नेपालमा सूचना तथा सञ्चार प्रविधिले पाएको गति र यसको सम्भाव्यताले देशलाई आधुनिक प्रविधिको दुनियाँसँग समेट्ने ठुलो अवसर दिएको छ । तर, अझै पनि हामी नीतिगत स्पष्टता, पूर्वाधार विस्तार, साइबर सुरक्षा, मानव संसाधन विकास लगायतका सवालमा पछि छौं । आज राष्ट्रिय आईसीटी दिवस मनाइरहँदा यी विषयका गहन् छलफल हुन आवश्यक छ ।
हामीले जब राष्ट्रिय आईसीटी दिवसको कल्पना गर्यौं, त्यो बेला नेपालमा आईसीटीको महत्त्वलाई उजागर गर्नुपर्ने अवस्था थियो । सूचना र सञ्चार प्रविधिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले हामीले यसलाई एक राष्ट्रिय दिवसको रूपमा स्थापित गर्न पहल गर्यौं । क्यान महासंघ तत्कालीन कम्प्युटर एसोसिएसन नेपाल)ले सुरु गरेको यो अभियानलाई पछि सरकारले पनि अपनत्व लियो र अन्ततः मे २ गतेलाई राष्ट्रिय आईसीटी दिवसको रूपमा घोषणा गरियो । यसको मुख्य उद्देश्य भनेको सूचना प्रविधिको महत्त्वलाई राष्ट्रिय स्तरमा स्थापित गर्नु र यसको विकासका लागि सबै सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याउनु थियो ।
राष्ट्रिय आईसीटी दिवस मे २ गते नै मनाउनुको पनि आफ्नै पृष्ठभूमि छ । यो दिन तत्कालीन आईसीटी क्षेत्रमा सक्रिय व्यक्तित्वहरूले यस क्षेत्रमा केही नयाँ काम गर्ने अठोट लिएको दिन हो । संयोगले, नेपालमा मेनफ्रेम कम्प्युटर भित्रिएको र राष्ट्रिय कम्प्युटर केन्द्र गठन भएको जस्ता महत्त्वपूर्ण घटनाहरू पनि यही मे महिनामा भएका थिए । श्रमिक दिवसको कारण मे १ मा यो दिवस मनाउन उपयुक्त नदेखिएपछि मे २ लाई यसका लागि चयन गरिएको हो ।
सुरुवातमा क्यानले मात्र आयोजना गर्ने यो दिवसलाई राष्ट्रिय मान्यता दिलाउन हामीले धेरै प्रयास गर्यौं । तत्कालीन विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहको सकारात्मक सहयोगले यो सम्भव भयो । उहाँले आईसीटीको महत्त्वलाई गम्भीरतापूर्वक बुझ्नुभयो र क्याबिनेटबाट निर्णय गराई मे २ लाई राष्ट्रिय आईसीटी दिवसको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नुभयो । त्यसपछि, सूचना प्रविधिको व्यापकतालाई मध्यनजर गर्दै हामीले यसलाई सञ्चार मन्त्रालय अन्तर्गत ल्याउन पहल गर्यौं ।
नेपालको आईसीटी क्षेत्रमा धेरै सम्भावनाहरू छन्, तर केही गम्भीर चुनौतीहरू पनि विद्यमान छन् । सरकारले यस क्षेत्रको विकासका लागि विभिन्न प्रयासहरू गरिरहेको भए तापनि जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । उदाहरणका लागि, सूचना प्रविधि ऐन लामो समयदेखि अड्किएको छ । साइबर सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्नेगरी कानुनी संरचना तयार पार्न सकिएको छैन ।
अन्तर-मन्त्रालय समन्वयको अभाव पनि एक प्रमुख समस्या हो । बुझ्नुपर्ने कुरा के हो भने आईसीटी एक क्रस-कटिङ क्षेत्र हो । यसको प्रभाव सबै क्षेत्रमा पर्दछ । तर, मन्त्रालयहरूबिच समन्वय नहुँदा यसको विकासमा बाधा पुगिरहेको छ । यसका लागि प्रधानमन्त्रीको नेतृत्वमा एक उच्चस्तरीय संयन्त्रको आवश्यकता छ भनेर हामीले भन्दै आएका छौँ । यस्तो संयन्त्रले मात्रै डिजिटल नेपाल फ्रेमवर्कलाई कार्यान्वयन गर्न र सबै मन्त्रालयहरूलाई एकसाथ अगाडि बढाउन सक्छ भन्ने मेरो विश्वास छ ।
आमनागरिकलाई पनि आईसीटीको प्रयोग र महत्त्वबारे सुसूचित गर्न आवश्यक छ। डिजिटल साक्षरता अभिवृद्धि गर्न र प्रविधिको सही उपयोगलाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ।
निजी क्षेत्रले पनि आईसीटी विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ । तर, कतिपय अवस्थामा निजी क्षेत्रलाई राजनीतिकरण गर्ने प्रयास भएको देखिन्छ । यो आईसीटी जस्तो क्षेत्रको विकासका लागि राम्रो संकेत होइन । बरु, सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर सहकार्य गर्नुपर्छ । क्यान जस्ता संस्थाहरूले देशभर आफ्नो सञ्जाल विस्तार गरेका छन्, यसलाई सरकारले उपयोग गर्न सक्छ । निजी क्षेत्रलाई तालिम, क्षमता अभिवृद्धि र आवश्यक सहयोग प्रदान गरेर यस क्षेत्रलाई थप गतिशील बनाउन सकिन्छ ।
आईसीटी क्षेत्रको सशक्त विकासका लागि अबका दिनमा केही स्पष्ट र प्रतिबद्ध कदम चाल्न जरुरी देखिन्छ । पहिलो, बनिसकेका नीतिहरूलाई व्यवहारमा उतार्न सरकारको दृढ इच्छाशक्ति होस् । आईसीटीलाई सेवामूलक मात्र नठानी उत्पादनमूलक क्षेत्रमा समेत विस्तार गर्नुपर्छ । यसले रोजगारी सिर्जना र समृद्ध अर्थतन्त्रतर्फ टेवा पुर्याउन सक्छ ।
दोस्रो, सार्वजनिक-निजी सहकार्यलाई मजबुत बनाउन आवश्यक छ । निजी क्षेत्रको ऊर्जाशीलता र राज्यको संरचनात्मक पहुँचलाई जोडेर अघि बढ्दा दिगो परिवर्तन सम्भव हुन्छ । राष्ट्रिय आईसीटी दिवसको सुरुवात निजी क्षेत्रबाट भएको र पछि सरकारी तहसम्म विस्तार भएको उदाहरण यसका लागि प्रेरक छ ।
तेस्रो, साइबर सुरक्षा अब डिजिटल युगको पहिलो प्राथमिकता हुनुपर्छ । डिजिटल नागरिकता, सरकारी सेवा र बैंकिङ प्रणालीजस्ता संवेदनशील क्षेत्रहरूलाई सुरक्षित राख्न उच्चस्तरीय सुरक्षा संयन्त्र चाहिन्छ ।
चौथो, एआई, ब्लकचेन, बिग डेटा, क्वान्टम कम्प्युटिङजस्ता उदाउँदो प्रविधिमा लगानी बढाइनु आवश्यक छ । अनुसन्धान, तालिम र अवस्थित संरचना अद्यावधिक गरेर मात्र नेपालले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा टिक्न सक्छ ।
वास्तवमा आईसीटी शिक्षालाई बाल्यकालदेखि नै प्रोत्साहन गर्नुपर्छ । स्कुले पाठ्यक्रममा डिजिटल साक्षरताको विषय समावेश गरेर बालबालिकालाई प्रविधिको सिर्जनशील प्रयोगमा अभ्यस्त बनाउनु दीर्घकालीन रणनीति बन्न सक्छ । यसले उनीहरूलाई सानैदेखि प्रविधिको उपभोक्ता नभई नवप्रवर्तनकर्ता बन्ने बाटो खोलिदिनेछ ।
राष्ट्रिय आईसीटी दिवस केवल एक दिनको उत्सव मात्र नभएर, यो वर्षभरि नै आईसीटी क्षेत्रको विकास र विस्तारका लागि प्रेरणाको स्रोत बन्नुपर्दछ । सरकार, निजी क्षेत्र र आमनागरिक सबै मिलेर एक सबल र समृद्ध डिजिटल नेपाल निर्माणको दिशामा अगाडि बढ्नुपर्दछ । ग्रामीण भेगसम्म इन्टरनेटको पहुँच पुर्याउने, साइबर सुरक्षालाई सुदृढ गर्ने र नयाँ प्रविधिहरूलाई आत्मसात गर्दै नेपाललाई विश्वव्यापी आईसीटी हबको रूपमा स्थापित गर्ने हाम्रो साझा लक्ष्य हुनुपर्दछ । सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेललाई प्रभावकारी रूपमा कार्यान्वयन गरेर हामी यो लक्ष्य हासिल गर्न सक्छौं ।
आईसीटी कुनै विकल्प नभई आवश्यकता बनेको छ । अब हामीले ‘कहाँ छौं’ भन्ने आत्ममूल्यांकन मात्रै होइन, ‘कहाँ पुग्न चाहन्छौं’ भन्ने स्पष्ट रोडम्याप बनाउन आवश्यक छ । राष्ट्रिय आईसीटी दिवसले हामीलाई त्यो संकल्पको स्मरण गराउने अवसर दिएको छ । अब सरकार, निजी क्षेत्र, शिक्षाविद् र प्रयोगकर्ताहरू सबैको साझा प्रयासले मात्र ‘डिजिटल नेपाल’ को सपना साकार हुनसक्छ ।