close

नेपालमा स्टार इन्डियाका टिभी च्यानल हेर्न मात्रै मासिक १६० रुपैयाँ तिर्नुपर्ने !

टेकपाना टेकपाना

भदौ १७, २०८० १६:१०

नेपालमा स्टार इन्डियाका टिभी च्यानल हेर्न मात्रै मासिक १६० रुपैयाँ तिर्नुपर्ने !

काठमाडौं । नेपालमा विदेशी च्यानल मध्ये स्टार इन्डिया प्रालि अन्तर्गतका टेलिभिजन च्यानल हेर्न सबैभन्दा महँगो पर्ने भएको छ । टेलिभिजन वितरक कम्पनीहरूले ग्राहकबाट मासिक रूपमा लिन पाउने गरी यही १५ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट स्वीकृत टेलिभिजन च्यानलको शुल्क र बुके शुल्कमा यस्तो देखिएको हो ।

ग्राहकले आफ्नो चाहना अनुसार टेलिभिजन च्यानल रोज्न पाउने र त्यसरी रोजेको च्यानलको मात्रै शुल्क तिरे पुग्ने गरी कार्यान्वयनमा आएको आलाकार्ट प्रणाली अन्तर्गत विदेशी टेलिभिजन च्यानलका लागि छुट्टाछुट्टै शुल्क तय गरिएको छ ।

जसअनुसार स्टार इन्डिया प्रालिले नेपालमा प्रसारण गर्न ३२ ओटा च्यानलका लागि स्वीकृति पाएको छ । कम्पनीले आफ्ना प्रति च्यानलका लागि न्यूनतम मासिक दुई रुपैयाँदेखि २० रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ ।

कम्पनीले मासिक ४०/४० रुपैयाँका चार ओटा बुके बनाएर च्यानलको प्याकेज तयार पारेको छ । जसमा स्टार इन्टरटेनमेन्ट प्याक, स्टार मुभी प्याक, स्टार स्पोर्ट्स प्याक र स्टार प्रिमियम प्याक छन् ।

यी सबै प्याकेज लिन चाहने प्रत्येक ग्राहकले स्टार इन्डियालाई मात्रै मासिक १६० रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै २१ ओटा च्यानल रहेको सोनी पिक्चर नेटवर्क इन्डिया प्रालिले पनि ४०/४० रुपैयाँका तीन ओटा बुके बनाएको छ ।

कम्पनीका बेसिक, स्पोर्ट्स प्रिमियम र स्पोर्ट्स तीनै प्याकेज लिंदा मासिक १२० रुपैयाँ हुन आउँछ । यसैगरी कलर्स लगायतका च्यानल रहेको इन्डियाकास्ट मिडिया डिस्ट्रिब्युसन प्रालिले १५ ओटा च्यानल र जी इन्टरटेनमेन्ट इन्टरप्राइज लिमिटेडले १० च्यानलका लागि दुई ओटा बुके बनाएका छन् ।

जसको दुवै कम्पनीले मूल्य समान २५/२५ रुपैयाँ निर्धारण गरेका छन् । यसैगरी १४ च्यानल रहेको डिस्कभरी नेटवर्क एसियाले २०/२० रुपैयाँका दुई प्याकेज, एचबीओसहितका पाँच च्यानल भएको होम बक्स अफिसले १५ रुपैयाँको एउटा बुके शुल्क स्वीकृत गराएका छन् ।

त्यस बाहेक एउटा च्यानल भएको बीबीसी स्टुडियो डिस्ट्रिब्युसन लिमिटेडले दुई रुपैयाँ, बेनेट कोलेमन एन्ड कम्पनीले दुई च्यानलको तीन रुपैयाँको बुके बनाएका छन् । शुल्क स्वीकृत गराएका १०२ टिभी च्यानलको प्याकेजलाई बुकेसहित खरिद गर्दा कूल मासिक ४४० रुपैयाँ पर्नेछ ।

यद्यपि बुके अर्थात् प्याकेज नलिई आफूलाई आवश्यक सीमित च्यानल मात्रै हेर्न चाहने ग्राहकलाई भने मासिक टेलिभिजन शुल्क केही सस्तो पर्न सक्छ । तर सरकारले टेलिभिजन वितरकलाई भने ग्राहकबाट मासिक न्यूनतम २५० रुपैयाँ असुल्न पाउने बाटो दिएको छ ।

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० १८:४