close

यी ४ कुराले आईफोन १५ प्रो म्याक्स भन्दा एन्ड्रोइड फोन नै राम्रो

टेकपाना टेकपाना

असोज ९, २०८० १७:११

यी ४ कुराले आईफोन १५ प्रो म्याक्स भन्दा एन्ड्रोइड फोन नै राम्रो

काठमाडौं । एप्पलले आईफोन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स सार्वजनिक गरेकाे छ । नेपालमी बजारमा पनि यी माेडेल केही दिनमा उपलब्ध हुँदैछन् ।

एप्पलले सबै माेडेलमा डाइनामिक आइल्यान्ड र यूएसबी-सी केबल दिएको छ । आईफोन १५ काे स्ट्यान्डर्ड मोडेलमा ४८ मेगापिक्सेलको क्यामेरा, प्रो मोडेलमा एक्सन बटन र प्रो म्याक्स मोडेलमा पाँच गुणासम्म अप्टिकल जुम गर्न मिल्ने टेट्राप्रिज्म टेलिफोटो सेन्सर दिइएको छ ।

तर केही महत्त्वपूर्ण फिचरकाे कुरा गर्दा एन्ड्रोइडको तुलनामा एप्पल अझै पछि छ । अहिले आईफोन १५ मा दिइएका अधिकांश फिचरहरू एन्ड्रोइड फाेनमा आइसकेका छन् ।

यसैबीच आज हामीले आईफोन १५ प्रो म्याक्स र एन्ड्रोइड ओएसमा चल्ने फ्ल्यागशिप फोनका केही फिचरबारे चर्चा गर्दैछौं:

चार्जिङ छिटो हुने यूएसबी-सी

लाइट्निङ केबल प्रयोग गर्न थालेको करिब एक दशकपछि एप्पलले यूएसबी-सी प्रयोग सुरु गरेको छ । तर यो एप्पलको चाहनाभन्दा पनि युरोपेली संघको नियमकाे असर हो ।

एप्पलमा यूएसबी-सी पोर्ट आएपछि तपाईंले चार्जिङ छिटो हुने अपेक्षा राख्नु भएको हुन सक्छ । तर एप्पलको यूएसबी-सीमा त्यस्तो नयाँ केही छैन । केही एन्ड्रोइड फोनहरूमा चार्जिङ स्पिड २१० वाटसम्म पुग्ने गर्छ । जुन प्रतिशतका हिसाबले पाँच मिनेटमा ६६ प्रतिशत चार्ज हुनु हो ।

एन्ड्रोइडको औसत चार्जिङ गति ४५ वाट हो । जस्तै; यो स्पिड सामसङको ग्यालेक्सी एस२० थ्री अल्ट्रामा छ ।

हुन त यो त्यति फास्ट स्पिड होइन । यद्यपि आईफोनको तुलनामा भने अवश्य बढी हो । अर्को एन्ड्रोइड फोन वनप्लस ११ को चार्जिङ स्पिड भने ८० वाटसम्म पुग्छ । तर देश अनुसार यो दर भने फरक-फरक हुने गर्छ ।

अब एप्पलका महँगा फोन आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्सको कुरा गर्दा यी फाेनमा करिब २७ वाटको मात्र चार्जिङ स्पिड छ । यसले एप्पललाई ‘यूएसबी-सी पोर्टमा गएँ’ भन्नु मात्र जस्तै बनाएको छ । 

बढी क्षमताको अप्टिकल जुम

आईफोन १५ प्रो म्याक्समा अपग्रेड गरिएको लेन्स प्रयोग गर्दै पाँच गुणासम्म अप्टिकल जुम गर्न मिल्ने बनाइएको छ । फोनको च्यासिसभित्र नै लेन्स अटाउन एप्पलले नयाँ डिजाइन समेत गरेको छ ।

पाँच गुणासम्म जुम गर्न मिल्ने भएकाले एप्पलका अन्य मोडेलहरूभन्दा आईफोन १५ प्रो म्याक्समा बढी जुम गर्न सकिन्छ । जसमा राम्रो र आकर्षक फोटो खिच्ने एप्पलको दाबी पनि छ ।

तर एप्पलको फाइभ एक्स अप्टिकल जुम सामसङको ग्यालेक्सी एस ट्वान्टी थ्री अल्ट्राभन्दा कम हो । ग्यालेक्सी एस२३ अल्ट्रामा १० गुणासम्म अप्टिकल जुम गर्न सकिन्छ, जुन आईफोन १५ प्रो म्याक्सको तुलनामा दुई गुणा बढी हो । 

धेरै कामका लागि एउटै एक्सन बटन

आईफोनमा हुने म्युट बटन हटाउँदै एप्पलले आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा एक्सन बटन ल्याएको छ । यसमा क्लिक गरेर फोनलाई साइलेन्ट मोडमा राख्न र त्यो मोडलाई हटाउन सकिन्छ ।

यसबाहेक विभिन्न ‘कस्टमाइज’ गरेर थप कामहरू समेत गर्न सकिन्छ । तर यसको सीमितता भनेको एक पटकमा एउटा मात्र काम गर्न पाउनु हो ।

अर्थात् एप्पलको एक्सन बटनबाट एकै चोटी दुई वा दुईभन्दा बढी काम गर्न सकिँदैन । यसलाई कि त डिफल्ट सेटिङमा चलाउनु पर्छ वा क्यामेरा खोल्ने, फ्ल्याशलाइट अन गर्ने, भोइस रेकर्डिङ अन गर्ने लगायतका अन्य कुनै एउटा काम मात्र गर्नुपर्छ ।

यसो हुँदा जति प्रशंसा गरिएको थियो, त्यति यो फिचर उपयोगी छैन । तर कतिपय एन्ड्रोइड फोनहरूमा एक्सन बटनबाट एकै पटकमा धेरै काम गर्न सकिन्छ । जस्तो; दुई पटक प्रेस (थिच्दा) गरेर क्यामेरा खोल्ने, प्रेस गरेर केहीबेर होल्ड गर्दा भोइस एसिस्टेन्ट खुल्ने आदि । 

कम मूल्यमा बढी रिफ्रेस रेट 

आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा एप्पलले १२० हर्ज रिफ्रेस रेट भएको प्रो मोसन डिस्प्ले दिएको छ । यसको अर्थ ती फोनमा रङ, अक्षर जस्ता भिजुअल आकर्षक देखिन्छन् । स्क्रोलिङ र एपहरू बीचको एनिमेसन पनि राम्रो छ । तर आईफोन १५ र आईफोन १५ प्लसमा भने एप्पलले ६० हर्जको पुरानो रिफ्रेट रेट राखेको छ ।

पुरानै सुपर रेटिना एक्सडीआर डिस्प्ले भए पनि ती फोनहरूमा रङ र अक्षरहरू राम्रै देखिन्छ । यद्यपि एउटा एपबाट अर्कोमा जाँदा, स्क्रोल गर्दा भने समस्या देखिन्छ ।

तर अहिले बजेटमैत्री एन्ड्रोइड फोनहरूमा कम्तिमा ९० रिफ्रेस रेट भएको डिस्प्ले भेट्न सकिन्छ । र, अधिकांश फ्ल्यागशीप एन्ड्रोइड फोनहरूमा १२० हर्जका डिस्प्ले छन् । एक लाख रुपैयाँ बढी तिरेर आईफोनमा उही पुरानै ६० हर्जको डिस्प्ले पाउनु न्यायोचित नभएको कतिपयकाे बुझाइ छ ।

पछिल्लो अध्यावधिक: असोज ९, २०८० १९:१०