close

आईफोनमाथि प्रतिबन्ध लगाएका छैनौंः चीन

टेकपाना टेकपाना

भदौ ३०, २०८० १३:५६

आईफोनमाथि प्रतिबन्ध लगाएका छैनौंः चीन

 

काठमाडौं । आईफोन वा अन्य कुनै विदेशी ब्रान्डको फोन प्रयोग गर्नबाट रोक्ने कानून वा नियम जारी नगरेको चीनले  स्पष्ट पारेकाे छ । केही दिनअघि वाल स्ट्रिट जर्नलले चीनका सरकारका कर्मचारीलाई आईफोन नल्याउन र सरकारी कामका लागि सो ब्रान्डको फोन प्रयोग नगर्न निर्देशन भएको विषयमा समाचार प्रकाशित गरेकाे थियाे ।

चीनकाे विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले भने सरकारले यसबारे कुनै ठाेस निर्णय नगरेकाे बताएकी छन् । आफ्नो देशले सूचना तथा साइबर सुरक्षालाई ठूलो महत्त्व दिने बताउँदै उनले मिडियामा आएका समाचारहरूलाई चीनले विश्लेषण गरिरहेकाे उल्लेख गरेकी छन् ।

त्यस्तै प्रवक्ता निङले चीनमा भएका विदेशी सेलफोन कम्पनीहरूलाई चीनको गोपनीयता कानून पालना गर्न र ग्राहकको डेटामा कुनै पनि अनधिकृत पहुँच नगर्न आग्रह गरेकी छिन् । साथै चीनको खुलापन र आर्थिक विकासमा सहभागी हुनसमेत उनले प्रोत्साहन गरेकी छिन् । 

गत हप्ता आईफोनसहित एप्पलका उपकरणमाथि प्रतिबन्ध लागेकाे खबर फैलिएपछि एप्पलको स्टक मूल्यमा ठूलो गिरावट आएको थियो । ह्वाइट हाउसले भने अमेरिकी कम्पनीहरू विरुद्ध चीनले लिएको बदलाको रूपमा उक्त घटना वर्णन गरेको थियो । 

चीन एप्पलको लागि ठूलो बजार हुनुका साथै त्यहाँ स्थापित एक अमेरिकी ब्रान्ड पनि हो । देशअनुसार आईफोन कति बिक्री भयो भनेर एप्पलले बताउने नगरेता पनि विभिन्न रिपोर्टहरूले अमेरिकामा भन्दा बढी बजार भएको बताउने गर्छन् ।

चीनमा आईफोन बिक्री बाहेक एप्पलले ठूलो मात्रामा उत्पादनकाे काम गर्ने गर्छ । यद्यपि एप्पलले उक्त घटनाबारे आधिकारिक रूपमा केही पनि बताएको थिएन।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८० १३:५६