close

असोज १५ देखि अनलाइनबाटै कम्पनी दर्ता

टेकपाना टेकपाना

भदौ २८, २०८० ७:३४

असोज १५ देखि अनलाइनबाटै कम्पनी दर्ता

काठमाडौं । आगामी असोज १५ देखि प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्यांक स्थानान्तरण (डेटा माइग्रेसन) का लागि काम भइरहेको कार्यालयका उपरजिस्ट्रार शेखरबाबु कार्कीले जानकारी दिए ।

अनलाइनबाट दर्ता हुने कम्पनीले कम्पनीको छाप तथा कम्पनीको तर्फबाट सम्बन्धित कागजातमा हस्ताक्षर गर्न अनुमतिप्राप्त कम्पनीको अध्यक्ष, सञ्चालक वा कम्पनी सचिवको नमुना हस्ताक्षर विद्युतीय सूचना प्रणालीमा उपलब्ध गराउनुपर्नेछ ।

केही समयका लागि हाल प्रचलनमा रहेको भौतिक कागजात पेस गरी सेवा लिने वा विद्युतीय हस्ताक्षरमार्फत कागजात पेस गरी डिजिटल सेवा लिने भनी विकल्प उपलब्ध गराइने कार्यालयले जनाएको छ । 

आर्थिक वर्ष २०८०-८१ को बजेटमा अनलाइनबाट कम्पनी दर्ता तथा पुँजी वृद्धि कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने घोषणा गरिएको थियो ।

पछिल्लो अध्यावधिक: भदौ २८, २०८० ७:३४