close

आईफोन १५ प्रो म्याक्स एप्पलको अहिलेसम्मकै कमजोर स्मार्टफोन !

टेकपाना टेकपाना

असोज ८, २०८० १०:५७

आईफोन १५ प्रो म्याक्स एप्पलको अहिलेसम्मकै कमजोर स्मार्टफोन !

काठमाडौं । आईफोन १५ 'ड्युर्‍याबिलिटी टेस्ट' (टिकाउ परीक्षण) मा असफल भएको छ । युट्युबर जेर्री रिगले गरेको परीक्षणमा आईफोन १५ प्रो म्याक्स असफल भएको हो ।

आईफोन १५ दशककै सबभन्दा कमजोर फोन भएको यट्युबर रिगको परीक्षणबाट देखिएको छ । त्यसअघि सन् २०१४ मा एप्पलकै आईफोन सिक्स ड्युराबिलिटी टेस्टमा असफल भएको थियो ।

यसो त कम्पनीले आईफोन १५ अहिलेसम्मकै सबैभन्दा बलियो र टिकाउ फोन भएको प्रचार गरेको छ । कम्पनीका अनुसार आईफोन १५ प्रो र प्रो म्याक्समा शक्तिशाली धातु टाइटनियम प्रयोग भएको छ । जुन ७००० ग्रेड आल्मुनियमभन्दा निकै शक्तिशाली र टिकाउ भएको एप्पलको दाबी छ ।

जति बलियो छ भने पनि युट्युबर रिगले गरेको परीक्षणमा आईफोन १५ अन्य डिभाइसको तुलनामा निकै कमजोर सावित भयाे ।

सबैभन्दा पहिले रिगले धारिलो चक्कुले आईफोन १५ प्रो म्याक्समा स्क्र्याच टेस्ट गरे । ​एप्पलले आईफोन १५ मा शक्तिशाली डिस्प्ले दिएको दाबी गरिरहँदा रिगले स्क्रिनको स्क्र्याच परीक्षण गरे । त्यसमा सातौं पटकमा स्क्रिनमा स्क्र्याच देखियो ।

त्यसपछि उनले सो फोनको डाइनामिक आइल्यान्डको क्यामेरामा पनि त्यही स्क्रिन भएको भन्दै परीक्षण गरेनन् । र सोझै चक्कुले एयरपिस परीक्षण गरे । चक्कुको ताकतले एयरपिस ग्लास र टाइटानियम साइडबाट उक्किएन ।

यति गरेपछि रिगले टाइटानियम साइडमा स्क्र्याच गरे । टाइटानियम साइडमा एप्पलले पीभीडी कोटिङ गरेको जनाएको छ । सो कोटिङ निस्किन्छ वा निस्किँदैन भन्ने परीक्षण गर्न रिगले चक्कुले कोतारे । पीभीडी एक सेकेन्ड पनि अडेन । चक्कुको धार गएको सबै ठाउँबाट पीभीडी निस्कियो । त्यसमा भएको भोल्युम, लक तथा एक्सन बटन सबै स्क्र्याच भए ।

तर पछाडिको ग्लास भने अरू आईफोन डिभाइसजस्तै स्क्र्याच भएन । यति गरेपछि उनले क्यामेराको स्क्र्याच परीक्षण गर्न थाले । क्यामेराको लेन्समा पनि कुनै स्क्र्याच भएन ।

स्क्र्याच परीक्षण सकिएपछि फायर टेस्ट (आगोको तापमा गरिने परीक्षण) गरे । लाइटर बाली त्यसको फ्लेम आईफोन स्क्रिनमा तेर्साए । ३० सेकेन्डसम्म लाइटर बाल्दा पनि स्क्रिनमा कुनै समस्या देखिएन ।

यति गरेपछि रिगले 'बेन्डिङ टेस्ट' अर्थात् फोन बाङ्गिन्छ वा बाङ्गिँदैन भनेर परीक्षण सुरु गरे । फोन दुई ओटा हातमा लिएर पछाडि ग्लासमा दुई ओटा बुढी औंला र अगाडि डिस्प्लेमा बाँकी औंला राखेर हल्का के ढल्काएका थिए, ग्लास टुट्यो ।

“तपाईंले मलाई ११ वर्षदेखि स्मार्टफोनको ड्युर्याबिलिटी टेस्ट गरिरहेको देखिरहनु भएको थियो,” रिगले भिडिओमा भनेका छन्, “तर अहिलेसम्म अधिकांश फोन टुटेका थिएनन् । यो अहिलेसम्मकै सबैभन्दा कमजोर फोन रहेको पाएँ ।”

उनी टाइटानियम साइडबाट प्रभावित भए पनि ग्लासबाट भने प्रभावित हुन सकेनन् । उनले अगाडि भने, “यदि मैले प्रयोग गर्नका लागि १२०० डलरमा यो फोन खरिद गरेको भए म निकै नर्भस हुने थिएँ ।”

उनले आईफोन १५ ले आफ्नो ड्युराबिलिटी टेस्ट उत्तीर्ण गर्न नसकेको निष्कर्ष निकालेका छन् । उनका अनुसार टाइटानियमले ठूलो लाइटरको आगोको ज्वाला सहन सके पनि डिस्प्लेले भने सकेन ।

भिडिओ हेर्नुहोस्

पछिल्लो अध्यावधिक: असोज ८, २०८० ११:८