close

टिकटकलाई टक्कर दिन १० मिनेटसम्मको रिल्स अपलोड गर्ने सुविधा ल्याउँदै इन्स्टाग्राम

टेकपाना टेकपाना

भदौ १४, २०८० १५:४८

टिकटकलाई टक्कर दिन १० मिनेटसम्मको रिल्स अपलोड गर्ने सुविधा ल्याउँदै इन्स्टाग्राम

काठमाडौं । इन्स्टाग्रामले १० मिनेटसम्मको रिल अपलोड गर्न मिल्ने सुविधा ल्याउने भएको छ । मोबाइल डेभलपर एवं लिकर एल्सेन्ड्रो पालुजीले एक्समा पोस्ट राख्दै इन्स्टाग्रामको नयाँ सुविधाको जानकारी लिक गरेका हुन् ।

हाल इन्स्टाग्राममा तीन मिनेटसम्मको रिल अपलोड गर्ने सुविधा छ । तर, पालुजीले शेयर गरेको स्क्रिनशटमा भने १० मिनेटसम्मको रिल अपलोड गर्न सकिने बताइएको छ ।

यसरी टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्मले बढी समयका भिडिओ राख्ने सुविधा ल्याउँदा ती प्लेटफर्म युट्युबमा परिणत हुन खोजिरहेको देखिन्छ । इन्स्टाग्रामको यो सुविधाले मेटालाई टिकटकसँग प्रतिस्पर्धा गर्न सघाउने बताइएको छ ।

शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले हाल १० मिनेटसम्मका भिडिओ अपलोड गर्न सकिने सुविधा दिँदै आएको छ ।

पछिल्लो समय इन्स्टाग्रामले टिकटकका विभिन्न फिचरहरू कपी गर्दै आइरहेको देखिन्छ । इन्स्टाग्राम र फेसबुकको रिल टिकटकबाट प्रभावित भएर ल्याइएका फिचर हुन् ।

अन्य कम्पनीले आफ्नो प्लेटफर्मबाट लामो भिडिओ राख्न सकिने सुविधा ल्याउँदै गर्दा टिकटक शर्ट भिडिओमा केन्द्रित छ । इनग्याजेट नामको अनलाइन मिडियाले लिक भएका फोटोबारे कम्पनीसँग बुझेको थियो । मेटाले ती फोटो र फिचर वास्तविक भएको र सो फिचर आन्तरिक रूपमा परीक्षण भइरहेको प्रतिक्रिया दिएकाे छ ।  

 

पछिल्लो अध्यावधिक: भदौ १४, २०८० १५:४९