close

दुई वर्षसम्म नचलाएका जिमेल अकाउन्ट आउँदो डिसेम्बर १ देखि बन्द हुने

टेकपाना टेकपाना

भदौ २, २०८० १६:२३

दुई वर्षसम्म नचलाएका जिमेल अकाउन्ट आउँदो डिसेम्बर १ देखि बन्द हुने

काठमाडौं । गुगलले दुई वर्षदेखि निष्क्रिय रहेका गुगल (जिमेल) अकाउन्ट सधैंका लागि बन्द गरिदिने भएको छ । कम्पनीले 'गुगल इनएक्टिभ अकाउन्ट पोलिसी' (​Google Account inactivity policy) बारे सबै जिमेल प्रयोगकर्ताहरूलाई ईमेल पठाउँदै निष्क्रिय अकाउन्ट बन्द हुने जानकारी दिएको हाे ।

योसँगै पछिल्लो दुई वर्षयता एकपटक पनि साइन ईन नभएका गुगल अकाउन्ट हट्ने भएका छन् । कम्पनीले डिलिट भएका जिमेल अकाउन्ट पुनः सिर्जना नहुने गरी बन्द गर्न लागेकाे जानकारी दिएकाे छ ।

गुगलले सन् २०२० मा अनलिमिटेड स्टोरेजको फिचरसँगै यो नियम पनि ल्याएको हो । यद्यपि त्यो समयमा दुई वर्षसम्म प्रयोगमा नआएका जिमेल अकाउन्टमा भएका डेटामात्र डिलिट हुने भनिएको थियो । तर अहिले भने डेटा मात्र नभइ पूरै अकाउन्ट नै डिलिट हुने गुगलले बताएको छ ।

यदि तपाईँले आफ्नो पुरानो कुनै अकाउन्टको पासवर्ड बिर्सनु भएको छ, अथवा लगइन गर्नु भएको छैन भने तपाईँसँग अझै समय छ ।

प्रयोग नगरिएका अकाउन्ट ह्याक हुने सम्भावना बढी हुने भएकाले गुगलले सुरक्षा कारणका दुई वर्षसम्म निष्क्रिय अकाउन्ट डिलिट गर्ने तयारी गरेको हो ।तर डिलिट गर्नुअघि सबै गुगल अकाउन्टमा पटक पटक रिमाइन्डर ईमेल  पठाइने गुगलले उल्लेख गरेको छ ।

यसकारण आफ्नो अकाउन्ट र डेटा (सामग्री) मेटाउनबाट रोक्नको लागि तपाईंले प्रत्येक दुई वर्षमा कम्तीमा एक पटक आफ्नो गुगल अकाउन्ट प्रयोग गर्न आवश्यक छ ।

ईमेलहरू पठाउने, गुगल ड्राइभ प्रयोग गर्ने, युट्युब भिडिओहरू हेर्ने वा एपहरू डाउनलोड गर्ने जस्ता कुरा गर्दा तपाईंको अकाउन्ट सक्रिय रहनेछ । यदि तपाईँसँग धेरै अकाउन्टहरू छन् र सम्झन सक्नुहुन्न भने गुगलको अकाउन्ट रिकभरी टुलहरू प्रयोग गरी त्यस्ता अकाउन्ट पुनः सक्रिय गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: भदौ २, २०८० १६:३०