer Premises Equipment) सहित कम्पनीले वायरलेस ब्रोडब्यान्ड प्याकेज बन्डलिङ गरेर उपलब्ध गराउँछ ।

ग्राहकले आफूलाई आवश्यकता अनुसार अनलिमिटेड डेटा मात्र वा भ्वाइस सहितको अनलिमिटेड डेटा प्याकेज प्रयोग गर्नसक्ने टेलिकमले जनाएकाे छ । 

गिफ्ट प्याकेज पाेर्टल (Gift Package Portal)

​कर्पोरेट हाउसहरुले आफ्ना ग्राहकलाई भ्वाइस वा डेटा प्याकेजका आकर्षक गिफ्ट दिन सक्छन् । यसका लागि नेपाल टेलिकमले एउटा पोर्टल उपलब्ध गराउँछ र यसबाट आफ्ना ग्राहकको आवश्यकता अनुसारको प्याक छनोट गरी गिफ्ट दिन सकिन्छ ।

यसका लागि एउटा अफिसियल पोस्टपेड नम्बर हुनुपर्छ ।

कर्पोरेट सीआरबीटी (Corporate CRBT)

कम्पनीको जिंगल वा महत्वपूर्ण कर्पोरेट जानकारी आफ्ना ग्राहकलाई दिनका लागि कर्पोरेट कलर रिङब्याक टोन प्रयोग गर्न सकिन्छ । कमसेकम २५ प्रिपेड वा पोस्टपेड ग्राहकलाई एकै पटक यो टोन उपलब्ध गराउन सकिने टेलिकमले जनाएकाे छ ।

लिज लाइन ​(Lease Line)

​दुई वा बढी स्थानमा रहेका एउटै संस्थाबीच कनेक्सन गर्नका लागि लिज लाइन कनेक्सन प्रयोग गरिन्छ । यसमा निश्चित व्यान्डविथ सहितको डेडिकेटेड डेटा कनेक्सन सुविधा उपलब्ध हुन्छ ।

सो सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधै बराबर रहनुका साथै चाैबिसै घण्टा निरन्तर डेडिकेटेड रूपमा उपलब्ध हुने कम्पनीकाे दाबी छ ।

यसमा इन्ट्रानेट र इन्टरनेट गरी दुई प्रकारको लिज लाइन उपलब्ध हुन्छ । वायरलाइन अन्तर्गत फाइबर टु द होम र वायरलेस अन्तर्गत रेडियोको प्रयोग गरी यो सेवा उपलब्ध गराइन्छ । यसअन्तर्गत अन्डरग्राउन्डबाट उपलब्ध गराइएको फाइबर केबलमार्फत उपलब्ध हुने डार्क लिज सेवासमेत उपलब्ध हुन्छ ।

एसआईपी पीबीएक्स (SIP PBX)

​कार्यालयहरुमा एउटै टेलिफोन लाइनलाई धेरै लाइनको रुपमा प्रयोग गर्न सकिने सुविधा एसआईपी पीबीएक्स (SIP PBX) ले उपलब्ध गराउँछ । सम्पर्कका लागि धेरै नम्बर उपलब्ध गराउने कार्यालयका लागि यो सेवा उपयोगी हुन्छ ।

यसमा सबैका लागि एउटै नम्बर हुन्छ र यसलाई सिंगल फाइबर केबलले कनेक्ट गरिएको हुन्छ । यसले गर्दा धेरै ग्राहकले एकै पटक कल गर्दा पनि लाइन व्यस्त हुने समस्या नहुने टेलिकमकाे भनाइ छ ।

टाेल फ्रि फाेन

टाेल फ्रि फाेनलाई Advance Free Phone Service (AFS) पनि भनिन्छ । Reverse Charging System अर्थात् फोन गर्नेले नभई फोन उठाउने कार्यालयले महसुल तिर्नुपर्ने व्यवस्था नै यसको महत्त्वपूर्ण विशेषता हो ।

कुनै संस्थाले यो फोन जडान गर्ने र त्यसमा फोन गरेवापत ग्राहक अर्थात् फोन उठाउनेले नभई सोही संस्थाले नै महसुल तिर्नुपर्ने हुन्छ । यसमा १८१०५ बाट नम्बर प्रारम्भ हुन्छ ।

अडियाे नाेटिस बाेर्ड

नेपाल टेलिकमको मोबाइल वा ल्यान्डलाइन जुनसुकै नम्बर प्रयोग गरी कुनै कर्पोरेट ग्राहकले आफ्नो कुनै सूचना वा जानकारीमूलक सामग्री रेकर्ड गरेर नोटिस बोर्ड नम्बरमा राख्न सक्छन् ।

सो नम्बरमा कुनै नम्बरबाट कल गर्दा सो सूचना वा जानकारीमूलक सामग्री सुन्न सकिन्छ । कर्पोरेट ग्राहकले सहज तरिकाले कुनै सूचना वा जानकारीमूलक सामग्री रेकर्ड गर्न, सम्पादन गर्न वा हटाउन पनि सक्छन् । 

राेमिङ सेवा

अन्य देशमा जाँदा रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो । यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कल गर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदानप्रदान गर्न सकिन्छ । यसले गर्दा कर्पोरेट हाउसका जिम्मेवार व्यक्तिहरु ग्राहकसँग सधै सम्पर्कमा रहन सक्छन् । 

पछिल्लो अध्यावधिक: भदौ १, २०८० १७:३३