close

च्याटजीपीटीभन्दा शक्तिशाली एआई टुल बनाउन दैनिक लाखौं डलर खर्च गर्दै एप्पल

टेकपाना टेकपाना

भदौ २१, २०८० १४:४

च्याटजीपीटीभन्दा शक्तिशाली एआई टुल बनाउन दैनिक लाखौं डलर खर्च गर्दै एप्पल

 

काठमाडौं । च्याटजीपीटीभन्दा शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल निर्माण गर्न एप्पलले दैनिक लाखौं डलर खर्च गरिरहेको तथ्य बाहिरिएकाे छ । च्याटबटमा आधारित एआई टुल फन्डामेन्टल मोडेल विकास गर्न कम्पनीले ठूलाे मात्रामा खर्च गरिरहेकाे द इन्फरमेसनले जनाएकाे छ ।

द इन्फर्मेसनकाे रिपोर्ट अनुसार एप्पलको टिम हाल थुप्रै एआई मोडेलको विकासमा सक्रिय छ । विशेषगरी प्रयोगकर्ताले बोलेर निर्देशन दिएकै भरमा स्वतः उनीहरूले भने अनुसारको फङ्सन गर्ने सिस्टम विकासका लागि कम्पनी सक्रिय छ ।

यससँगै प्रयोगकर्ताले सिरीलाई उनीहरूले हालै खिचेका विभिन्न फोटोलाई जोडेर गिफ फाइल बनाउन भनेकाे खण्डमा त्यसले क्षणभरमै सो काम गरिदिने प्रविधि विकास गर्न कम्पनी लागिपरेकाे छ ।

त्यसबाहेक पनि आईफोन प्रयोगकर्ताले म्यानुअल्ली गरिरहेका सयौं कामहरू एआई टुलले स्वतः गरिदिने बनाउन कम्पनीले अनुसन्धान तथा परीक्षण गरिरहेको द इन्फरमेसनले उल्लेख गरेको छ । एप्पल केयर प्रयोग गर्ने प्रयोगकर्तासँग अन्तर्क्रिया गर्नका लागि पनि एप्पलको च्याटबट उपयुक्त हुने रिपोर्टमा उल्लेख छ ।

फन्डामेन्टल मोडेलमा काम गर्न हाल १६ जनाभन्दा बढी कर्मचारी छन् । यी तिनै कर्मचारी हुन्, जसले पहिला गुगलमा इन्जिनियरका रूपमा काम गरेका थिए । सन् २०१८ मा सिरीलाई स्तरीय बनाउन एप्पलको एआई प्रमुखका रूपमा जोन जियानान्ड्रिया नियुक्त भएका थिए । उनैको नेतृत्वमा कम्पनीले अत्याधुनिक तथा स्तरीय एआई टुल विकास गर्न लागेको हो ।

विशेषगरी पछिल्लो समय एआईमा आधारित च्याटजीपीटीको चर्चापछि कम्पनीले यस्तो कदम थालेको द इन्फरमेसनले जनाएको छ । एप्पलले विकास गर्न लागेको एआई टुलको सहायताले प्रयोगकर्ताले टेस्क्टको भरमा फोटो, भिडिओ वा टेक्स्टमै जवाफ पाउने बताइएको छ । यो मोडेललाई मल्टिमोडल एआई भनिएको छ ।

हाल अध्ययन अनुसन्धान भइरहेको यो मोडेलका लागि एप्पलको भिजुअल इन्टेलिजेन्स युनिट सक्रिय छ । यी परियोजनामा काम गरेका केही व्यक्तिले द इन्फरमेसनलाई भने अनुसार एप्पल दुई खर्ब पारामिटरमा लार्ज ल्याङ्ग्वेज मोडेललाई तालिम दिइरहेको छ । जबकि ओपन एआईले च्याटजीपीटी थ्रीलाई एक खर्ब ७५ अर्ब पारामिटरमा तालिम दिएको थियो ।

द भर्जले यसबारे कम्पनीसँग बुझ्न खोज्दा कम्पनीले कुनै आधिकारिक धारणा दिइसकेको छैन । लाखौं डलर खर्च गरिरहेको भनिएको भए पनि ठ्याक्कै कति रकम कुन कुन परियोजना खर्च गरिरहेको छ भन्ने खुलेको छैन ।

पछिल्लो अध्यावधिक: भदौ २१, २०८० १४:४