close

एप्पलको ‘कन्टिन्युटी’ फिचरमाथि आँखा लगाउँदै गुगल

टेकपाना टेकपाना

भदौ २, २०८० १३:७

एप्पलको ‘कन्टिन्युटी’ फिचरमाथि आँखा लगाउँदै गुगल

काठमाडौं । एप्पल सफल हुनुमा उसको इकोसिस्टम कारण मान्ने गरिन्छ । अर्थात् विभिन्न एप्पल डिभाइसहरूलाई यस्तरी जोडिएको छ कि, तिनीहरू एकअर्कोका परिपूरक जस्तै छन् । जसलाई एप्पलले ‘कन्टिन्युटी’ भनेर भन्ने गरेको छ ।

कम्पनीका अनुसार ‘कन्टिन्युटी’ले डिभाइसहरूबीच उच्च तहको इन्टिग्रेसन अर्थात् जोड्न भूमिका खेल्छ । एप्पलको यही विशेषता एन्ड्रोइडमा पनि दिन गुगल लागिपरेको छ ।

एन्ड्रोइडमा भएको नियरबाई शेयर त्यही उद्देश्य प्राप्त गर्न बनाइएको बताइन्छ । साथै एन्ड्रोइडमा एप्पलको ‘कन्टिन्युटी’ फिचर ल्याउन गुगलले कामहरू गरिरहेको खबर सार्वजनिक भएको छ ।

नेल साडिकोभ र मिशाल रहमानले गुगलको यस्ताे कदमबारे हालै खुलासा गरेका हुन् । उनीहरूका अनुसार एउटै गुगल अकाउन्ट प्रयोग भइरहेका डिभाइसहरूबीच लिङ्क गर्न सकिने फिचर एन्ड्रोइडमा उपलब्ध हुनेछ ।

सेटिङभित्र हुने ‘डिभाइस एन्ड शेयरिङ’मा सम्भवत: यो फिचर राखिने छ । यसबाट एन्ड्रोइड डिभाइसहरूसँगै क्रोमबुक पनि कनेक्ट गर्न सकिने अनुमान गरिएको छ ।

त्यस्तै यो फिचरले ती डिभाइसलाई जोडेपछि काम गर्नलाई विभिन्न विकल्पहरू दिइने छ । एन्ड्रोइडमा उपलब्ध हुने यो फिचरलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा भने अहिलेसम्म निश्चित छैन ।

साथै उक्त फिचर उपलब्ध भएपछि केके गर्न सकिन्छ भन्ने पनि अन्यौल नै छ । लिङ्क गरिएका डिभाइसहरूमा कल स्विच गर्ने, इन्टरनेट शेयरिङ, एउटा डिभाइसमा कपि गरेको अर्कोमा पेस्ट गर्न सकिने जस्ता काम गर्न सकिने बताइएकाे छ ।

आईफोन, आईप्याड र म्याकहरूमा एप्पलले दिएको ‘कन्टिन्युटी’ फिचरसँग नमिलेसम्म गुगलले यसमा काम गर्ने पनि अनुमान छ । साथै एन्ड्रोइड १४ वा त्यो भन्दा माथिको भर्सनमा यो फिचर उपलब्ध हुनसक्ने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८० १३:७