close

इन्द्रजात्राको रथमा अब जीपीएस, गल्ली म्याप्सबाट जात्रा भइरहेको ठाउँ हेर्न सकिने

टेकपाना टेकपाना

असोज ८, २०८० १५:२०

इन्द्रजात्राको रथमा अब जीपीएस, गल्ली म्याप्सबाट जात्रा भइरहेको ठाउँ हेर्न सकिने

काठमाडौं । नेपालको स्थानीय म्याप सेवाप्रदायक गल्ली म्याप्सले आफ्नो एप अपडेट गरेको छ । इन्द्रजात्राको अवसरमा कम्पनीले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्दै एपमा नयाँ अपडेट गरेको हो ।

साेमबार काठमाडौं महानगरपालिकाको कार्यालयमा भएकाे एक कार्यक्रममा महानगरकी उपमेयर सुनिता डङ्गोलले एपकाे नयाँ फिचर सार्वजनिक गरिन् । यससँगै इन्द्रजात्रा कहाँ कहाँ भइरहेको छ, इन्द्रजात्रा मनाउने बाटो कहाँ छ भनेर प्रयोगकर्ताले एपमार्फत नै हेर्न पाउन सक्ने भएका छन् ।

प्रविधि र परम्परालाई जोडेर गरिएको यो कामले प्रयोगकर्ताहरूलाई सेवा दिने उपमेयर डङ्गोलले बताइन् । “गल्ली म्याप्सको सहकार्यले नगरवासीलाई इन्द्रजात्रा मनाउन सहयोग गर्छ । अब जात्राहरू मनाइरहेको स्थान एपमै हेर्न सकिने हुँदा सजिलो हुन्छ । महानगरले जात्रा मात्र नभएर वडा कार्यालय, सरकारी भवन जान पनि ‍कम्पनीसँग आगामी दिनमा सहयोग गर्ने छ,” उनले बताइन् । 

जात्राका बेलामा रथ कहाँ आइपुग्यो भनेर थाहा पाउन यो अपडेट उपयोगी हुने गल्ली म्याप्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राज विक्रम महर्जनले बताए । उनका अनुसार  रथ, लाखे, पुलुकिसी, हाल्चोक भैरवमा जीपीएस राखेर ती कहाँ-कहाँ छन् भनेर एपमा वास्तविक समय (रियल टाइम)मा अपडेट दिइने छ । विशेषत: यसले जात्रा मनाउने व्यक्तिहरूलाई उपयोगी हुने उनले जनाए ।

त्यस्तै नयाँ अपडेटमा स्थानीय म्याप्सलाई प्रयोग गर्न निकै सजिलो बनाएको पनि सीईओ महर्जनले बताए । यसका लागि ३६० डिग्रीमा हेर्न सकिने ठाउँहरू, सार्वजनिक शौचालयहरू, थप गल्लीहरू थपिएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज ८, २०८० १६:५४