close

टेलिकमका पट्यारलाग्दा सीआरबीटीले प्रयोगकर्ता वाक्क, मुद्दाको तयारीमा उपभोक्ता अधिकार मञ्च

टेकपाना टेकपाना

असोज ४, २०८० १२:३७

टेलिकमका पट्यारलाग्दा सीआरबीटीले प्रयोगकर्ता वाक्क, मुद्दाको तयारीमा उपभोक्ता अधिकार मञ्च

 

काठमाडौं । अचेल दिनहुँ जसो नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा कल गर्दा नयाँ नयाँ रिङ ब्याक टोन (सीआरबीटी)  बजिरहेका हुन्छन् । यस्ता सन्देश बाट सीआरबीटी मात्र नभई प्रयोगकर्ताका एसएमएस बक्स समेत भरिभराउ भइरहेका हुन्छन् । 

जनचेतना र राष्ट्रिय विपद्‌को अवस्थामा अत्यन्त जरुरी सूचना सम्प्रेषणका लागि मात्र नभएर उपभोक्ताको निजी मोबाइललाई विभिन्न राष्ट्रिय दिवसमा सरकारी सन्देश प्रवाहको सञ्चार माध्यम नै बनाइएको छ ।  

नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ता रहेका अवषिस ओझाले बिहीबार बिहानै फेसबुकमा एक पोस्ट लेखे, "कृपया नराम्रो नमान्नु होला, म अबदेखि ह्वाट्सएप र मेसेञ्जरमा मात्र कल गर्छु । एक त त्यो सन्देश सुन्न दिक्क लाग्छ र अर्को कुरा पैसा पनि बचत हुन्छ ।"

रेडियो, टेलिभिजन, पत्रपत्रिका र समाचार एजेन्सी समेत आफैं चलाउने सरकारले त्यसको प्रभावकारी विकल्पको रूपमा मोबाइल फोनलाई सञ्चार माध्यमको रूपमा हेर्न थालेपछि टेलिकम कम्पनीका ग्राहकहरू वाक्क दिक्क भएका छन् । 

नेपाल टेलिकम आफैंमा सरकारी स्वामित्वको कम्पनी भएकाले विभिन्न सरकारी निकायबाट आउने अनुरोधलाई नकार्न सक्दैन । त्यसै अनुरूप दिनहुँजसो नयाँ नयाँ रिङ ब्याक टोन बज्ने गरेका हुन् । तर एनसेल भने निजी कम्पनी भएकाले त्यस्ता सबै अनुरोध स्वीकार गर्न विवस हुँदैन । 

नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारी धेरैजसो ग्राहकले यसरी बज्ने रिङ ब्याक टोनमा असन्तुष्टि जनाउँदै गुनासो टिपाउने गरेको बताए । “पछिल्लो समय यस्ता गुनासो आउने क्रम एकदमै बढेको छ,” उनले टेकपानासँग भने, “जनचेतना, शिक्षामूलक तथा सन्देशमूलक सूचनाका लागि त यो ठीकै पनि हुन्छ ।” 

दिनहुँ मात्र होइन, कहिले काहिं त एकै दिन टेलिकमले समानान्तर रूपमा दुई दुई ओटा सीआरबीटी बजाइरहेको हुन्छ । एकै दिन दुई ओटा दिवस तथा सन्दर्भ परेको खण्डमा यस्तो अवस्था सिर्जना हुने गरेको अधिकारीले बताए । 

टेकपानाले बिहीवार सामाजिक सञ्जालमार्फत प्रयोगकर्ताको प्रतिक्रिया लिने प्रयास गरेको  थियो । त्यस क्रममा अधिकांशले टेलिकमका रिङ ब्याक टोनले वाक्क दिक्क बनाएको उल्लेख गरेका छन् । वाक्क दिक्क लाग्ने भए पनि आफ्नो इच्छा विपरीत यस्ता टोन बज्दा समेत सुन्न बाध्य भएको काठमाडौंका रमेश भण्डारीले बताए ।

अर्का प्रयोगकर्ता उमेश साउदले आफूले पैसा तिरेर लिएको सेवामा सरकारले यसरी जेपायो त्यही बजाउन नपाउने तर्क गरेका छन् । केही प्रयोगकर्ताले भने कुनै कुनै सन्देशमूलक सामग्री हुने भए पनि चर्को र नसुहाउँदो आवाजको साटो नरम आवाज प्रयोग गर्न सल्लाह दिएका छन् ।

महेन्द्रनगर घर भएकी हेमन्ती गिरी भन्छिन्, "कहिले काहिं सूचनामूलक हुन्छ, तर कल गरिराख्ने मान्छेलाई पटक पटक एउटै कुरा सुनिराख्दा दिक्क लाग्ने बनाउँछ ।"

कतिपयले त यस्तो धुन र सूचना बन्द गर्ने तरिका समेत खोज्ने गरेको भेटियो । उपभोक्ता अधिकार मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले आफूहरूले सम्बन्धित टेलिकम सेवा प्रदायकको ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि मुद्दा दायर गर्ने तयारीमा रहेको सुनाए ।

“मैले एउटा उपभोक्ताको हैसियतले टेलिकमको सेवा किनेको हो । उसले मनलाग्दी कुराहरू ममाथि लाद्न पाउँदैन । उसको लागि सुनिदिनु पर्ने भन्ने हुँदैन,” उनले भने, “भारतमा यस विषयमा मुद्दा परेर सल्टिसकेको छ ।”

विभिन्न सम्बन्धित सरकारी निकायहरूले आआफ्नो क्षेत्रको दिवस वा कार्यक्रमको विषयलाई सीआरबीटीको रूपमा बजाउन लगाइदिन भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिरहेका हुन्छन् । प्राधिकरणले सोही पत्राचारको आधारमा नेपाल टेलिकम र एनसेल दुवै मोबाइल सेवा प्रदायकलाई सीआरबीटी बजाउन भन्दै सिफारिस गरिदिन्छ । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले त्यस्तो अभ्यास भए पनि पछिल्लो तीन दिनदेखि बजिरहेको संविधान दिवसको सन्देशको विषयमा भने आफूलाई जानकारी नभएको बताए । “यस अघि सबै सीआरबीटी सन्देशहरू प्राधिकरणमार्फत जाने गरेको थियो” उनले भने, “तर संविधान दिवसको सन्देश कसरी गयो मलाई थाहा छैन ।”

नेपाल टेलिकमको सञ्चालक समिति बोर्डले पछिल्लो समय सूचना तथा प्रसारण विभागले सिफारिस गरेको आधारमा रिङ ब्याक टोन बजाउने निर्णय गरेको बताइएको छ । तर यो विषयको पुष्टि भने हुन सकेको छैन । अधिकार मञ्चका अध्यक्ष बानियाँ यस्ता वाक्क दिक्क पार्ने सीआरबीटीले प्रयोगकर्तालाई नै अन्य विकल्प खोज्नुपर्ने बाध्यतामा पुर्‍याइदिएको विश्लेषण गर्छन् । 

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १२:३९