close

विद्यार्थीले बनाए एक सेकेन्डभन्दा पनि कम समयमा १०० किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्ने ईभी

टेकपाना टेकपाना

असोज १, २०८० १७:४८

विद्यार्थीले बनाए एक सेकेन्डभन्दा पनि कम समयमा १०० किलोमिटर प्रति घण्टाको स्पिडमा गुड्ने ईभी

काठमाडौं । विद्यार्थीको एक समूहले बनाएको विद्युतीय गाडीले सबैभन्दा कम समयमा शून्यदेखि १०० किलोमिटरको गति पकडेर कीर्तिमान राखेको छ । स्विजरल्याण्डस्थित ईटीएच जुरिच र लुसर्न युनिभर्सिटीका विद्यार्थीको समूहले तयार पारेको विद्युतीय गाडीले सो कीर्तिमान कायम गरेको हो । 

खुला ककपिट तथा एउटा सिट भएको ‘मिथन’  (Mythen) नाम दिइएको सो गाडीले हालै मात्र उक्त रेकर्ड राखेको इन्साइड ईभीले जनाएको छ । खबर अनुसार यस गाडीले ०.९५६ सेकेन्डमा १२.३ मिटरको दूरी पार गर्दा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पिड पकडेको थियाे ।

करिब एक वर्षको समय लगाएर उक्त गाडी तयार पारिएको हाे । ​याेसँगै गत वर्षकाे सेप्टेम्बरमा युनिभर्सिटी अफ स्टटगार्टको एक टिमले तयार पारेकाे गाडीले १.४६१ सेकेन्डमा राखेकाे कीर्तिमान तोडिएको छ । 

विश्वविद्यालयको एकेडेमिक मोटरस्पोर्ट्स क्लब ज्युरिच (एएमजेड) टिमका प्रवक्ताले इन्साइड ईभीलाई भने, “यो २०१९ को फर्मुला स्टुडेन्ट सिजनको भागका रूपमा सुरु गरिएको परियोजना हो ।”

उक्त कीर्तिमान कायम गर्न गाडीको तौल १४०.१६ किलो (३०९ पाउन्ड) राखिएको थियो । यो तौल गाडीको सर्किट बोर्ड, च्यासिस र ब्याट्रीसहितको हो ।

विद्यार्थीको टिमले गाडी हलुका बनाउन विभिन्न सामग्री कार्बन र अल्मुनियम प्रयोग गरेका थिए । यसमा ३२६ हर्ज पावरको हब मोटर प्रयोग गरिएको थियो । 

गाडीमा ब्याट्री कति क्षमताको राखिएको थियो भन्ने स्पष्ट छैन । तर, सामान्य फर्मुला स्टुडेन्ट ईभीमा हुनेभन्दा एक तिहाइ क्षमता रहेको एइमजेडले जनाएको छ ।

यो ईभीले कति रेञ्ज दिन्छ भन्ने स्पष्ट छैन । गाडी प्रवेगमा केन्द्रित भएकाले सिङ्गल चार्जमा सो कीर्तिमान हासिल भएको विद्यार्थीले बताएका छन् ।
\

पछिल्लो अध्यावधिक: असोज १, २०८० १७:४८