काठमाडौं । अमेरिकी चिप निर्माता कम्पनी एनभिदियाले एआईमा आधारित एप विकास गर्न भारतको रिलायन्स इण्डस्ट्रिज र टाटा ग्रुपसँग सहकार्य गरेको छ । एनभिदियाले शुक्रवार क्लाउड पूर्वाधार, ल्याङ्ग्वेज मोडेल र जेनेरेटिभ एआई एप विकासका लागि भारतका ठूला दुई कम्पनीसँग सहकार्यको घोषणा गरेको हो ।
भारतीय दुई व्यापारिक घरानासँगको यो सम्झौताले एनभिदियालाई दक्षिण एसियाली मुलुकहरूमा एआई इकोसिस्टम विकास गर्न सघाउने बताइएको छ । विशेषगरी एनभिदियाले अमेरिकी प्रतिबन्धका कारण चीन र अन्य केही राष्ट्रमा चिप निर्यात गर्न सकेको छैन ।
नयाँ दिल्लीमा जी२० मिट सुरु हुनुअघि गत हप्ता एनभिदियाका सीईओ जेनसेन ह्वाङले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटघाटका क्रममा ह्वाङले भारतमा एआई क्षेत्रका सम्भावित अवसरबारे छलफल गरेको रोयटर्सले उल्लेख गरेको छ ।
रिलायन्ससँगको सहकार्यमा एनभिदियाले क्लाउड एआई इन्फ्रास्ट्रक्चर प्लेटफर्म स्थापना गर्न आवश्यक कम्प्युटिङ पावर उपलब्ध गराउनेछ । यता रिलायन्स अन्तर्गतको जिओले ग्राहकको आवश्यकता मध्यनजर गर्दै पूर्वाधार व्यवस्थापन गर्नेछ ।
“रिलायन्सले आफ्ना ४५ करोड बढी ग्राहकका लागि एआई एप्लिकेसन र सेवा तयार पार्नेछ,” एनभिदियाले भनेको छ, “त्यस्तै भारतका स्टार्टअप, डेभलपर र वैज्ञानिकलाई किफायती ऊर्जामा आधारित एआई पूर्वाधार पनि उपलब्ध गराउनेछ ।”
भारतको प्रमुख सफ्टवेयर सेवा आयातकर्ता टाटा कन्सल्टेन्सी सर्भिसेस पनि यो सहकार्यबाट लाभान्वित हुनेछ । विशेषगरी जेनेरेटिभ एआई एप्लिकेसन, सुपर कम्प्युटर जस्ता परियोजनाका लागि एनभिदियाले टाटालाई आवश्यक पूर्वाधार उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । साथै यसबाट टाटा कन्सल्टेन्सीका छ लाख बढी कर्मचारीको सीप र क्षमता पनि अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
पछिल्लो समय एआईको चर्चा बढ्नुको पछाडिको प्रमुख कारण एनभिदिया हो । एनभिदियाले नै च्याटजीपीटी, बार्ड र बिङ एआई जस्ता टुल विकासका लागि चिप उपलब्ध गराउँदै आएको छ । यिनै एआई टुलको चर्चा बढेसँगै एनभिदियाको बजार मूल्य १० खर्ब डलर माथि उक्लेको थियो । हाल एनभिदियाको बजार मूल्य ११ खर्ब ३० अर्ब अमेरिकी डलर रहेको छ ।