close

एक्समा शेयर भएका समाचार वा लेखको लिङ्कमा अब हेडलाइन नदेखिने !

टेकपाना टेकपाना

भदौ ५, २०८० १४:५

एक्समा शेयर भएका समाचार वा लेखको लिङ्कमा अब हेडलाइन नदेखिने !

 

काठमाडौं । एलन मस्कले छिट्टै एक्समा शेयर भएका समाचारको लिङ्कबाट हेडलाइन हटाउने भएका छन् । ट्वीटरका रूपमा परिचित एक्समा आर्टिकलको लिङ्कले ओगटेकाे स्पेस घटाउने र क्लिकबेट कम गर्ने उद्देश्यले मस्कले यस्तो व्यवस्था गर्न लागेका हुन् ।

एक्स न्युज डेलीका अनुसार एक्समा शेयर भएको समाचार टाइमलाइनमा देखिँदा हेडलाइन र डिस्क्रिप्सनबिना देखिनेछ । प्रयोगकर्ताले फिचर (लिड) फोटो हेरेर समाचार के बारे हो भन्ने बुझ्नुपर्ने हुन्छ । अन्यथा क्रियटर आफैले पनि टाइटलमा समाचारको शीर्षक राखिदिनुपर्ने हुन्छ ।

सो पोस्टमा रिप्लाई दिँदै मस्कले  यो निर्णय आफैंले गरेको बताएका छन् । टाइमलाइन आकर्षक बनाउने र क्लिकबेट (शीर्षक एउटा समाचार अर्को राखेर प्रयोगकर्ता झुक्क्याउने वा क्लिक गर्न प्रेरित गर्ने वा प्रयोगकर्ताले क्लिक गर्ने किसिमको शीर्षक राख्ने) लाई कम गर्ने उद्देश्यले यस्तो गर्न लागेको मस्कले बताएका छन् ।

एक्सले यो व्यवस्था गरेपछि लिङ्क खोल्न फोटोमा क्लिक गर्नुपर्ने छ । यस्तो व्यवस्था ल्याएर एक्समा थम्बनेलको प्रचलन सुरु हुन लागेकाे चर्चा गरिएकाे छ । मस्कले हालसम्म यो व्यवस्था कहिलेबाट लागू हुन्छ भन्ने खुलाएका छैनन् ।

पछिल्लो अध्यावधिक: भदौ ५, २०८० १४:५