close

डिसेम्बर २०१४ अघि पोस्ट भएका फोटो तथा लिङ्क ट्वीटरबाट गायब

टेकपाना टेकपाना

भदौ ४, २०८० १७:५६

डिसेम्बर २०१४ अघि पोस्ट भएका फोटो तथा लिङ्क ट्वीटरबाट गायब

काठमाडौं । ट्वीटर अर्थात् अहिले एक्समा ग्लिच (अस्थायी समस्या) आउँदा २०१४ डिसेम्बरअघि पोस्ट भएका फोटो गायब भएका छन् । यो समस्या कहिलेदेखि सुरु भएको भन्ने नखुले पनि शनिबारदेखि सर्वसाधारणले यो समस्या अनुभव गरेका हुन् ।

द भर्जका अनुसार ब्राजिलियन युट्युबर टम कोट्सले शनिबार एक पोस्ट राख्दै एक्सको ग्लिचबारे जानकारी दिएका थिए । एक्समा यस्तो समस्या आउँदा डिसेम्बर २०१४ भन्दा अघि पोस्ट भएका फोटोको ठाउँमा लिङ्क मात्र देखिन थालेको छ ।

फोटोको सट्टा देखिने 'टी डट सीओ' (t.co) लिङ्कलाई ब्राउज गर्दा पुनः सोही पोस्ट देखिन्छ । यो समस्याबाट भिडिओमा भने कुनै प्रभाव परेको छैन । किनभने ट्वीटरले सन् २०११ मा फोटो सपोर्ट हुने फिचर सार्वजनिक गरेको थियो भने त्यसको पाँच वर्ष अर्थात् २०१६ मा मात्रै भिडिओ सपोर्ट हुने फिचर ल्याएको थियो ।

तर, २०१४ डिसेम्बरअघि राखिएका युट्युब तथा अन्य वेबसाइटका लिङकको सट्टा ट्वीटरको शर्ट लिङ्क 'टी डट सीओ' देखिन थालेको छ । यस्ता लिङ्कले काम नगरेको द भर्जले उल्लेख गरेको छ । 

शनिबार कोट्सले उक्त समस्या आएको दाबी गरेसँगै २०१४ मा पोस्ट गरिएको सर्वाधिक बढी रिट्वीट (अहिले रिपोस्ट) हुने पोस्ट अर्थात् अस्कर सेल्फीको फोटो गायब छ । सो पोस्ट हेर्नका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । उक्त पोस्टमा भएको लिङ्क ब्राउज गर्दा पुनः सोही पोस्ट खुलेको छ ।

यो समस्याबारे हालसम्म एक्सका मालिक एलन मस्क वा एक्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि यो समस्या सामाजिक सञ्जालमा चर्चाको विषय बनेपछि केही पोस्टमा भएका फोटो भने फिर्ता भएका छन् ।

शनिबार अमेरिकाका ४४औं राष्ट्रपति बाराक ओबामाले २०१४ मा गरेको पोस्टको फोटो पनि गायब थियो । अहिले भने सो फोटो फिर्ता आइसकेको छ । यद्यपि अधिकांश प्रयोगकर्ताले उक्त समस्या अहिलेसम्म पनि समाधान नभएको उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ ४, २०८० १७:५६