close

साउदी अरेबियामा रहेका नेपालीले इन्जाज पेमेन्टबाट ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने

टेकपाना टेकपाना

भदौ ४, २०८० १६:४४

साउदी अरेबियामा रहेका नेपालीले इन्जाज पेमेन्टबाट ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने

 

काठमाडाैं । ईसेवा मनि ट्रान्स्फर र साउदी अरेबियाको इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । रेमिट्यान्स भुक्तानी सम्झौतापत्रमा एफवन सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकाल र इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिदअल जैनले हस्ताक्षर गरे ।

सम्झौतासँगै साउदी अरेबियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले इन्जाज पेमेन्टका १५० शाखाहरू, पीओएस, किअस्कस् वा मोबाइल एप र वेबसाइटबाट नेपालमा ईसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।

साथै इन्जाज पेमेन्टबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू तथा ईसेवाका एक लाखभन्दा बढी क्याश पोइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्नेछन् ।

रेमिट्यान्स भुक्तानी सम्झौता कार्यक्रममा बोल्दै एफवन सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले भने, “इन्जाज जस्तो प्रतिष्ठित संस्थासँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै गौरवान्वित छौं । इन्जाजका भौतिक र डिजिटल च्यानलहरूको व्यापक लाभ उठाउँदै साउदी अरेबियामा कार्यरत नेपाली समुदायलाई सहज र सर्वसुलभ रेमिट्यान्स सेवा प्रदान गर्न पाउँदा निकै हर्षित छौं ।”  

यसैगरी कार्यक्रममा इन्जाज पेमेन्ट सर्भिसेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत खालिदअल जैनले भने, “ईसेवामनि ट्रान्स्फर नेपालको एक उत्कृष्ट रेमिटेन्स कम्पनीमात्र नभई एफवन सफ्ट ग्रुपको एक भगिनी संस्था पनि हाे, जसले नवीनतम् फिनटेक सेवाहरू मार्फत नेपालमा डिजिटल भुक्तानी इकोसिस्टमलाई संस्थागत गरेको छ र हामी साउदी अरेबियामा रहेका नेपालीहरूलाई रेमिट्यान्स सेवाउपलब्ध गराउन ईसेवा मनि ट्रान्स्फरसँग साझेदारी गर्न पाउँदा निकै उत्साहित छौं ।”

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० १६:४४