काठमाडौं । स्पोटिफाईले पोडकास्टरहरूलाई लक्षित गर्दै उनीहरूको आवाज अन्य भाषामा अनुवाद गर्न मिल्ने फिचर सार्वजनिक गरेको छ । कम्पनीले एक ब्लग पोस्ट लेख्दै यसबारे जानकारी दिएको हो । अब पोडकास्टरहरूले चलाउने कार्यक्रम उनीहरूकै आवाजमा, तर अन्य भाषामा पुन: उत्पादन गर्न सकिने भएको छ ।
यसका लागि कम्पनीले ओपनएआईको भोइस ट्रान्सक्रिप्सन टुल (Whisper) प्रयोग गरेको छ । त्यस्तै ड्याक्स शेपर्ड, मोनिका प्याडम्यान, लेक्स फ्रिडम्यान, बिल सिमन्स, स्टीवन बार्टलेट जस्ता अङ्ग्रेजी भाषी पोडकास्टहरूसँग सहकार्य समेत गरिएको छ । अहिले यी पोडकास्टरहरूको आवाजलाई नक्कल (मिमिक्री) गरेर कम्पनीले स्पेनिस भाषामा पोडकास्टलाई अनुवाद गर्न मिल्ने बनाएको छ ।
कम्पनीका अनुसार आगामी दिनमा फ्रेन्च, जर्मन लगायत अन्य भाषामा पनि अनुवाद गर्न मिल्ने सुविधा आउने छ । यसले पोडकास्टरहरूलाई आफ्नै आवाजमा आफ्नो कार्यक्रमहरू विश्वव्यापी बनाउन यस कदमले सहयोग गर्ने कम्पनीको भनाइ छ ।
साथै प्रयोगकर्ताले आफ्नै भाषामा दोस्रो भाषी पोडकास्टरको कार्यक्रम सुन्न सक्ने कम्पनीको दाबी छ । तर, यस्तो प्रविधिले निम्त्याउन सक्ने सुरक्षा तथा गोपनीयताको चुनौतीबारे आफूहरू सजग भएको दुवै कम्पनीले जनाएका छन् ।
अहिले निश्चित पोडकास्टरहरूलाई लिएर यो फिचर परीक्षण गरिरहेको स्पोटिफाईले यसबारे थप जानकारी उपलब्ध गराएको छैन । तर त्यसरी अनुवाद भएका ती पोडकास्टरहरूको कार्यक्रम भने सशुल्क तथा निःशुल्क दुवै खालका प्रयोगकर्तालाई उपलब्ध गराउने कम्पनी बताएको छ ।