close

आईफोन र म्याकको डिफल्ट सर्च इन्जिनमा किन छ गुगल ?

टेकपाना टेकपाना

असोज ११, २०८० ९:५१

आईफोन र म्याकको डिफल्ट सर्च इन्जिनमा किन छ गुगल ?

काठमाडौं । एप्पलले गुगललाई डिफल्ट सर्च इन्जिनका रूपमा राखेकाे छ । आईप्याड, आईफोन तथा म्याकमा डिफल्ट सर्च इन्जिनका रूपमा गुगल देख्न सकिन्छ ।

एप्पलका सेवा प्रमुख एड्डी क्यूले हालै यसकाे कारण खुलाएका छन् । क्यूका अनुसार गुगललाई डिफल्ट सर्च इन्जिन राख्न एप्पल र गुगलबीच सन् २०१६ मै सम्झौता भएको थियो । हालै भएकाे एक कार्यक्रममा क्यूलाई त्यसबेला अन्य सर्च इन्जिन हुँदा हुँदै गुगल नै किन डिफल्ट सर्च इन्जिन राखियो भनेर प्रश्न गरिएको थियो ।

जवाफमा क्यूले भने, “त्यतिबेला गुगलको तुलनामा त्यति उपयुक्त सर्च इन्जिन अरू कुनै थिएन,” उनले अगाडि भने, “हामीले राम्रो होस् भनेरै गुगललाई डिफल्ट सर्च इन्जिन राखेका हौं । त्यसैले सबैभन्दा उत्कृष्ट सर्च इन्जिन हामीले नै छनोट गर्‍यौं, बाँकी प्रयोगकर्ता आफैले छान्ने सुविधा दिएका छौं ।”

गुगलभन्दा एप्पल गोपनीयताप्रति बढी प्रतिबद्ध भएको क्यूको भनाइ छ । तर दुई कम्पनीहरू बीचको सम्झौता अनुसार गुगलले प्रयोगकर्ताहरूलाई लगइन नगरी सर्च गर्न अनुमति दिने भएकाले गोपनीयतामा त्यति असर नपर्ने उनको तर्क छ ।

त्यसबाहेक पनि एप्पलले आफ्नो सफारी वेब ब्राउजरमा धेरै गोपनीयता सुरक्षाहरू विकास गरेकाले गोपनीयता सुरक्षित रहेको उनले सुनाए । क्यूका अनुसार एप्पलले आईफोन तथा अन्य डिभाइस सेटअप गर्दा डिफल्ट सर्च इन्जिन परिवर्तन गर्न दिंदैन ।

यही निर्णयले गर्दा प्रयोगकर्ताले डिभाइस छिट्टो सेट गरेर प्रयोग गर्न सक्ने बताए । प्रयोगकर्ताले डिभाइस सेटअप गरिसकेपछि सेटिङ एपमार्फत परिवर्तन गर्न सक्छन् । विशेषगरी गुगल, याहु, बिङ, डकडक गो वा इकोसिया जस्ता ब्राउजर डिफल्ट सर्च इन्जिनका रूपमा सेट गर्न सकिन्छ । 

केही समयअघि द भर्जले एक समाचार प्रकाशित गर्दै गुगलले एप्पललाई डिफल्ट सर्च इन्जिन राखे वापत अर्बौं डलर तिर्ने गरेको उल्लेख गरेको थियो । यद्यपि रकम ठ्याक्कै कति हो भन्ने खुलिसकेको छैन । 

पछिल्लो अध्यावधिक: असोज ११, २०८० ९:५७