काठमाडौं । पेट्रोल पम्पमा हुने डिजिटल भुक्तानीलाई सहज बनाउन माछापुच्छ्रे बैंकले फिनपोस मसिन ल्याएको छ । बैंकले सिटीटेक, एफवन सफ्ट र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)सँगको सहकार्यमा उक्त प्रविधि विकास गरेको हो ।
के हो फिनपोस मसिन ?
क्यूआर भुक्तानी स्वीकार गर्दा पेट्रोल पम्पमा हुने समस्या यो प्रविधिले अन्त्य गर्ने बैंककाे विश्वास छ । यसअघि पेट्रोल पम्प सञ्चालकहरूले क्यूआर कोड प्रणाली अवलम्बन गरेपनि समयमा एसएमएस नआउने, पुरानो कारोबारको स्क्रिनशट देखाएर ठगी गर्नेजस्ता प्रवृत्ति आउने गरेको थियो । यिनै कारणले पेट्रोल पम्प सञ्चालकहरूले डिजिटल भुक्तानी गर्न मानिरहेका थिएनन् ।
लाखौं रुपैयाँ कारोबार हुने पेट्राेल पम्पका लागि आफूहरूले ल्याएको नयाँ प्रविधि उपयाेगी हुने माछापुच्छ्रे बैंकका डिजिटल बैंकिङ अफिसर माधव सुवेदी बताउँछन् ।
“भुक्तानी भए/नभएको एसएमएस आएपछि थाहा पाइन्छ । तर पेट्रोल पम्प सञ्चालकहरू प्राय: त्यहाँ बस्नुहुन्न रहेछ । एसएमएसका लागि भनेर कर्मचारीलाई एउटा फोन छाड्ने गर्नुहुँदो रहेछ,” उनी भन्छन्, “ग्राहकले क्यूआर कोडमार्फत भुक्तानी गरे निश्चित गर्न कुर्नुपर्ने, ग्राहकले तिरे पनि एसएमएस नआएकाले उनीहरूसँग विवाद हुने, अन्य ग्राहकहरूको भिँड हुने समस्या रहेछ । हामीले विकास गरेको प्रविधिले यस्तो समस्या समाधान गर्छ ।”
कसरी गर्छ काम ?
उनका अनुसार पेट्रोल पम्पमा भएको यो समस्या समाधान गर्न एनसीएचएलको नेपालपे र एफवन सफ्टको फोन पेलाई इन्टिग्रेड गरिएको छ । यसबाट भुक्तानी गर्न स्ट्यान्डीमा नभएर फिनपोस नै क्यूआर देखिन्छ । ग्राहकले त्यसमा नै स्क्यान गर्छन् । भुक्तानी सफल भए रसिद पनि त्यहीँ तयार हुन्छ ।
यसबाट हतारमा भएका ग्राहकबाट गल्ती तथा ठगी कम हुने उनको भनाइ छ । त्यस्तै पोसमा एनएफसी डिभाइस सपोर्ट हुने हुँदा पाँच हजार रुपैयाँसम्मको कारोबार ट्याप गरेरै भुक्तानी गर्न सकिने उनी सुनाउँछन् ।
हाल बैंकले यो सेवा पेट्रोल पम्प सञ्चालकहरूलाई मात्र दिएको छ । तर अन्य क्षेत्रमा पनि यो प्रविधि लान सकिने सुवेदी बताउँछन् । यो प्रविधि अलि खर्चिलो हुने भएकोले अन्य व्यवसायका लागि भने बैंकले डिजिटल माध्यमबाट गरिने भुक्तानी निश्चित गर्न ‘कोइली’ नामक डिभाइस तयार पारेको छ ।
डिजिटल भुक्तानी स्वीकार गर्दा पेट्रोल पम्पले भोगिरहेको समस्या भएका अन्य क्षेत्रले उक्त डिभाइस प्रयोग गर्ने उनी जनाउँछन् । ‘कोइली’ शुल्कको हिसाबमा पस भन्दा निकै सस्तो पर्न जान्छ ।
डिजिटल भुक्तानी कागजरहित हुन्छ भनेर भन्ने गरिए पनि यो प्रविधि प्रयोग गर्दा भने कागको रसिद 'प्रिन्ट' हुने हुन्छ । जुन ग्राहक र पेट्रोल पम्प सञ्चालकले राख्छन् । कारोबार गर्न सजिलो होस् भनेर त्यसो गरिएको उनको भनाइ छ । यो प्रविधिबाट क्यूआर बाहेक कार्ड र एनएफसीबाट भुक्तानी गर्न सकिन्छ ।
तर माछापुच्छ्रे बैंकले भने क्यूआर मार्फत गरिने भुक्तानीलाई प्रोत्साहन गर्ने गरेको छ । “कार्डबाट भुक्तानी गर्दा भिसा, मास्टर जस्ता कुनै विदेशी नेटवर्क प्रयोग गर्नुपर्छ । त्यसो गर्दा पैसा विदेश जान्छ । तर क्यूआरमार्फत भुक्तानी गर्दा ‘लोकल नेटवर्क’ प्रयोग हुन्छ । त्यसो हुँदा देशमा नै पैसा बस्छ ।’
के भन्छन् व्यवसायी ?
यता दुई महिनादेखि माछापुच्छ्रे बैंकको यो प्रविधि प्रयोग गरिरहेको त्रिलोचन पेट्रोल पम्पका सञ्चालक प्रमोद बराल भने यसबाट सजिलो भएको बताउँछन् । उनले पहिले क्यूआर मार्फत भुक्तानी लिन्थे ।
तर रियल-टाइममा एसएमएस नआउने समस्याले गर्दा डिजिटल भन्दा नगद नै रोजेका थिए । तर अहिले भने पोस मसिन प्रयोग गरेर आफू र ग्राहक दुवैलाई सहज भएको उनको भनाइ छ ।
त्रिलोचन पेट्रोल पम्पका सञ्चालक प्रमोद बराल
“एक पटक क्यूआर मार्फत भुक्तानी गर्दा एउटा ग्राहकले साढे सात हजार तिर्नु पर्नेमा झुक्किएर ७५ हजार तिर्नु भएछ । हामीलाई थाहा पनि भएन । पछि हिसाब गर्दा नमिलेपछि मात्र थाहा भयो । जसोतसो फोन नम्बर फेला पारेर कल गर्यौं । उहाँले उठाउनु भएन । उहाँ भने ‘कसरी पैसा हरायो ?’ भनेर बैंकमा जानुभएछ । तर उहाँ बेलुका तिर आउनु भयो । उहाँलाई हामीले फिर्ता गर्यौं,” उनी भन्छन् ।
“तर अहिले त कारोबार भएको निश्चित नभएसम्म रसिद नै तयार हुँदैन । रसिद हेरेपछि ग्राहक पनि ढुक्क हुन्छन् ।”
बैंकले पोसबाट कति कारोबार भयो भनेर हेर्न पोर्टल तयार पारिदिएको छ । रसिद नभएपनि त्यसबाट पेट्रोल सञ्चालकले कारोबारको रेकर्ड हेर्न सक्छन् । तर आफूले चाहेको समय भित्र कति कारोबार भयो भनेर हेर्न भने सकिँदैन । यो सुधार गर्नुपर्ने उनको भनाइ छ ।
“जस्तो; १ देखि ३ बजेसम्म कति कारोबार भयो भनेर हेर्न सकिँदैन । यदि त्यस्तो भए हामीलाई धेरै सजिलो हुन्छ,” बराल भन्छन् ।
तर यो प्रविधि राख्न डिभाइस चलाउन जान्ने मान्छे राख्नुपर्ने उनको भनाइ छ । याे प्रविधि राख्दा नक्कली पैसा दिएर झुक्काउने, पैसा आएन भनेर चिन्ता गर्ने समस्या नहुने उनको भनाइ छ । कसैले यो डिभाइस राख्न चाहे माछापुच्छ्रे बैंकमा खाता खोल्नुपर्ने हुन्छ । यदि पहिले नै खाता छ भने त्यसले काम गर्छ । त्यसपछि बैंकसँग कुरा गरेर यो डिभाइस राख्न सकिन्छ ।