काठमाडौं । अब पूर्व स्वीकृति बिना भिडिओमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने भएको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै प्रहरी प्रधान कार्यालयले पूर्व स्वीकृति नलिएर सामाजिक सञ्जालका विभिन्न माध्यम, साङ्गतिक भिडिओ, चलचित्र तथा टेलिचलचित्र र स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग नगर्न चेतावनी दिएको हो ।
"बेलाबेलामा टिकटक, फेसबुक लगायतका माध्यममा प्रहरी पोसाकको दुरुपयोग गरेका, राम्रोसँग नगलाइदिने, पोसाक लगाएको बेला प्रयोग गरिने शब्द चयन पनि व्यावसायिकताभन्दा बाहिर गएर बोलिएका घटना बढ्दै गए," टेकपानासँग कुरा गर्दै कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले भने, "विभिन्न समयमा आएका समग्र घटनालाई मध्यनजर गर्दै सचेत बनाउन ध्यानाकर्षण गराएका हौं ।"
सबैले अरूको व्यावसायिकताको कदर गरिदिन कडायतले अनुरोध गरेका छन् । उनले अगाडि भने, "सही काम छ भने सही हो भनेर कदर गरिदिनुपर्यो । गलत भइरहेको छ भने औंल्याइदिनुपर्यो, सुझाव पनि दिनुपर्यो ।"
प्रवक्ता कडायतका अनुसार प्रहरीको मनोबल घटाउने किसिमले पोसाकको दुरुपयोग गरेको पाइएकाले अनिवार्य अनुमति लिनुपर्ने बनाइएको हो । यससँगै अब नेपाल प्रहरीको पोसाक प्रयोग गर्नु पूर्व नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाक प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्नेछ ।
श्रव्यदृश्य शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसार बाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न कार्यालयले अनुरोध गरेको छ ।
यदि प्रहरी पोसाकको दुरुपयोग गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी समेत कार्यालयले दिएको छ । हालै युट्युबमा सार्वजनिक प्रकाश सपुतको 'जाले रुमाल फाट्यो' बोलको म्युजिक भिडिओमा भएको एउटा संवाद विवादित बनेको थियो । सो भिडिओको अन्तिमतिरको दृश्यमा प्रहरी पात्र र अर्का व्यक्तिबीच भएको संवादलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले चर्को आलोचना गरेका थिए । चर्को आलोचना आएपछि सपुतले भिडिओबाट सो संवाद हटाएका छन् ।