काठमाडौं । नेपालमा चर्चित फेसबुक पेज 'रुटिन अफ नेपाल बन्द' फिर्ता भएको छ । विहीवार एक पोस्ट राख्दै पेजका सञ्चालक भिक्टर पौडेलले पेज पुनः सञ्चालनमा आएकाे जानकारी दिएका हुन् ।
“आरओएनबी अब भिक्टर पौडेल या कुनै सीमित ग्रुपको हुने छैन,” पेज 'पब्लिस्ड' गर्दै सञ्चालक पौडेलले लेखेका छन्, “आरओएनबी अब विस्तारै पहिलेको भन्दा फरक शैली र जनताको लाइफ इजी गराउने काममा ध्यान दिनेछ ।”
सोही पोस्टमा पौडेलले अब पेजमा राजनीतिक विषयवस्तु कम समट्ने समेत उल्लेख गरेका छन् ।
फेसबुक पेजबाट गरिएको अर्को पोस्टमा उनले गैरनाफामूलक अथवा पब्लिक कम्पनीमा जाने सम्भावनाकाे खोजी गर्नेसमेत बताएका छन् ।
पेज फिर्ता भएसँगै पेजको निकनेम ‘रुटिन अफ नेपाल’ राखिएको छ । भदौ १७ गते काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) लाई पुत्रीलाभ भएको रेको रुटिन अफ नेपाल बन्दको पोस्ट विवादित समेत बनेको थियो । भदौ १६ गते राति मेयर बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उक्त विषय सामाजिक सञ्जालमा चर्को बहसमा तानिएको थियो ।
रुटिन अफ नेपाल बन्दबाट गरिएको पुत्री लाभ सम्बन्धी गरेको पोस्ट बालेनलाई जोगाउनका लागि गरिएको लख कतिपयले काटेका थिए । रुटिन अफ नेपाल बन्द यसरी पहिलो पटक अचानक गायब भएको थियो ।
गायब भएको करिब १७ दिनपछि रुटिन अफ नेपाल बन्दका सम्पूर्ण सामाजिक सञ्जालमा फिर्ता आएको छ ।
पेजका सञ्चालक पौडेलले सबैभन्दा पहिले फेसबुक पेज अनपब्लिश्ड गरेका थिए । त्यसपछि इन्स्टाग्राम, थ्रेड्स हुँदै एक्स पनि हटाएका थिए । टिकटक र युट्युब अकाउन्ट भने बन्द भएका थिएनन् । रुटिन अफ नेपाल बन्द गायब भएपछि फेसबुकमा नक्कली पेज बनाएर बुस्ट गर्नेहरू बढेका थिए ।