close

एन्ड्रोइडको थ्रीडी लोगो सार्वजनिक, तपाईँलाई कस्तो लाग्यो ?

टेकपाना टेकपाना

भदौ २१, २०८० १२:३२

एन्ड्रोइडको थ्रीडी लोगो सार्वजनिक, तपाईँलाई कस्तो लाग्यो ?

काठमाडौं । गुगलले आफ्नो अपरेटिङ सिस्टमको अपडेटेड थ्रीडी लोगो सार्वजनिक गरेको छ । मंगलबार ब्लगमार्फत कम्पनीले एन्ड्रोइडका लागि रोबोटको थ्रीडी लुक सार्वजनिक गरेको हो । एन्ड्रोइडको अपडेटेड लोगोमा रोबोट विभिन्न आठ रङ्गमा सजिएको देख्न सकिन्छ ।

यसलाई कम्पनीले 'बगरोइड' नाम दिएको छ । प्रविधिको विकाससँगै एन्ड्रोइड परिमार्जन हुँदै गएकाले आधुनिक एन्ड्रोइड झुल्काउन लोगो परिमार्जन गरेको कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले एन्ड्रोइडको लोगो सन् २०१९ मा परिवर्तन गरेको थियो । कम्पनीले पहिले एन्ड्रोइडको नयाँ भर्सनका लागि अलि जटिल नाम (जस्तै; एन्ड्रोइड ललिपप) राख्यो भने पछिल्लो समय सहज हुने नाम (जस्तै; एन्ड्रोइड १४) राख्दै आएको छ ।

यसरी साधारण नाम राख्दा ब्रान्ड विश्वभरका प्रयोगकर्ताले सहजै पहिचान गर्ने कम्पनीको विश्वास छ । अपडेट गरिएको नयाँ लोगोले गुगल एन्ड्रोइडसँगै संसारभरका प्रयोगकर्तालाई जोड्न सघाउने कम्पनीले आशा राखेको छ ।

नयाँ लोगोमा कम्पनीले एन्ड्रोइडको अक्षर पनि परिवर्तन गरेको छ । यसअघिको लोगोमा सबै अक्षर स्मल लेटरमा थिए भने अहिलेको नयाँ लोगोमा कम्पनीले अगाडिको अङ्ग्रेजी अक्षर ‘ए’ क्यापिटल बनाएको छ ।

परिमार्जित नयाँ लोगोले गुगलको एप र अपरेटिङ सिस्टमबीचको सम्बन्ध झल्काउने कम्पनीले जनाएको छ । बगरोइडको आधा भाग मात्र आठ ओटा रङ्गले सजाइएको छ । पूर्ण कदको बगराइड भने ब्लु कलरमा उपलब्ध गराइएको छ । 

थ्रीडी बगरोइडले आधुनिक प्रविधि (विशेषतः एआई र अटोनोमस सिस्टम) लाई झुल्काएको छ । हाल एन्ड्रोइड १४ को बेटा भर्सन मात्र सार्वजनिक भएको छ । गत मेमा आयोजित गुगल आईओमा घोषणा गरिएको एन्ड्रोइड १४ पूर्ण रूपमा सार्वजनिक गर्ने तयारीमा गुगल जुटेको छ । नयाँ लोगोसँगै गुगलले एन्ड्रोइडका अन्य विभिन्न फिचरहरू सार्वजनिक गरेको छ ।

विशेषगरी एन्ड्रोइड अटोमा जुम र सिस्को वेबेक्स ल्याउने गुगलको भनाइ छ । त्यसबाहेक पनि गुगलले आफ्नो वालेटमा पास फोटो इम्पोर्ट फिचर ल्याउन लागेको छ । यसैगरी नयाँ अपडेट अन्तर्गत प्रयोगकर्ताले गुगल असिस्टेन्टलाई ‘हे गुगल, गुड मर्निङ’ भनेको अवस्थामा असिस्टेन्टले प्रयोगकर्ताको सुताइको तथ्याङ्क (स्लिपिङ स्ट्यास्ट) देखाउनेछ ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० १२:३८